Like us!
Follow us!
Connect us!
Watch us!

ऋणको ब्याजदर १ प्रतिशतले घट्दै

बुधबार, ११ पुस २०७५, ०८ : ५४ मा प्रकाशित

ऋणको ब्याजदर १ प्रतिशतले घट्दै

अर्थ संसार, काठमाडौं– ऋणको ब्याजदर करिब एक प्रतिशत विन्दुले घट्ने देखिएको छ । बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर गणना गर्दा सम्पत्तिमा प्रतिफलबापतको हिस्सा जोड्न नपाउने व्यवस्था हुन लागेकाले ऋणको ब्याजदर घट्ने देखिएको हो। हाल बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर गणना गर्दा सम्पत्तिमा प्रतिफलबापत ०.७५ प्रतिशत विन्दु जोडदै आएका छन्।

मुद्रा र पुँजी बजारको स्थायित्वका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव दिन राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले आधार ब्याजदरमा सम्पत्तिको प्रतिफल समावेश नगर्न सुझाव दिएको छ ।

सोही सुझावका आधारमा राष्ट्र बैंकले आधार ब्याजदर गणना गर्ने विधि परिमार्जन गर्न लागेको हो। उक्त विधि परिमार्जनपछि बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदरमा हाल समावेश गर्दै आएको सम्पत्तिमा प्रतिफल बापत ०.७५ प्रतिशत विन्दु जोड्न पाउने छैनन्।

उक्त प्रतिफल जोड्न नपाएपछि सबै बैंक तथा वित्तीय संस्थाको आधार ब्याजदर घट्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ‘बेस रेट’ कै आधारमा ऋणको दर निर्धारण गर्नुपर्छ । यसको अर्थ आधार दर बढदा ऋणको ब्याजदर पनि बढ्छ र घट्दा ऋणको दर पनि घट्छ ।

यसकारण राष्ट्र बैंकले परिमार्जन गरको  आधार ब्याजदर गणना विधिपछि बैंक तथा
वित्तीय संस्थाको आधार दरमा कमी आउने भएकाले ऋणको ब्याजदर पनि घट्ने विश्लेषण गरिएको हो।

आधार दर गणना विधिबाट सम्पत्तिको प्रतिफल हटाउन लागेकाले बैंक तथा वित्तीय संस्थाको आधार दरमा कमी आउने र त्यसले ऋणको ब्याजदर घटाउने राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताए । मंगलबार अर्थ समितिको बैठकमा गभर्नर नेपालले यस्तो बताएका हुन्। नैतिक दबाबमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर नबढाउन दबाब दिएको जनाउँदै उनले भने, ‘अब बैंक तथा वित्तीय संस्थाले निश्चित प्रतिशतभन्दा बढी निक्षेपमा ब्याज दिने छैनन्।

अब आधार दर गणनामा सम्पत्तिमा प्रतिफल समावेश गर्न नपाएपछि ऋणको ब्याजदर पनि घट्छ ।’ यसकारण अब बिस्तारै मुद्रा बजारमा स्थायित्व आउने उनले दाबी गरे। राष्ट्र बैंकले दबाब दिएकै कारण बैंक तथा वित्तीय संस्था ब्याजदर नबढाउने सहमतिमा पुगेको उनले खुलासा गरे।

आधार दर गणनामा सम्पत्तिमा प्रतिफलबापत ०.७५ प्रतिशत विन्दु नजोडिने भएपछि ऋणको ब्याजदर घट्ने बैंकरहरूले पनि स्विकारका छन् । ‘आधार दरकै आधारमा ऋणको ब्याजदर तय हुने भएकाले बेस रट घटेपछि ऋणको ब्याजदर घट्नुपर्छ,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘ऋणको ब्याजदर घटाउनकै लागि हामीले आधार दरमा सम्पत्तिमा प्रतिफलबापतको हिस्सा हटाउन सुझाएका हौं ।’

नयाँ व्यवस्था लागू भएपछि आधार दर स्वतः घट्नेभएकाले त्यसका आधारमा बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर पनि घटाउनुपर्ने उनले प्रस्ट्याए । अध्यक्ष ढुंगाना सम्मिलित समितिको प्रतिवेदनमा ‘आधार दर गणनाको विद्यमान विधि परिमार्जन गरी सम्पत्तिको प्रतिफल समावेश नगर्ने,’ उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था धेर चलाख हुने  भएकाले अपेक्षा गरिए अनुसार ऋणको ब्याजदर घट्ने सम्भावना नरहेको राष्ट्र बैंकका एक पूर्वगभर्नरले बताए । ऋणको ब्याजदर निर्धारण गर्दा आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गर्न छुट रहेको कान्तिपुरमा समाचार छ ।  यही सुविधामार्फत बैंक तथा वित्तीय संस्थाले आधार दरमा आएको कमी प्रिमियममार्फत जोड्न सक्ने भएकाले घट्ने सम्भावना न्यून रहेको ती अधिकारीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको