Like us!
Follow us!
Connect us!
Watch us!

सरकार-सिके राउत सहमति सच्याइयोस : भीम रावल

आइतबार, २६ फागुन २०७५, १३ : ३८ मा प्रकाशित

सरकार-सिके राउत सहमति सच्याइयोस  : भीम रावल

अर्थ संसार, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका सांसद तथा पूर्वगृहमन्त्री भीम रावलले सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौता प्रष्ट पार्न सरकारले अर्को वक्तव्य जारी गर्नुपर्ने बताएका छन् ।

सम्झौतामा भएका कतिपय विषय संविधान विपरीत र अस्प्रष्ट भएको भन्दै उनले सरकारले अर्को वक्तव्य जारी गरेर सच्याउन र प्रष्ट पार्न आग्रह गरेका हुन् ।

‘नेपाल सरकारलाई म के सुझाव दिन चाहन्छु भने यसमा भएको त्रुटी सच्याइयोस् र एउटा वक्तव्य जारी गरेर नेपाल राष्ट्रको स्वाधीनता र अखण्डताका विरुद्धमा उहाँले (चन्द्रकान्ट राउत) आजसम्म भनेका कुराहरु फिर्ता गरिएको छ र चन्द्रप्रकाश राउतजीले अब रुप्रान्त नेपालको संविधानलाई आत्मसात गरेर नेपाल राष्ट्रको स्वाधीनता अखण्डता अनुरुप शान्तिपूर्ण प्रतिस्पर्धामा जान पूरा तयार छु भनेर वक्तव्य दिनुपर्छ’ रावलले भने ।

‘त्यो सहमतिमा प्रयोग गरिएका शब्दहरू नेपालको संविधान अनुकूल छैनन्। नेपालको स्वाधिनता र स्वतन्त्रता प्रतिकुल रहेका छन्’, रावलले भने, ‘सिके राउतले नेपालको राष्ट्रिय एकता र अखण्डताको विपक्षमा सकेसम्म विष वमन गरेका छन्। तर उनले न राष्ट्रिय सभा गृहको सम्बोधनमा न सहमतिमा विगतमा आफूले नेपाल राष्ट्रविरुद्धमा ओकलेका ती विषहरू फिर्ता लिएँ भन्नु भएको छैन।’

सिके राउतले विगतमा राष्ट्रहित प्रतिकुल गतिविधि गरेकोप्रति माफी नमागेको र ती शब्दहरु फिर्ता पनि नलिएको रावलले बताए । नेपालको संविधानको धारा ५ उपधारा २ मा राष्ट्रहित प्रतिकुलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुने लेखिएकाले सिके राउतले विगतमा गरेका कामलाई छुट दिन नमिल्ने उनको भनाइ छ ।

‘सिके राउत र उहाँका समर्थकहरूले जनअभिमत भनेको जनमत संग्रह नै हो भनेर बारम्बार भन्नुभएको छ’ रावलले भने, ‘यी सम्पूर्ण कुराहरुलाई नेपालको संविधान अनुसार राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको भावना अनुसार सच्याइयोस्।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको