अर्थ संसार, काठमाण्डौ –राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन् ।
सदस्यसचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगतिविवरण बारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आइसिसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताएका हुन् ।
रिपोर्टर्स क्लबमा आज आयोजित विशेष साक्षात्कारमा सदस्य सचिव विष्टले क्यान निलम्बन फुकुवा हुने दावी गरेका हुन् ।
भोली कार्यकाल सकिँदै गरेका विष्टले यदी आफ्नो कार्यक्रम दोहोरिएको खण्डमा आइसिसीको हेड क्वार्टर मै पुगेर निलम्बन फुकुवाको पहल गर्ने पनि बताए । क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्नेमा पनि उनले जोड दिए ।
केही स्वार्थी तत्वहरुका कारण क्यान विवाद समाधान हुन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा क्यान निलम्बनमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए । क्यानको विवादित कमिटिले अदालतमा मुद्धा दायर गरेर समस्या सामाधान अवरोध गरेको पनि विष्टको आरोप छ ।
सदस्यसचिव विष्टले १३ औँ दक्षिण एसियाली खेलकूल प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रेहेको दावी गरे । विगतमा पटक पटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आगामी डिसेम्बर एकदेखि प्रतियोगिता सुरु हुने विष्टको जिकिर छ । प्रतियोगिताको लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको पनि विष्टले बताए ।
डिसेम्बरमा पनि नेपालले यो प्रतियोगिता गर्न नसकेको खण्डमा आयोजनाको जिम्मेवारी नै गुमाउन सक्ने विष्टको भनाई छ । “संरचना निर्माण धमाधम भइरहेको छ । नीतिगत समस्या केही छैन । बजेटका विषयमा अध्ययन भइरहेको छ । अब डिसेम्बरमा बल, विवेक, क्षमताको प्रयोग गरेर प्रतियोगिता सम्पन्न गर्नुपर्छ । हुँदैका कि भन्ने आशंका नगर्नुस ।” उनले भने ।
धुर्मुस सुन्तलीले रंगशाला बनाउँने तपाईहरु नसक्ने भन्ने पत्रकारको प्रश्नमा विष्टले यस्तो सोच्नु अल्पज्ञान भएको बताए । सरकारका तर्फबाट दर्जनौँ रंगशाला बनिरहको दावी गर्दै उनले कुनै एउटा रंगशाला निजी क्षेत्रले बनाउँदैमा आफूहरुले केही पनि नगरेको भन्ने सोच नराख्न उनले आग्रह गरे ।
चार वर्षे कार्यकालको प्रगति विवरण :
सदस्य सचिव विष्टले आफ्नो चार वर्षे कार्यकालमा गरेका विवरणहरु पनि साक्षात्कारमा प्रस्तुत गरे ।
आफ्नो नियुक्ति निकै संकटग्रस्त समयमा भए पनि सफलतापूर्वक काम गरेको विष्टको दावी छ । भूकम्पपछि खेलकूद संरचना ध्वस्त भएको, राजनीतिक अस्थिरत, सबैजसो खेलकूद संघमा विवाद, बजेटको अभाव जस्ता समस्या चिर्दै आफूले कार्यकाल सफल बनाएको उनको दावी छ ।
आफ्नो कार्यकाललाई स्वर्णकाल बनाउने लक्ष्यका साथ काम सुरु गरेको बताउँदै उनले लक्षित गन्तव्य भेटाएको पनि बताए ।
इतिहासमै पहिलोपटक राखेपको तर्फबाट श्वेत पत्र जारी गरेको उल्लेख गर्दे उनले दलगत स्वार्थबाट माथि उठेर खेल क्षेत्रको स्वार्थका लागि काम गरेर चार वर्ष विताएको विष्टले बताए ।
आफ्नो कार्यकालमा खेल विश्वविद्यालय, खेल अस्पताल, वैदेशिक प्रशिक्षण, अन्तराष्ट्रिय पदक जित्नेलाई आजिवन भत्ताको व्यवस्था गरिएको विष्टले बताए ।
त्यसैगरी खेलाडिको स्वाथ्य, दुर्घटना र जीवन बीमा गर्ने प्रक्रिया सुरु गरिएको विष्टले बताए । विगतमा एक सयभन्दा कम योजना बन्ने गरेकोमा आफूले सात सयभन्दा बढि योजना बनाएर काम गरेको उनले जानकारी दिए ।
विभन्न खेलका लागि आवश्यक भौतिक संरचना बनाएको, कतिपय बन्ने क्रममा रेहको र केहीको प्रक्रिया सुरु गर्न लागिएको फेहरिस्त पनि विष्टले सार्वजनिक गरे ।
फुटबल, कराँते, कुस्ती, बक्सिङ जस्ता खेल संघमा भएको विवाद समाधान गर्नु ठूलो सफलता भएको उनको भनाई थियो । २–२ वर्षमा गर्नुपर्नेमा राष्ट्रिय खेलकूद प्रतियोगिता हुन नसकिरहेको अवस्थामा आफू नियमित गराएको जानकारी पनि विष्टले दिए ।
त्यसैगरी विगतमा नभएको पारा नेशनल खेल प्रतियोगिता, जेष्ठ नागरिकका लागि खेल र तेस्रो लिङ्गीलाई पनि खेल क्षेत्रमा सहभागि गराइएको विष्टले बताए ।
आफ्नो कार्यकालमा क्रिकेटले एक दिवसीय मान्यता पाएको, भलिबल, कबड्डी खेलले पहिलोपटक अन्तराष्ट्रिय पदक जित्न सफल भएकोमा आफू सन्तुष्ट भएको पनि विष्टले बताए ।
विगतमा एक सयभन्दा कम अन्तराष्ट्रिय पदक नेपाल भित्रिने गरेकोमा यस वर्ष त्यो संख्या ११ सय पुगेको पनि विष्टले दावी गरे ।
आफ्नो कार्यकालमा महिलालाई खेल क्षेत्रमा सक्रिय बनाउनका लागि गाउँ गाउँमा प्रशिक्षक पठाएको र आत्मरक्षाको तालिमसमेत प्रदान गरिएको उनले जानकारी दिए ।
आफूले खेलकूद क्षेत्रलाई पर्यटनसँग जोड्ने अवधारणा ल्याएको बताउँदै विष्टले हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि हेलम्बुमा अध्ययन भइरहेको पनि बताए ।
समग्रमा आफ्नो चार वर्षे कार्यकाल सफल भएको उनको दावी थियो । “मलाई सदस्य सचिव बनाउँदा विरोध गर्ने र मन नपराउनेले पनि अहिले मेरो प्रशंसा गर्न थालेका छन् ।” विष्टले भने ।
असार ९ गतेसम्म मात्रै कार्यकाल रहेका विष्टले दोस्रो पटक पनि सदस्यसचिवको जिम्मेवारी पाउने विश्वास गरेका छन् । आफूले पहिलो कार्यकालमा गरेको कामका आधारमा पुनः जिम्मेवारी दिने वातावरण बनेको उनको जिकिर छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस