नारायण ढुङ्गाना
अर्थ संसार, काठमाडौँ– शोधनान्तर स्थिति दबाबमा रहेपनि मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै समष्टिगत रुपमा आर्थिक क्रियाकलापले गति लिन थालेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहल कदमीको परिणामस्वरूप वित्तीय पहुँच विस्तार भई कृषि, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा कर्जा प्रवाह बढेको तथा उतारचढावका बाबजुद पूँजी बजारका गतिविधिसमेत स्थायित्व उन्मुख रहेकाले आशा लाग्दो अवस्था देखिएको हो ।
भुक्तानी प्रणालीलाई समेत आधुनिकीकरण गर्ने दिशामा अगाडि बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकको समग्र विकासमा सहयोग पु¥याउन उच्च, समावेशी र दिगो आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्व कायम गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।
उच्च आर्थिक वृद्धि हासिल गर्ने क्रममा समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै अगाडि बढ्नु पर्ने चुनौती भने कायमै रहेको उहाँले बताउनुभयो । समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधन उत्पादनशील क्षेत्रतर्फ निर्देशित गर्ने, वित्तीय उपकरण एवं पूर्वाधारको समयसापेक्ष विकास गर्ने र वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ नेपाल राष्ट्र बैंक केन्द्रित रहेको जनाइएको छ ।
राष्ट्र बैंकको ६४औँ वार्षिकोत्सवका अवसरमा आज मुलुकको वित्तीय अवस्थाबारे जानकारी दिँदै गभर्नर डा नेपालले कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सूधार, पुनःनिर्माणले लिएको गति तथा पर्यटन क्षेत्रको प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखिएको जिकिर गर्नुभयो ।
तीन वर्ष लगातार औसत सात प्रतिशतको आर्थिक वृद्धि हुनुले नेपालको उत्पादन सम्भाव्यता बढेको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षमा समेत सात प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको बताउनुभयो ।
राष्ट्र बैंकले दिएको तथ्याङ्कमा विसं २०७५ चैत मसान्तसम्ममा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति रु १७ अर्ब २९ करोडले बचतमा रहेको तथा सङ्घीय सरकारको कूल खर्च रु ५९६ अर्ब ६२ करोड र चालु खर्च रु ४४७ अर्ब ५५ करोड रहेको एवं पुँजीगत खर्च रु १०३ अर्ब ४९ करोड रहेको जनाइएको छ ।
विसं २०७५ चैत मसान्तसम्ममा बैंकिङ कारोबारमा आधारित राजश्व सङ्कलन ९प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत० १९ दशमलव ५ प्रतिशतले वृद्धि भई रु ६०४ अर्ब ६० करोड पुगेको छ ।
समीक्षा अवधिमा चालु खाता रु १९१ अर्ब १२ करोड र शोधनान्तर स्थति रु ५८ अर्ब ९९ करोडले घाटामा रहेको जानकारी दिँदै डा नेपालले कूल विदेशी विनिमय सञ्चिति रु १०६१ अर्ब ७१ करोड कायम रहेको बाताउनुभयो । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव १ महीनाको वस्तु आयात र ७ दशमलव ९ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।
आर्थिक वर्ष २०७५/७६ को आठ महीनामा विस्तृत मुद्राप्रदाय ८.४ प्रतिशतले बढेको, बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.७ प्रतिशत र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले प्राथमिकताप्राप्त क्षेत्रतर्फ कर्जा बढाउने उद्देश्यले पुनरकर्जा सुविधाको उपयोगलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था मिलाई पुनरकर्जा कोषको सीमा वृद्धि गरी ब्याजदर स्थायित्व कायम गर्ने प्रयास गरेको छ ।
बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ब्याजदर र पूँजी बजारका विषय चुनौतीको रुपमा देखापरे पनि मुलुकको आर्थिक वृद्धि उत्साहजनक रहेको, मुद्रास्फीतिलाई लक्षित सीमामा नियन्त्रण गर्न सकिएको र उद्योगको क्षमता उपयोगमा वृद्धि भएकाले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको बताउनुभयो ।
पछिल्लो चरणमा विप्रेषण आप्रवाह उत्साहजनक रहेको, विदेशी विनिमय सञ्चिति पनि उत्साहजन रहेको र पुँजी बजारलाई व्यवस्थित गर्ने प्रयासले सुधारको दिशामा गएको दाबी गर्दै उहाँले बैंकिङ क्षेत्रको ब्याजदरलाई वञ्चित सिमामा राख्न प्रयास जारी राखेको बताउनुभयो । नीति नियम संशोधन गरेर लगानीमैत्री वातावरण बन्दै गएको उहाँको भनाइ छ ।
पूर्व गभर्नर सतेन्द्रप्यारा श्रेष्ठले विगत केही वर्षदेखि देशको निर्यातको तुलनामा आयातको वृद्धिदर असमान्य रहेकाले चिन्ता प्रकट गर्नुपर्ने बेला आएको बताउनुभयो । चालु आर्थिक वर्षको आठ महीनामा विदेशी मुद्रा सञ्चितिमा ५८ अर्ब ८८ करोडले ह्रास आइसकेकाले यो प्रवृत्ति कायम रहेमा देशले विदेशी मुद्रा सङ्कटको नराम्रो स्थितिको सामना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै श्रेष्ठले आयातको तुलनामा निर्यात हुन नसक्नु नै प्रमुख कारण रहेको दाबी गर्नुभयो ।
उहाँले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन जरुरी रहेका भन्दै अध्ययन र अनुसन्धानको पार्टी समेत कमजोर रहेको जिकिर गर्नुभयो । नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वित्तीय स्थायित्वमा राष्ट्र बैंक दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्दै लगानीयोग्य रकमको अभावका कारण ब्याजदरमा परेको प्रभावका बाबजुद लगानीको वातावरण बन्द गएकामा खुशी व्यक्त गर्नुभयो ।
आयातको वृद्धिदर झण्डै २४ प्रतिशत, शोधनान्तर घाटा ५८ अर्ब ९९ करोड
राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको आठ महीनामा आयातको वृद्धिदर २३ दशमलव ८ रहेको तर निर्यातको वृद्धिदर भने १४ दशमलव ६ प्रतिशत रहेको छ । विप्रेषणको आप्रवाह रु २३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । शोधनान्तर स्थिति भने ५८ अर्ब ९९ करोडले घाटामा छ ।
बैंकिङ कारोबारमा आधारित सरकारी खर्च दुई दशमलव ६ प्रतिशत र राजश्व सङ्कलन २१ दशमलव १ प्रतिशतले बढेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ८ दशमलव ४ प्रतिशतले बढेको र वार्षिक विन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १८ दशमलव ७ प्रतिशतले बढेको पाइएको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ९ दशमलव ७ प्रतिशत रहेको छ । निजी क्षेत्रतर्फको कर्जा १४ दशमलव ६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर २१ प्रतिशत र कर्जाको वृद्धिदर २२ दशमलव ६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस