Like us!
Follow us!
Connect us!
Watch us!
घट्ना विवादस्पद भएकोले यसमा पूनः अनुशन्धान हुनुपर्छ : पूर्व एआईजी चन्द

‘रिह्याव सञ्चालकहरु होईन, विषादी राखेर तरकारी खुवाउनेहरु क्रिमिनल हुन्’ : वसन्त कुँवर

मिलन खड्का

आइतबार, २२ असार २०७६, १६ : ०६ मा प्रकाशित

‘रिह्याव सञ्चालकहरु होईन, विषादी राखेर तरकारी खुवाउनेहरु क्रिमिनल हुन्’ : वसन्त कुँवर

अर्थ संसार, काठमाडौं– ‘वे केयर’ नामक लागु औषध दुव्र्यसनी उपचार तथा पूर्नस्थापना फाउण्डेशनमा आफैं उपचारमा गएका र त्यहाँ प्रशिक्षक भई प्रशिक्षण कार्य गरेका कर्मचारीहरुलाई बिना कसुर जेल सजाय तोकिएको भन्दै उनीहरुको अभिभावकले निर्दोष व्यक्तिहरुलाई फसाउने काम भएको गुनासो पोखेका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा फेडरेशन अफ ड्रग डिमाण्ड रिडक्सनले आयोजना गरेको पत्रकार सम्मेलनमा जेल सजाय सुनाईएका विकास सुवेदी, सुधिर कार्की, मुकुन्द केसी, सुनिल खड्का क्षेत्री र छिरिङ ग्याल्जिङ शेर्पाका परिवारले यस्तो गुनासो पोखेका हुन् । 

उक्त केयर सेन्टरमा २०७५ माघमा लामो समय रक्सी पिई शारिरिक रुपले असक्त भैसकेपछि सिन्धुली घर भएका सिताराम घिमिरे केन्द्रमा भर्ना भएको र उपचारमा लैजाँदा अस्पताल पुर्याउने वित्तिकै निधन भएको घट्नामा पाँच जनालाई अदालतले जेल सजाय सुनाएको थियो । तर, परिवारका सदस्यहरुले घट्नामा आफ्ना परिवारका सदस्यहरुको कुनै दोष नरहेको जिकिर गरेका छन् ।  
पत्रकार सम्मेलनमा ‘वे केयर’ ले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘उहाँ घिमिरेमा कन्भल्जन नामक समय समयमा बेहोस भैरहने अवस्था थियो । यस प्रकारका व्यक्तिहरुलाई पहिला अस्पतालमा भर्ना गरेपछि मात्र उपचार केन्द्रमा ल्याउनुपर्ने हुन्छ । तर, टेलिफोनबाट सम्पर्क भएका परिवारले हामीलाई सिताराम घिमिरेमा कुनै स्वास्थ्य समस्या नभएको भनि ढाँट्नुभयो ।’
घरमा धेरै दुःख दिएका कारण पीडित परिवारलाई राहत दिन घिमिरेलाई भर्ना गरेको वे केयरले स्पष्ट पारे । उसले भनेको छ,‘तर, भर्ना गर्नेबित्तिकै उहाँको स्वास्थ्य ठिक नभएको र परिवारबाट झुठो बोलिएको हामीलाई थाहा भयो । वहाँको अवस्था एकदमै नाजुक थियो । २०७५ माघ ६ गते हामीले वहाँलाई हाम्रो सेन्टर भएका स्थान ललितपुरको हात्तिवनबाट बल्खुस्थित् स्टार अस्पतालमा लैजान ट्याक्सीमा राख्यौं र हिँड्यौं । तर, अस्पताल पुग्दा उहाँको मृत्य भएछ । यो कुरामा हामी धेरै दुःखी छौं । तर पनि कुनै अस्पताल वा रिह्यावको माननिसको मृत्यु होस भन्ने चाहना हुँदैन । यस्ता संस्था मानिस बचाउन चाहन्छन् ।’

उक्त घट्ना प्रहरी अनुशन्धानपश्चात् जिल्ला अदालत पुगेको र आफूहरुका ५ सदस्यहरुलाई हालै १० र ११ वर्षको कैद सजाय भएको उनीहरुले जनाए । उनीहरुले अदालतको उच्च सम्मान गर्ने तर, यस केसमा आफ्ना सदस्यमाथि घोर अन्याय भएको दुःखेसो पोखे । 

घिमिरेको मृत्यु रिह्यावको कारणले नभई आफूले बोकेको रोगका कारण भएको उनीहरुको दाबी छ । घिमिरेलाई बचाउनको लागि आफ्ना सदस्यहरुले अस्पताल पुर्याएको उनीहरुको जिकिर छ । आफैं उपचारमा आएका लागुऔषध प्रयोगकर्तालाई पनि जेल सजाय भएकोमा उनीहरुको गम्भिर आपत्ति छ । 
उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘व्यवस्थापकहरुलाई झुटो सूचना दिने अभिभावक, र प्रयास गर्दागर्दै पनि रोगका कारण ज्यान गुमाउन पुगेका व्यक्तिका कारण सजाय गरिएको छ ।’

उक्त केशमा जिल्ला अदालतबाट अन्याय भएको भन्दै उनीहरु माथिल्लो अदालतमा न्यायका लागि जाने तयारीमा छन् । अभिभावकहरुले एक स्वरमा भनेका छन्,‘हाम्रा बेकसुर परिवारका सदस्यहरुलाई ठूलो नियतपूर्वक वा जानीजानी लापरवाहीपुर्व हत्या गरेझैं गरि सजाय गरी हाम्रो मान, प्रतिष्ठा र आत्मासम्मानमा नै आघात पुर्याउने कार्य भएको छ ।

पत्रकार सम्मेलनमा अन्यायपूर्वक सजायमा परेका भनिएकाहरु विकास सुवेदीका बुवा उद्धव सुवेदी, सुधिर कार्कीकी श्रीमति सजनी कार्की, मुकुन्द केसीका बुवा खम्बा सिंह खत्री, सुनिल खड्का क्षेत्रीकी बैनी आशा गुरुङ र सेन्टरका व्यवस्थापक छिरिङ ग्याल्जीङ शेर्पाका दाजु राजेश सुनुवारको उपस्थिति रहेको थियो । उनीहरुले घट्नामा आफ्ना सदस्यहरु निर्दोष रहेको जिकिर गरेका थिए । 

कार्यक्रममा फेडरेशन अफ ड्रग डिमाण्ड रिडक्सनका अध्यक्ष प्रशान्त शर्माले विरामीको उपचारको क्रममा अस्पतालहरुमा समेत सक्दो प्रयास गर्दागर्दै पनि दुर्घटना हुने गरेका समाचार आफूहरुले सन्नुपरेको सुनाए । 
उनले भनेका छन्,‘यस्ूता घट्नामा उपचारमा संलग्नहरुमाथि आरोप प्रत्यारोप गरि सजायको भागिदार बनाउनु अन्याय हुनसक्नेतर्फ हामी सचेत हुन आवश्यक छ ।’ 

पूर्नस्थापन केन्द्रका सञ्चालक, उपचारमा संलग्न व्यक्तिहरुको दुव्र्यसनीहरुसँग कुनै दुश्मनी नहुने हुँदा शंकाको दृष्टिले हेर्न नहुने उनको भनाई छ । 

कार्यक्रममा लागूऔषध नियन्त्रणमा क्रियाशिल नार्कोनन् नेपालका वसन्त कुँवरले रिह्याव सेन्टर सञ्चालकहरुलाई सरकारले अपराधीको रुपमा हेर्न नहुने धारणा राखे । उनले भने,‘बरु, सरकारले हामीलाई धन्यवाद दिनुपर्छ । होईन, भने सबै रिह्याव सेन्टरहरु सरकारले नै जिम्मा लिएर चलाउनुपर्छ ।’
नेपालमा अधिकांश अपराधिक घट्ना ड्रग–एडिक्सनकै कारण घट्ने गरेको सुनाउँदै कु्ँवरले आफूहरुको कामले बरु अपराध कम भएको दाबी गरे । उनले भने,‘हामीले कानून तोड्ने कुरा गरेका छैनौं । हामी यही केशमा पनि माथिल्लो अदालतसम्म जान्छौं ।’ 

चिकित्सकले पनि घिमिरे मर्नुको कारण (कज अफ डेथ) मा प्रश्नवाचक चिन्ह राखिएको उनको भनाई छ । उनले भने,‘यस्तो अवस्थामा दश वर्षको जेल सजाय कसरी भयो ? यो त रिह्याव खत्तम गर्ने खेल हो जस्तो लाग्छ ।’ विरामी मृत्युको कारण आफूहरुजस्तो रिह्याव सेन्टर नभएको पनि उनको दाबी छ । 

उनले रिह्याव सेन्टरहरुमा सुधारको खाँचो रहेको सुनाए । तर, सरकार, न्यायालय, संसददेखि सबै ठाउँमा सुधारको खाँचो रहेको उनले औंल्याए । उनले भने,‘बरु, अहिले विषादी राखेर तरकारी खुवाउनेहरु चाहीँ क्रिमिनल हुन् । हामीले रिह्यावमा आउनेहरुको स्वास्थ्यमा खेलबाड गरेका छैनौं ।’
नेपालमा ५ लाखभन्दा बढिले ड्रग सेवन गरेको कुँवरले तथ्यांक पेश गरे । नेपालमा तीन हजारभन्दा बढि दुव्र्यसनीहरुलाई रिह्यावमा राखेर उपचार दिईरहेको पनि उनले सुनाए । उनले भने,‘रिह्याव भनेको त रक्षा शिक्षा हो । सुधार केन्द्र र अस्पतालको काम नै विरामी बचाउने हो । खराब बानी सुधार्ने हाम्रो पाटो हो ।’

दुव्र्यसनीमा लागेकाहरुलाई पनि निकै ढिलोमात्रै उपचारको लागि सुधारगृहमा ल्याउने गरिएको कुँवरको भनाई छ । उनले थपे,‘घर, परिवार र व्यवसाय सिध्याएपछि मात्रै उहाँहरु रिह्यावमा आउनुहुन्छ । हामीले पनि आँत्तिएका बाउ आमाको आग्रहलाई ध्यानमा राखेर उपचारमा राख्छौं ।’

नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरीक्षक तथा लागुऔषध दुव्र्यसनीको क्षेत्रमा लामो समय काम गरेका रण बहादुर चन्दले यस्तो घट्नामा अनुशन्धान गहिरो हुनुपर्ने बताए । उनले भने,‘अपराध नै नगरेको मान्छेलाई बिना कसुर जेल सजाय दिनुहुँदैन् ।’ 

उनले उक्त घट्ना विवादस्पद भएकोले यसमा पूनः अनुशन्धान हुनुपर्ने माग राखे । त्यस्तै, नेपाल सरकारले पनि रिह्यावको लागि बुझिनेगरि स्पष्ट रुपमा एउटा निश्चित क्राईट–एरिया बनाईदिनुपर्नृे उनको सुझाव छ । उनले भने,‘निरपराधीलाई जेलमा नराखियोस् ।’ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको