Like us!
Follow us!
Connect us!
Watch us!

बागमतीको मुहार पुरै फेर्ने छौं : मन्त्री बीना मगर

विहीबार, १९ पुस २०७५, १७ : ४७ मा प्रकाशित

बागमतीको मुहार पुरै फेर्ने छौं : मन्त्री बीना मगर

अर्थ संसार, काठमाडौं– खानेपानी मन्त्री बीना मगरले बागमती नदीमा कञ्चन ९सफा एवं स्वच्छ० पानी बगाउने उद्घोष गर्नुभएको छ ।

बालकुमारीको कोड्कुस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले नेपालको सभ्यतासँग जोडिएको बागमती नदीमा स्वच्छ पानी बगाउने उद्घोष गर्नुभएको हो । मन्त्री मगरले बागमती नदीलाई पूरै सफा बनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बागमती सफाइको अभियान आम उपत्यकाबासी र सिंगै नेपाली जनसमुदायका लागि सरोकार र राष्ट्रिय प्रतिष्ठाको विषय हो । बागमती सफाइको बहुआयमिक महत्व छ । नेपालको प्रतिष्ठा, प्राकृतिक सुन्दरता, मानवीय सभ्यता, मानव स्वास्थ्य र जलस्रोतको उपयोगका दृष्टिले पनि बागमतीको सफाइ हाम्रो प्राथमिकतामा पर्नुपथ्र्यो र परेको छ ।”

उहाँले थप जोड दिंदै भन्नुभयो, “पानीका मुहान र स्रोतहरुलाई सफा राखेर मात्र हामीले मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सक्छौं । यही संकल्पका साथ हामीले बागमतीलाई प्राकृतिक स्वरुपमै फर्काउने अभियानको थालनी गरेका छौं । यहाँहरु सबैको सकारात्मक चासो र हातेमालोकै कारण आज हामी बागमतीको पानी प्रशोधन गर्ने यस ऐतिहासिक दिनसम्म आइपुगेका छौं ।”

बागमतीमा सफा पानी बग्न र वातावरणलाई स्वस्थ बनाउने अभियान अघि बढिरहेको बताउँदै मन्त्री मगरले पहिलो चरणमा गरिएको यस प्रशोधनले कोड्कु क्षेत्रका ३ लाख ८० हजार, सल्लाघारी क्षेत्रका ४ लाख ५४ हजार, धोबिघाट क्षेत्रका २२ लाख ८ हजार गरी कुल ३० लाख ४४ हजार जनसंख्या लाभान्वित हुने स्पष्ट पार्नुभयो ।

उहाँले फोहोर पानीको प्रशोधनपछि बागमतीमा कञ्चन पानी बग्ने, उक्त पानी करेसाबारी, सिँचाइ, सडक सरसफाइ, लुगा धुने लगायतका काममा प्रयोग हुने बताउनुभयो । सम्बोधनमा उहाँले भन्नुभयो, “पहिलो चरणमा तीनवटा केन्द्रलाई लक्षित गरिए पनि पानी प्रशोधनको हाम्रो अभियानले सिङ्गो बागमतीको मुहार फेर्नेछ, त्यसका लागि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय र मन्त्रालयले दुरदृष्टिका साथ काम गरिरहेको छ ।

मेलम्ची खानेपानी आयोजना मार्फत् शुद्द पानीको आपूर्तिमा बृद्धि हुनेछ, फोहोर पानीको प्रशोधन हुनेछ, यसका लागि नदी किनारमा ढलका पाइपहरु बिच्छाउनुका साथै क्रमशः सबै ठाउँमा प्रशोधन केन्द्र निर्माण हुनेछन् । यी संरचना निर्माण भएपछि बागमती लगायत उपत्यकाका नदीहरुमा सफा पानी बग्नेछ ।”

नेपालको राष्ट्रिय गौरवका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य यथासक्य सम्पन्न गर्न मन्त्रालय गम्भीर रहेको समेत उहाँले प्रष्ट पार्नुभयो । उहाँले मेलम्ची बारे जोड दिंदै भन्नुभयो, “मेलम्चीको पानी काठमाडौंका उपभोक्तालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्ण रुपले क्रियाशील रहेको स्पष्ट गर्न चाहन्छु । कुनै पनि बहाना र गतिरोधले आफ्नो संकल्पलाई रोक्न सक्दैन, सम्पूर्ण उपायहरुको खोजी गरी राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालय संकल्पबद्ध रहेको स्मरण गराउँदै पछिल्लो समय परिस्थितिले सकारात्मक दिशा लिएको कुरा पनि यहाँहरुलाई अवगत गराउन चाहन्छु ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको