Like us!
Follow us!
Connect us!
Watch us!

सिएममी फर्काउन अवरोध गरेपछि सचिव ठाकुरको सरुवा

बुधबार, ०८ फागुन २०७५, १२ : २३ मा प्रकाशित

सिएममी फर्काउन अवरोध गरेपछि सचिव ठाकुरको सरुवा

अर्थ संसार, काठमाडौं– सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनि सिएमसीलाई काममा फर्काउने चाहेकोमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले अवरोध गरेपछि मन्त्रीपरिषदको बैठकले उनलाई सरुवा गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सचिव ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो । सचिव ठाकुरले खानेपानी मन्त्रीमा बिना मगर नियुक्त हुनेबित्तिकै दशैंमा पानी आउने ब्रिफिङ गरेका थिए । तर, दशैंमा पानी आएन, दशैंमा पानी नआएकै मन्त्री बिना मगर आलोचनाको शिकारसमेत भइन् ।

मेलम्चीको काम अन्तिम चरणमा पुगेका बेला गत डिसेम्बर २१ मा सिएमसीले आयेजनास्थल छोडेर गएपछि अन्यौलताको अवस्था सिर्जना भयो । त्यसपछि मन्त्रालयले सिएमसीका प्रतिनिधिसँग औपचारिक र अनौपचारिक गरी पटकपटक बार्ता ग¥यो । बार्तामा मन्त्री बिना मगर सकारात्मक रुपमा प्रस्तुत भए पनि सचिव सिएमसी फर्काउने कुरामा सकारात्मक थिएनन् । जसका कारण सिएमसीका प्रतिनिधि काममा फर्कन तयार भएनन् ।

अघिल्लो साता मन्त्री मगरले सिएमसीको मूख्यालयकै प्रतिनिधिसँग बार्ताका लागि आफ्नो तीन सदस्यीय टोली सिङ्गापुर पठाएकी थिइन् । बार्तामा नेपाली प्रतिनिधि र सिएमसीका अधिकारीबीच मेलम्ची आयोजनाको बाँकी काम सम्पन्न गर्न सिएमसी नै फर्काउने बिकल्पका विषयमा छलफल भएको थियो । नेपाली प्रतिनिधि मण्डलले सिएमसी नै काममा फर्किने अवस्थामा कानूनबमोजिम हेर्न सकिने विषयमा सरकार लचक हुने संकेत गरेका थिए ।

स्रोतका अनुसार मन्त्री मगरले सिङ्गापुरको बार्तामा सचिव ठाकुरलाई नै पठाउन चाहेकी थिइन् । तर, सचिव ठाकुर सिएमसीसँग बार्ताका लागि तयार भएनन् । त्यसपछि मन्त्रालयले मेलम्ची आयोजनाका उपनिर्देशक भोजविक्रम थापाको नेतृत्वमा तीन सदस्यीय टोली सिङ्गापुर पठाएकी थिइन् । वार्ता सकारात्मक र फलदायी भएको टोलीको भनाइ छ ।

तर, सिएमसीका प्रतिनिधिहरुले सचिव ठाकुरले आफूहरुसँग पैसाका लागि बार्गेनिङ गरेको र काममा अवरोध गरेकाले फर्कन कठिन हुने जवाफ दिएका थिए । मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रीज्यू सिएमसी नै फर्काएर आयोजनाको काम छिटो सक्नेमा हुनुहुन्छ । तर, सचिव त्यसका लागि तयार हुनुभएन । करोडौं नेपालीको भविष्य जोखिममा राखेर सचिवलाई मन्त्रालयमा राख्न अनुपयुक्त ठानेर नै सरुवा गरिएको होला ।’

सचिव ठाकुरले सिएमसीप्रति कठोर नीति लिन मन्त्रीलाई दवाव दिँदै आएका थिए । तर, मन्त्री मगरले सिएमसीलाई फर्काएर मात्र मेलम्चीको अन्यौल हटाउन सकिने अडान लिएपछि ठाकुरले मन्त्रीविरुद्ध लविङ गरेको मन्त्रालय स्रोतको दावी छ । सिएमसी फर्काउन सचिव तयार नभएपछि मन्त्री मगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोजनाका विरुद्ध सचिवको लविङले आफूलाई काम गर्न अप्ठ्यारो भएको रिपोर्टिङ गरेकी थिइन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि सिएमसी नै फर्काएर मेलम्चीको कामलाई अघि बढाउने पक्षमा छन् । तर, मेलम्ची आयोजनाको सचिवको समेत जिम्मेवारी भएका सचिवको भूमिका नकारात्मक भएपछि मन्त्री मगरले उनको बिकल्प खोजेकी हुन् । सचिव ठाकुरले नियमित प्रक्रियाबाट सिएमसीलाई दिनुपर्ने भुक्तानीसमेत अड्काएर राखेको र ठेकेदार कम्पनिलाई भाग्ने परिस्थितिमा पु¥याएको मन्त्रालयको ठहर छ ।

मेलम्ची आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ । ३ प्रतिशत बाँकी कामका लागि टेण्डर गर्दा आयोजनाको अरबौं लागत बढ्ने, समय अवधि पनि लम्बिने, स्थानीय ढुवानीकर्ता र कामदारहरुले अवरोध गर्ने हुन्छ । त्यो बिकल्प रोज्दा आयोजनाको निर्माण कार्य थप अन्यौलमा पर्ने भएपछि मन्त्री मगरले सिएमसीलाई नै फर्काउने प्रयास थालेकी थिइन् ।

तर, मन्त्री सचिवले सिएमसीसँगका हरेक बार्तामा एकपछि अर्को कठोर नीति लिन थालेपछि मन्त्री मगरले सरुवाको प्रस्ताव गरेकी थिइन् । सचिव ठाकुरले सिएमसीलाई भगाएर आफूअनुकूलको ठेकेदार कम्पनि ल्याउन लविङ गरिरहेको स्रोतको दावी छ । ‘उहाँको नियत के थियो, थाहा भएन । तर, आयोजना छिटो सम्पन्न गर्नुपर्छ भन्नेमा उहाँ हुनुहुन्न, त्यसकारण यो निर्णय लिनुपरेको हो’ मन्त्रालय स्रोतले भन्यो ।

नयाँ सचिव आएपछि सिएमसी फर्कन सकारात्मक देखिएको स्रोतको दावी छ । ‘नयाँ सचिवको टुंगो लागेको छैन, २÷३ दिनमा टुंगो लाग्छ’ मन्त्रालय स्रोतले भन्यो, ‘सिएमसी नै फर्किने अवस्थामा नयाँ टेण्डर गर्नुपर्दैन, समय र लागत बढ्ने चुनौति पनि रहँदैन, हामी त्यसैको प्रयासमा छौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको