अर्थ संसार, काठमाडौं - चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन् ।
वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै सोही क्षेत्रका स्थानीयवासीले दुःखेसो पोखेका छन् । सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायतका सडकमा ठूला–ठूला खाल्डाखुल्डी छन् । दैनिक आवतजावत गर्नुपर्ने हजारौँ सवारीसाधन र उपभोक्ताले सडककै कारण निकै कष्ट भोग्नुपरेको स्थानीयवासी जयराम पुडासैनीले बताउनुभयो ।
सोही विषयलाई लिएर आज बिहान थलीका स्थानीयवासीले सडक बन्द गर्दै प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयवासीले कुनै पनि सवारीसाधन चल्न नदिई सडक अवरुद्ध गरेका थिए । सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिलाई समेत ध्यानार्कषण गराउँदै प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले कान्तिपुर क्याम्पस अगाडि, मिलनचोक र थलीमा सडक अवरोध गरेका थिए । सडक निर्माण छिटो गर्नुपर्ने स्थानीयवासीको माग थियो । सरकारले गत साल २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।
कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन ।
–––
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस