Like us!
Follow us!
Connect us!
Watch us!

९.६ मेगावाट क्षमताको दरमखोला परियोजना ग्रिडमा जोडियो

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, ०८ : १५ मा प्रकाशित

९.६ मेगावाट क्षमताको दरमखोला परियोजना ग्रिडमा जोडियो

ढोरपाटन दरमखोला हाइड्रोपावर परियोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ। विसं २०७७ बाट पुनः निर्माण थालिएको यो परियोजना गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो। करिब १७ वर्ष अघि सर्वे सुरु भएर २०६५ मा निर्माण गर्ने योजना बने पनि वास्तविक निर्माण कार्य भने २०७७ बाट मात्र अघि बढेको थियो।

दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको परियोजनाको कुल क्षमता ९.६ मेगावाट रहेको छ। बर्खायाम पूर्ण क्षमतामा उत्पादन गर्न सकिने भए पनि हाल हिउँदे मौसमका कारण करिब ६.६ मेगावाट मात्रै आपूर्ति भइरहेको परियोजनाबाट जानकारी गराइएको छ।

गलकोट नगरपालिका–८ को काँडेबास क्षेत्रमा ड्याम निर्माण गरी मनेवापाटा क्षेत्रमा विद्युत्गृह स्थापना गरिएको छ। विद्युत्गृहबाट उत्पादन भएको विद्युत् १४ किलोमिटर टाढा रहेको हरिचौर सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गर्न सुरु गरिएको छ।

परियोजनाको निर्माण काम रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेडले जिम्मेवारीसहित पूरा गरेका हुन्। निर्माण अवधिमा देखिएका कानुनी, प्राविधिक तथा स्थानीय चुनौतीले परियोजना ढिलो भए पनि अन्ततः व्यावसायिक उत्पादन स्तरमा ल्याउन सफल भएको दरमखोला हाइड्रो इनर्जीका नेतृत्वले जनाएको छ।

यो परियोजनामा २ अर्बभन्दा बढी लगानी गरिएको छ। बागलुङ जिल्लामा अहिलेसम्म निर्माण भएका हाइड्रोपावरमध्ये दरमखोला सबैभन्दा ठूलो परियोजना मानिन्छ। परियोजना सञ्चालनमा आएसँगै जिल्लाका विकट बस्तीहरूमा स्थिर र भरपर्दो विद्युत् सेवा पुग्ने अपेक्षा लिइएको छ।

पहिले गोर्खा हाइड्रोपावर कम्पनीलाई निर्माण अनुमति दिइएको भए पनि लामो समयसम्म काम प्रारम्भ नहुँदा इजाजत रद्द गरी नयाँ सञ्चालक समूहमार्फत परियोजना अघि बढाइएको थियो। लामो समयको प्रतीक्षापछि परियोजना अहिले पूर्ण रूपमा सञ्चालनमा आएसँगै स्थानीय क्षेत्र र समग्र जिल्लामा ऊर्जा आपूर्तिको नयाँ सम्भावना खुलेको बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको