संसारमा धेरै प्रकारका मानिसहरूको जन्म हुन्छ, जसरी हरेक मानिसका आवरण फरक हुन्छन्, त्यसरी नै इच्छा, चाहना र क्षमता फरक–फरक हुन्छन् । जस्तो देखिन्छ, त्यो सत्य नहनु पनि सक्छ । कुनै कुनै घटनाहरू कल्पनाभन्दा फरक पनि हुन्छन् ।
जसरी कालान्तरदेखि नै युगीन परिवर्तनको लागि उमेर, जवानी, गाली, घृणा, सबै सबैको सामना गर्दै समाजमा सच्चा नागरिक भएर बाँच्न र विकासलाई आत्मसाथ गर्दै अगाडि बढ्दै आउनुभएकी एक कर्मठ, मेहनती, शालिन र दृढ स्वभावकी व्यक्तित्व हुनुहुन्छ –विष्णुदेवी पुडासैनी । केही गर्न चाहनेहरुको निम्ति उदाहरणीय र प्रेरणादायी महिलाहरू हुनुहुन्छ उहाँ  ।  
कागेश्वरी नगरपालिका वडा नंं ३ भद्रवास स्थानीय घर भएकी पुडासैनी सानैदेखि सामाजिक क्षेत्रमा अग्रसर हुनुहुन्थ्यो । उहाँ आफूलाई सामाजिक भावका प्रेरकको रुपमा अंगुरबाबु जोशीलाई सम्झनुहुन्छ । जीवन उपभोग गर्नका लागि मात्र पाएको होइन, जीवन सदुपयोग गर्नु मानवीय प्राणत्व हो भन्ने उहाँको दृष्टिकोण छ । उहाँले पञ्चायतकालदेखि नै आफूलाई सामाजसेवामा समर्पित गर्दै आइरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ–‘विगतमा हाम्रो जस्तो पितृसत्तात्मक मुलुकमा महिलाले गरेका निर्णय र विचारलाई स्वीकार्न नसक्ने अवस्था थियो ।’ जसका विरुद्धमा उहाँ वि.सं. २०४९ सालमा गाविस अध्यक्ष रही काम गरिसक्नुभएको छ । २०\२१ वर्षको कलिलै उमेरमा उहाँलाई समाजसेवामा समर्पित हुने अवसर मिलेको समेत भेटका क्रममा उहाँले बताउनुभयो । राजनीतिसँगै धार्मिक कार्यहरूमा समेत प्रगाढ आस्था राख्नुहुने उहाँले स्थानीय मठमन्दिर र देवालयहरूको निर्माणसमेत सक्रिय टेवा पुर्याउँदै आइरहनुभएको छ ।  
वि.सं. २०३३ सालमा गाउँफर्क अभियानमा वडा नंं ९ को वडाध्यक्ष समेत रहेर सामाजिक कार्य गर्दे चेतनामूलक राजनीतिमा नेतृत्वदायी भूमिका उहाँले निर्वाह गरिसक्नुभएको छ । किताबको ज्ञाान सानै उमेरमा लिन नपाएकै कारण एकैपटक कक्षा आठमा भर्ना भई शिक्षारम्भ गर्नुभएकी विष्णु चेतनाको ज्ञानलाई परिचालन गर्दै अगाडि बढ्नु भएको छ । पञ्चायती व्यवस्थाको विरोधी भएकै कारणले उहाँले आफ्नो वडाअध्यक्ष पदबाट राजीनामा दिनुपरेको समेत उहाँसँग कटु अनुभव छ ।
विकास भनेपछि त सामाजका आँखा ठूलो हुन्छन् तर उहाँले खहरे, बाटोघाटो, स्वास्थ्यचौकीजस्ता स्थानीय तहका कामलाई प्राथमिकता साथ अगाडि बढाउनुभएको छ । विष्णुदेवी भन्नुहुन्छ– ‘आजसम्म जेजति गरेँ, अब गर्न नसकुँला तर अब भने स्थानीय सरकारलाई नै सम्पूर्ण जिम्मा दिन चाहन्छु ।’
महिला गाविस अध्यक्ष समेत रहेकी विष्णुदेवी आफू सीप सिकेर आत्मनिर्भर हुन सबैलाई उत्प्रेरित गरिरहनुहुन्थ्यो । उहाँको सक्रियतामा सुन्दरीजलमा सुन्दरीमाईको अगाडि  बस्न मिल्ने ठाउँ बनाउनु भयो । त्यहाँ उहाँले सीपमुलक तालिमहरू समेत सञ्चालन गरिरहनुभएकोे छ । डाँछीदेखि भद्रवाससम्म बाटो पिच गर्ने कार्यमा समेत पुडासैनीको उल्लेख्य योगदान रहेको छ । उहाँ भन्नुहुन्छ –‘अहिले भद्रवासमा भद्र, बुद्धिजीवि र विकासप्रेमी मानिसहरू कम हुँदै गएका छन् ।’
महिलाहरूलाई चुलाचौकोबाट बाहिर निकाल्नका लागि विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आउनुभएको छ । सहकारीको अवधारण शुरुवात गर्दे महिलालाई वचत नै आम्दानी हो भन्ने अवधारणा बसाल्दै आज वचत गर्ने बानी विकास हुनका साथै धेरैजनाले रोजागरी समेत पाएका छन् । यो देख्दा लाग्छ शुरु गर्नु नै सफलताको सूचक रहेछ भन्ने अनुभूति गर्नुहुन्छ । ‘राउण्ड टेवल टु’ संस्थासँग मिलेर काठमाडौँका विभिन्न विद्यालय तथा प्लसटुका विद्यार्थीहरूलाई छात्रावृत्ति तथा शैक्षिक सामग्री वितरणमा समेत उहाँको महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।
शिक्षाले जीवनलाई सरल रुपमा अगाडि बढाउन मद्दत गर्दछ । तर शिक्षा लिन नसक्ने व्यक्तिहरूलाई हौसला दिँदै विष्णुदेवी भन्नहुन्छ –‘शिक्षाशक्तिले भन्दा इच्छा शक्तिले काम पूरा गर्न सकिन्छ ।’ उहाँको त्यस्ता व्यक्तिहरूलाई सिपमुलक कार्यक्रम लक्षित भई लाग्न अनुरोध गर्नुहुन्छ । ठूलो कुरा गरेर होइन सीप सिकेर सदुपयोग गर्नु जीवन जिउने आधार सबैको निम्ति महत्वपूर्ण कुरा हो भन्नुहुन्छ उहाँ ।
जीवनमा सानै उमेरदेखि संघर्षशील रहँदै आउनुभएकी विष्णुदेवीलाई युवाहरू विदेश पलायन भएको पटक्कै मन पर्दैन । उहाँ भन्नुहुन्छ –‘युवाहरूको विदेश पलायन रहर होइन, बाध्यता हो । तसर्थ, सरकारीस्तरबाटै युवा पलायन रोक्ने कार्यक्रमहरू सञ्चालन गर्नु जरुरी देखिन्छ । यदि  युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी युवा जोश र पसिना नेपालमै बगाउने वातावरण सिर्जना गर्नु सक्नुपर्छ – विष्णुदेवी पुडासैनी ।
६८ वर्षीय विष्णुदेवी पुडासैनीले पञ्चायतकालदेखि गणतन्त्र अवधिको समेत अनुभव गरिसक्नुभएको छ । उहाँ धुम्रपान र मदिरारहित समाज हेर्न चाहन्छिन् । असल शासन अमनचैनको प्रत्याभूति दिलाउने कार्यमा सदैव सबैलाई उत्प्रेरित गर्दै आइरहनुभएको छ । र, आफू बसोबास गरेको क्षेत्र भद्रबास क्षेत्रलाई अझै भद्र र सभ्य पहिचान दिलाउने इरादा मनमरि साँच्चै सामाजिक सेवा कार्यमा दत्तचित्त भई लागिपरिरहनुभएको छ विष्णुदेवी पुडासैनी अझै । 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस