Like us!
Follow us!
Connect us!
Watch us!

तोकिएको भन्दा फरक व्यवसाय गर्ने प्रवृत्ति मौलायो, कानूनी कारवाहीको तयारी

बुधबार, २६ मंसिर २०७५, १७ : २४ मा प्रकाशित

तोकिएको  भन्दा फरक व्यवसाय गर्ने प्रवृत्ति मौलायो, कानूनी कारवाहीको तयारी

अर्थ संसार, काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक मर्यादाभित्र रहेर व्यापारिक कारोवार गर्न सम्पूर्ण व्यापारी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

विभिन्न बहानामा उपभोक्ता ठगिँदै आएको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को बर्खिलाप हुने गरी गतिविधि गरे कडा कारवाही हुनेतर्फ पनि व्यापारीलाई सचेत गराएको छ । वस्तु तथा सेवाको उत्पादन, बिक्री तथा प्रदान गर्दा उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवा प्रदायकले गैरव्यवसायजन्य क्रियाकलाप गरेमा उपभोक्ता ऐनअनुसार कारवाही हुने विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउनुभयो ।

सरकारले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन सक्ने हानिनोक्सानीबापत क्षतिपूर्ति उपलब्ध गराउन उपभोक्ता संरक्षण ऐन जारी गरिसकेको छ ।

ऐनले उपभोक्तामाथि विभिन्न प्रकारबाट ठगी गर्नेलाई अनुगमनमा खटिइएको निरीक्षण अधिकृतले स्थलगत रुपमा रु पाँच हजारदेखि अधिकतम तीन लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै अर्धन्यायिक निकायका रुपमा विभागका महानिर्देशकले रु ५० हजारदेखि तीन लाख वा तीन महीनादेखि एक वर्षसम्म वा दुवै सजाय गर्नसक्ने व्यवस्था गरेको छ ।

त्यस्तै वस्तु तथा सेवाको उपभोगबाट उपभोक्तालाई कुनै हानिनोक्सानी परेमा उपभोक्ताले क्षतिपूर्तिको दाबी गर्नसक्ने र सम्बन्धित उत्पादक वा पैठारीकर्ता व्यवयायीले क्षतिपूर्ति प्रदान गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।

विभागले व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय सञ्चालन इजाजत वा अनुमति लिने, खाद्य अनुज्ञापत्र लिई स्थायी लेखा नम्बर÷मूल्य अभिवृद्धि करमा दर्ता गरेर व्यावसायिक कारोवार गर्नुपर्ने जनाएको छ ।

व्यवसायको नामको सङ्केतपाटी सबैले देख्ने गरी राख्ने वा टाँस्ने र वस्तु वा सेवाको मूल्यसूची सबैले देख्ने गरी राख्नुपर्ने छ । बिक्रीस्थलमा ढक तराजु तथा नापतौल मेशिनको सम्बन्धित निकायबाट प्रमाणीकरण गर्नुपर्ने, उत्पादकले आफूले उत्पादन गरेको वस्तुको लेवल राख्नुपर्ने, पैठारीकर्ताले प्रमाणित चिन्ह नभएको वस्तु पैठारी भएकामा त्यस्तो चिन्ह राख्नुपर्ने र बिक्रेताले बजारमा प्रमाणित चिन्ह भएको वस्तु मात्र बिक्री वितरण गर्नुपर्ने विभागले जनाएको छ ।

बिक्रीस्थलमा खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री गर्नुपर्ने, बिक्री वितरण वा सेवा प्रदान गर्दा सम्बन्धित नियामक निकायले तोकेको मापदण्ड पालना गर्नुपर्ने विभागका महानिर्देशक गौचलने बताउनुभयो ।

 

यसैगरी गुणस्तरहीन वस्तु वा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा सेवा पैठारी, उत्पादन वा बिक्री गर्न, अधिकतम खुद्रा मूल्यभन्दा बढीमा वस्तु बिक्री गर्न नहुने विभागले जनाएको छ । वास्तविक गुणस्तर, मानक, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी लुकाइछिपाई वा झुक्याई वस्तु बिक्री गर्न वा सेवा प्रदान गर्न पाइँदैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको