मोहन पौडेल
अर्थ संसार, परासी– पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ ।
विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर थाहा भएको हो ।
उक्त गाउँमा ९० घरधुरी छन् । सनई २ ९क० कित्ता नं ३३५ को गाउँब्लक भनी १० बिघा दुई कठ्ठा पाँच धुर जग्गा स्थानीयवासी भोनु चौधरीको नाममा दर्ता रहेको परासी नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ । गाउँ ब्लकमा पर्ने सो जग्गाको आव २०७१÷७२ मा नापी गरी पूर्जा वितरण गर्ने क्रममा सो रहस्य खुलेको पाल्हीनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिनुभयो ।
पुर्जा वितरणका लागि भन्दै नापी कार्यालयले नापजाँच गरेको तर लामो समयसम्म पनि पुर्जा नपाएपछि बुझ्न जाँदा एकै व्यक्तिको नाममा दर्ता भएकाले पुर्जा दिन नमिल्ने भनेपछि सो रहस्य खुलेको अध्यक्ष यादवले बताउनुभयो । स्थानीयवासीसँग पञ्चायतकालमा गाउँ पञ्चायतले वितरण गरेको जग्गाधनी पुर्जा भने छ ।
गाउँ पञ्चायतले दिएको पुर्जा देखाउँदै स्थानीयवासी ६८ वर्षीय शिवचरण केवटले भन्नुभयो, “हामीसँग पुर्जा छ तर कसरी एउटै व्यक्तिको नाममा दर्ता भयो, हामी साह्रै मर्कामा परेका छौँ, मेरो १४ धुर जग्गा प¥यो, अहिले भोनुका परिवारले कि पैसा देऊ, कि सट्टामा जग्गा देऊ भन्छन् हामी गरीबले कसरी दिने रु”
एउटै व्यक्तिको नाममा दर्ता रहेकोे गाउँको उक्त ब्लकको जग्गामा पर्ने ८५ घरधुरीमध्ये पूर्वगाविस अध्यक्ष राजेन्द्र सहानी, हाल सोही वडाका कार्यालय सहायक रहेका शम्भु सहानीलगायतको पनि घर परेको छ ।
चार पुस्तादेखि बस्दै आए पनि अहिलेसम्म एउटै व्यक्तिको नाममा दर्ता छ भन्ने थाहा नै नपाएको भन्दै कार्यालय सहायक सहानीले भन्नुभयो, “मेरो पनि एक कठ्ठा जग्गा परेको छ, नक्सामा गाउँब्लक र फिल्डबुकमा एउटै व्यक्तिको नाममा दर्ता भएको पाइयो, यो बदर हुनुपर्छ ।”
अर्का ६५ वर्षीय स्थानीयवासी सुदामा चौधरीले यस्तो अवस्था आउनामा जनताको भन्दा पनि त्यस बखतका कर्मचारीबाट गल्ती भएको हुन सक्ने या भोनुले नै प्रलोभनमा पारेर दर्ता गराएको हुनसक्ने जिकिर गर्नुभयो । भोनुको मृत्यु भइसकेको र हाल उहाँका दुई छोरा छन् ।
गाउँलेसँग भोनुका छोराले आफ्नो नाममा रहेको जग्गाको आधारमा रकम वा त्यसको सट्टामा जमीन दिन दबाब दिने गरेको स्थानीयवासीको गुनासो छ तर भोनुका छोरा रामशङ्करले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहुनभएन ।
नापी कार्यालयका नापी अधिकृत धमेन्द्रकुमार श्रेष्ठले सो जग्गा व्यक्तिको नाममा दर्ता रहेकाले गाउँब्लकको जग्गाको नापनक्सा भए पनि उहाँहरुलाई पुर्जा दिन नमिलेको बताउनुभयो । अब मन्त्रालयबाट निर्देशन वा मन्त्रिपरिष्दबाटै निर्णय गरेर व्यक्तिको नाममा रहेको उक्त जग्गा बदर गरे मात्र पुर्जा वितरण गर्न सकिने उहाँको भनाइ थियो ।
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीले जोतभोग गरिरहेको सो जग्गाको पुर्जा उनीहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले सक्दो पहल गरेर न्याय दिलाउने बताउनुभयो । गाउँवासीहरूले लालपुर्जा बदर गरी आ–आफ्नै नाममा तात्कालिन गाउँ पञ्चायतको पुर्जाका आधारमा लालपुर्जा पाउनुपर्ने माग गर्दै आएका छन् । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस