अर्थ संसार, काठमाडौँ - दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ ।
उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम– १ का गणेशसिंह कार्कीले बताउनुभयो । सडक सञ्जाल पुगेको छैन, गाउँबाट आफै मह बोकेर डुल्नुपर्ने अवस्था आएको छ ।
गाउँ/गाउँमा मह खोज्छन् तर घरमै आएर किन्नको लागि बाटो छैन् । अहिले मह र मौरी बिक्री गर्न दार्चुलामा मात्र नभएर बैतडीसम्म पुग्नुपर्ने अवस्था छ । कृषक कार्कीले भन्नुभयो, “घरमा मौरी स्याहार गर्ने कि उत्पादित मह बिक्री वितरण गर्ने समस्या भएको छ ।
घरमा ठाउँ नभएकाले खेतभरी ७५ माहुरी घार छन् । बिहानदेखि बेलुकीसम्म दैनिकी मौरीको स्याहार गर्नमै बित्छ । हालसम्म दुई क्वीन्टल मह बिक्री भयो कार्कीले भन्नुभयो, “अझै मह बिक्री गर्न बाँकी छ, बजार नहुँदा समयमै मह बिक्री गर्न सकिँदैन ।
गाउँमै मह अहिले रु ८०० देखि ८५० प्रतिकिलो बिक्री हुने गर्छ । मौरीबाटै वार्षिक रु १० लाखसम्म आम्दानी हुने गरेको कार्कीले बताउनुभयो । बजारको समस्याले मौरीपालन व्यवसायमा समस्या भइरहेको अर्का व्यवसायी मालिकार्जुन– १ का गौरसिंह बोहराले बताउनुभयो ।
विगतमा गैरसरकारी सङ्घ संस्थाले मौरीको घार र मौरी खरीद गर्थे । अहिले त्यस्ता संस्थाबाट पनि माग आउन छाडेको छ । घरमै वार्षिक ५०÷६० घार मात्रै बिक्री हुन्छ । अरुण आधुनिक माहुरी घार उद्योग दर्ता गरेर उहाँले अहिले ८२ घार मौरीपालन गर्नुभएको छ । त्यसबाट आम्दानी भए पनि बजार नहुँदा समस्या भइरहेको उहाँले दुखेसो गर्नुभयो । सबैले मौरीपालन थालेका छन्, सीमा क्षेत्रकाले अहिले भारतीय बजारमा गएर मह बिक्री गर्नुपर्ने बाध्यता आएको छ, बोहराको भनाइ छ ।
मार्मा गाउँपालिका–६ का मौरी व्यवसायी नारद महरा मह बिक्रीको लागि मार्मा बजार मात्रै भएको बताउनुहुन्छ । सानो बजार छ, बाह्य क्षेत्रमा ढुवानी गर्न सके महको मूल्य पाइने थियो, उहाँले भन्नुभयो ।
मार्माकै हरकसिंह सितोली मौरीपालन व्यवसाय शुरु गर्ने तयारी रहेको सुनाउनुहुन्छ । मसँग अहिले १० घार माहुरी छन्, एक महीनाभित्र १५ घार थप गर्ने तयारीमा छु , उहाँको भनाइ थियो । स्थानीय सरकारले सहयोग गरे व्यवसायको रुपमा दर्ता गरेर जाने उहाँको भनाइ थियो ।
घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका अनुसार अहिले जिल्लाभरी १२ मौरी उद्योग दर्ता भएका छन् । यो बाहेक अधिकांश कृषकले मौरी व्यवसायको रुपमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेका छन् । व्यवसायबाट राम्रो रोजगारी र आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमै यसतर्फ लागेका वरिष्ठ उद्योग अधिकृत पदम ठकुराठीले बताउनुभयो । उहाँले भन्नुभयो, स्थानीय सरकारले तालीम प्रवद्र्धनको साथै बजारीकरणमा ध्यान दिन सके दार्चुलाको महले राम्रो बजार पाउन सक्नेछ ।
हजारांै टन जिल्लामै मह उत्पादन हुन्छ, उद्योग अधिकृत ठकुराठीले भन्नुभयो, सानातिना व्यवसाय दर्ता भएका छैनन । उनीहरुको लागि मह बिक्री गर्ने बजार भए अझै यो व्यवसाय जिल्लामा फस्टाउँछ । मौरीको लागि चाहिने फूल तथा मौसम दार्चुलामा राम्रो रहेको उहाँको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस