अर्थ संसार, काठमाडौं– ‘जनताको जलविद्युत्’ कार्यक्रममा सभामुख कृष्णबहादुर महरा जोडिनु भएको छ । शुक्रबारदेखि बिक्री गर्न लागिएको रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर खरीदका लागि सभामुख महराले आज हितग्राही खाता खोल्नु भएको हो । जनताको जलविद्युत् कार्यक्रम समन्वय समितिका सदस्य सचिव एवम् हाइड्रो इलेक्टक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार सभामुख महराले आज ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा हितग्राही खाता खोल्नु भएको हो ।
सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तर्गतको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बीको बिक्री गरिएको थियो । सोही क्रममा शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गरिने भएको छ । ती दुई आयोजनाको कूल रु एक अर्ब ५४ करोड बराबरको शेयर बिक्री गरिनेछ । ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरेका हुन् । ती दुवै आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा सञ्चय कोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेका छन् ।
कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र माथिल्लो साञ्जेनको ७७ प्रतिशत र साञ्जेनको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सरकारले ती दुवै आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस