Like us!
Follow us!
Connect us!
Watch us!

सङ्घीयताको सफल कार्यान्वयन प्रदेश नं २ ले गर्छ : मन्त्री बाँस्कोटा

कमला भुसाल

शनिबार, १८ जेठ २०७६, १४ : १० मा प्रकाशित

सङ्घीयताको सफल कार्यान्वयन प्रदेश नं २ ले गर्छ : मन्त्री बाँस्कोटा

अर्थ संसार, काठमाडौं-  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नं २ बाट शुरु हुने बताए। महोत्तरीको बर्दिवासमा आज रेडियो नेपालको प्रदेश नं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उनले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्चतम महत्वमा राखेर जनताले अनुभूति गर्ने गरी काम अघि बढाउने बताए । सङ्घीय सरकारले थालेका प्रयत्नमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोगी भूमिका हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । तीनै तहका सरकारको समन्वयमा गरिने काम चाँडै परिणाममुखी हुने उनले बताए ।

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन पद्धतिको नयाँ अभ्यास थालिएको र यो पद्धतिको सफल कार्यान्वयनमा प्रदेश–२ को अगुवाइमा हुने उनले जिकिर गरे । “सङ्घीयताको आवाज विगतआन्दोलनमा यहीं (प्रदेश–२) बाट उठेको हो”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब यसलाई संस्थागत गर्ने र आम नेपालीको जीवनपद्धतिमा यसलाई ढाल्ने दायित्व पनि यसै प्रदेशले गर्नेछ ।” सङ्घीय सरकारले यसै दिशामा आफ्ना सारा प्रयत्न जनतालाई परिवर्तनको अनुभूति गराउनमा केन्द्रित गरेको उनको भनाइ थियो ।

समारोहमा प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले रेडियो नेपालको प्रादेशिक प्रशारण केन्द्र प्रदेशका सबै जनताको साझा सम्पति रहेको बताए । उनले यसलाई समयअनुसार विकास गर्दै लाने कुरामा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । रेडियो नेपालको प्रदेश २ को प्रादेशिक प्रसारण सेवा आजदेखि बर्दिवासमा औपचारिक रुपमा शुरु भएको छ । प्रसारण केन्द्रको संयुक्त रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा र प्रदेश–२ का मुख्यमन्त्री राउतले स्टुडियोबाटै शुभकामना मन्तव्य दिएर शुभारम्भ गरे ।

प्रादेशिक प्रसारण सेवाको उद्घघाटनसँगै दैनिकरुपमा प्रदेश नं २ को बर्दिवास प्रशारण केन्द्रबाट नै मैथिली, भोजपुरी, मगही तथा नेपाली भाषामा समाचार तथा अन्य कार्यक्रम उत्पादन तथा प्रसारण गरिने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले कार्यक्रममा जानकारी दिए । निकट भविष्यमा नै बर्दिवास प्रशारण केन्द्रको क्षमता विस्तार गरेर सात भाषामा दैनिक १८ घण्टा प्रशारण पुर्याउने लक्ष्य रहेको उनको भनाइ थियो ।

बर्दिवासमा रेडियो नेपालले हालका लागि १०३ मेगाहर्ज र ११४३ किलोहर्जबाट प्रादेशिक प्रसारण गर्न थालेको छ । प्रादेशिक प्रसारण सेवा अहिले तत्काल दैनिक दिउँसो ३.१५ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने रेडियो नेपाल, प्रदेश–२ प्रादेशिक प्रसारण कार्यालयका प्रमुख रामपुकार रामले जानकारी दिए । रेडियो नेपालको प्रादेशिक प्रसारणको नयाँ भवन रु दुई करोड ११ लाखको लागतमा निर्माण शुरु आजै गरिएको छ । नौ महीनाभित्र सो भवन निर्माणको काम सम्पन्न हुने रेडियो नेपालले जनाएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको