Like us!
Follow us!
Connect us!
Watch us!

१० हजार सहयोगले ल्याएको परिवर्तन

मिलन खड्का

बुधबार, ०१ जेठ २०७६, १३ : ३० मा प्रकाशित

१० हजार सहयोगले ल्याएको परिवर्तन

अर्थ संसार,लम्की- टीकापुरको बेलुवाकी रुपमती विकले पाँच वर्षअघि सत्तीको कर्णाली सामुदायिक वनबाट बाख्रापालनका लागि रु १० हजार रकम सहयोग पाउनुभएको थियो । उहाँले पाँच हजारका दुई बाख्रा किन्नुभयो । आठ महीना पालेपछि एउटा बाख्राले दुई पाठा र अर्कोले एक पाठो जन्मायो । एक वर्षपछि एउटा बाख्रा बेचेर रु १० हजार सामुदायिक वनलाई फिर्ता गरिदिनुभयो ।

“हाल मसँग १४ बाख्रा छन्, समस्या परेको बेला बेचेर खर्च चलेको छ, सामुदायिक वनले मलाई ठूलो सहयोग ग-यो”, रुपमतीले भन्नुभयो, “गरीबीले च्यापेको थियो, कतै लगानी गरेर काम गर्ने हिम्मत थिएन, वनले दिएको १० हजारले मेरो जीवन फेरिएको छ ।” उहाँले आफ्नै तीन कट्ठा जमीनमा बाख्राका लागि आवश्यक घाँस खेतीसमेत गर्नुभएको छ । उहाँले भैँसी पनि पाल्नुभएको छ । “अब मलाई आर्थिक समस्या छैन, भैँसीको दूध बेच्छु, वर्षमा चार वटासम्म खसी बेच्छु, घर खर्च राम्रै चलेको छ ।”

उहाँजस्ता सामुदायिक वनको सहयोगमा कैलालीका उपभोक्ता बाख्रापालनमा लागेका छन् । सामुदायिक वनले उपभोक्तालाई आयआर्जन गराउन बाख्रापालनमा लगानी गर्न थालेका हुन् । सत्ती कर्णाली सामुदायिक वनले यस वर्ष ५० जनालाई बाख्रा खरीदका लागि प्रतिव्यक्ति रु १०-१० हजार उपलब्ध गराएको छ । गत वर्ष ३० जनालाई दिएको थियो । ३० जना सबैले बाख्रा पालेका छन् । “विपन्न उपभोक्तालाई आयआर्जनका कार्यमा लगाउने सामुदायिक वनको उद्देश्य हो”, अध्यक्ष धनसिंह साउँदले भन्नुभयो, “टोलटोलमा गएर टोल भेलाबाट विपन्न परिवार छनोट गरेर सहयोग गर्ने गरेका छौँ, धेरै परिवारले बाख्रा पालेर आम्दानी लिनुभएको छ ।” 

वन समूहका सचिव मणिराम ढुङ्गानाका अनुसार उपभोक्ताले पालेका बाख्राको अनुगमन गर्न समिति पनि बनाइएको छ । उहाँले वन समूहले बाख्रापालक कृषकलाई तालीमलगायत प्राविधिक ज्ञान सामुदायिक वनले दिने गरेको बताउनुभयो । टीकापुर नपा–२ स्थित भुराखानी सामुदायिक वनले पनि बाख्रा पैँचो कार्यक्रम लागू गरेको छ । शुरुमा १० जनाबाट शुरु गरेको पैँचो कार्यक्रममा हाल ५० भन्दा बढी उपभोक्ता समेटिएका छन् । “हामीकहाँ बाख्रा नै दिने चलन छ, उपभोक्ताले बाख्राले पाएको पहिलो पाठो अर्को उपभोक्तालाई दिने गरेका छौँ”, वन समूहका अध्यक्ष श्याम खत्रीले भन्नुभयो, “यही कार्यक्रमले धेरै उपभोक्ता बाख्रापालनमा लाग्नुभएको छ ।” 

उपभोक्तालाई आवश्यक घाँस पनि सामुदायिक वनमै पाइन्छ । “कतिपय उपभोक्ताले बाख्रापालनलाई नै व्यवसाय बनाउनुभएको देख्दा खुशी लाग्छ”,  अध्यक्ष खत्रीले भन्नुभयो, “यो कार्यक्रम निरन्तर चलिरहन्छ, यसले उपभोक्तालाई फाइदा हुनाका साथै कृषिमा आबद्ध गराएको छ ।”

कैलाली जिल्लामा ५२५ सामुदायिक वन छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) कैलालीका निवर्तमान अध्यक्ष तुलसी देवकोटाले तीन सयभन्दा बढी सामुदायिक वनमा बाख्रा पैँचो कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो  । “महासङ्घको योजनाअनुसार सामुदायिक वनसँग छलफल गरेपछि धेरै वनले यो कार्यक्रम लागू गरेका हुन्,” उहाँले भन्नुभयो, “वन समूहको यो सबैभन्दा बढी प्रभावकारी कार्यक्रम हो ।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको