Like us!
Follow us!
Connect us!
Watch us!

'बैंकिङको विकल्प होइन, अर्थतन्त्रको इन्जिन बन्नुपर्छ पूँजी बजार' : सेबोन अध्यक्ष

अर्थ संसार

बुधबार, ३१ असार २०८३, ०७ : १४ मा प्रकाशित

'बैंकिङको विकल्प होइन, अर्थतन्त्रको इन्जिन बन्नुपर्छ पूँजी बजार' : सेबोन अध्यक्ष

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पूँजी बजारलाई बैंकिङ प्रणालीको पूरकमा मात्र सीमित नराखी दीर्घकालीन पूँजी परिचालनको प्रमुख माध्यमका रूपमा विकास गरिने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै अध्यक्ष भट्टले नेपालको पूँजी बजारलाई विश्वसनीय, समावेशी, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित आगामी कार्यक्रम अघि सारिएको बताएका हुन्।

उनले विगत तीन दशकमा नेपालको पूँजी बजारले संस्थागत विकास, लगानीकर्ताको दायरा विस्तार तथा प्रविधिगत आधुनिकीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। धितोपत्रको डिम्याट प्रणाली, मेरोसेयर, सी–आस्बा, अनलाइन कारोबार प्रणाली, विद्युतीय सार्वजनिक निष्काशन र दोस्रो बजार कारोबारको विस्तारले पूँजी बजारलाई नयाँ चरणमा पुर्‍याएको उनको भनाइ छ।

यद्यपि, बजारको आकार र गहिराइ अझै सीमित रहेको, बैंक तथा वित्तीय संस्थाको अत्यधिक प्रभुत्व, संस्थागत लगानीकर्ताको न्यून सहभागिता, कर्पोरेट ऋणपत्र बजारको अपर्याप्त विकास, नयाँ वित्तीय उपकरणको अभाव तथा सीमित सूचीकरणजस्ता चुनौती अझै कायम रहेको अध्यक्ष भट्टले उल्लेख गरेका छन्।

उनका अनुसार सूचना प्रवाहमा असमानता, भित्री कारोबार (इनसाइडर ट्रेडिङ), बजार हेरफेर, सूचीकृत कम्पनी तथा धितोपत्र व्यवसायीको सुशासनसम्बन्धी कमजोरी, प्रविधिगत जोखिम र लगानीकर्ता शिक्षाको अभावले पनि पूँजी बजारको दीर्घकालीन विकासमा प्रभाव पारिरहेको छ।

यिनै चुनौतीलाई सम्बोधन गर्न 'नेपालको पूँजी बजार विकास मार्गचित्र–२०८३' तयार गरिएको र त्यसको कार्यान्वयनको आधार वर्षका रूपमा आर्थिक वर्ष २०८३/८४ लाई लिइएको अध्यक्ष भट्टले बताएका छन्।

उनले नेपालको अर्थतन्त्रलाई तीव्र, दिगो र समावेशी विकासतर्फ लैजान ऊर्जा, पूर्वाधार, कृषि, उत्पादन, सूचना प्रविधि, पर्यटन तथा नवप्रवर्तनमुखी उद्योगमा दीर्घकालीन लगानी प्रवाह गर्न आधुनिक र विविधीकृत पूँजी बजार आवश्यक रहेको बताए।

अध्यक्ष भट्टका अनुसार आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिले नियामकीय सुधार, बजारको विविधीकरण, संस्थागत लगानीको विस्तार, प्रविधिमैत्री पूँजी बजार निर्माण, लगानीकर्ता संरक्षण, हरित तथा दिगो वित्त, गैरआवासीय नेपाली तथा विदेशी लगानी आकर्षण, निजी इक्विटी र भेन्चर क्यापिटलको विकास, पूँजी बजार पूर्वाधार सुदृढीकरण तथा प्रभावकारी बजार अनुगमनलाई प्राथमिकतामा राखेको छ।

उनले यो नीतिको मुख्य उद्देश्य नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी र समावेशी बनाउँदै राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउनु रहेको स्पष्ट पारे।

अध्यक्ष भट्टले नीति कार्यान्वयनका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, संस्थागत लगानीकर्ता, निजी क्षेत्र तथा सम्पूर्ण लगानीकर्ता समुदायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको