Like us!
Follow us!
Connect us!
Watch us!

दुई वर्षमा पुनःनिर्माणको काम सकिने

बुधबार, ०२ माघ २०७५, १७ : ५९ मा प्रकाशित

दुई वर्षमा पुनःनिर्माणको काम सकिने

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षति भएको पुनःनिर्माणको काम सक्ने बताउनुभएको छ ।

एक्काइसौँ भूकम्प दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँ पुनःनिर्माणको केही ठाउँमा मात्र बाँकी रहेकाले अबको दुई वर्षमा सबै काम सिध्याइने बताउँदै सरकारले भूकम्पबाट क्षति भएका घर, आवास निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको र भूकम्पीय जोखिममा परेका बस्तीलाई अनुकूल ठाउँमा सारिने बताउनुभयो ।

“एकीकृत सुरक्षित सुविधासम्पन्न अस्पताल, पानी बिजुली सबै कुराम हामीले ध्यान दिएर आवास बनाउनेछौँ”, उहाँले भन्नुभयो, “भूकम्प गए पनि जनतालाई सुरक्षित आवास चाँडै प्रदान गर्नेछौँ ।” उहाँले अब भूकम्प गए पनि केही क्षति नहुने गरी सजगता अपनाइएको बताउनुभयो । “भूकम्प दिवसले हामीलाई जोखिम न्यूनीकरण सिकाउने अवसर प्रदान गरेको छ”, उहाँले भन्नुभयो, “भूकम्पबाट हुने क्षति अत्यन्त न्यून गर्नेतर्फ सरकार लागेको छ ।”

उहाँले पुरातत्वको संरचनाको निर्माण ८० प्रतिशतसमेत भइसकेको जानकारी दिँदै भूकम्पबाट क्षति भएका मठ, मन्दिर र कलालाई जस्ताको त्यस्तै बनाउनुपर्ने बताउनुभयो ।

“हामीले विसं १९९० को भूकम्पअघिको सांस्कृतिक पुरातत्वको मौलिक स्वरुप बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “पुरात्वातिक मठ, मन्दिर हाम्रो इतिहासको गौरवसमेत भएकाले ती पुरातत्वको ठेक्काबाट नभई आफैँ मौलिक संरचनामा बनाउनुपर्दछ ।” प्रधानमन्त्री ओलीले स्थानीय तहको सहयोगमा पुराना सीप, कला जानेको कर्मीबाट ती पुरातत्वको मौलिक संरचना बनाउनुपर्ने बताउनुभयो ।    
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भूकम्पबाट जोगाउनका लागि सरकारले जोखिम न्यूनीकरण कार्यक्रम ल्याएको बताउँदै बाँकी रहेको पुनःनिर्माणको काम सङ्घ, प्रदेश र स्थानीय तह मिलेर गरिने स्पष्ट गर्नुभयो ।

कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले विपत् न्यूनीकरण गर्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले पनि धेरै स्थानीय तहले भवन आचारसंहिता पालना नगरेको हुनाले पालना गराउनुपर्नेमा जोड दिनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको