अर्थ संसार, काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।
“गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ”, उहाँले भन्नुभयो, “अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।” उहाँले कम्युनिष्ट विचार बोकेका मानिस भीडको पछि नलागी असल कार्य गर्न लाग्न सुझाव दिनुभयो । “अहिलेको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा सरकारको मात्र हैन”, मन्त्री पण्डितले भन्नुभयो, “यो त कम्युनिष्टको पनि हो, त्यसैले सानातिना कार्यमा नअल्झिन कार्यकर्तालाई आग्रह गर्दछु ।”
 सङ्घीयताको कार्यान्वयन सफलरुपमा हुनु भनेको नेपाल समृद्धतर्फ लम्कनु हो भन्दै मन्त्री पण्डितले सबै कार्यकर्तालाई सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । “हाम्रा नेता तथा कार्यकर्ता साना कुरामा अल्झिने हैन”, उहाँले भन्नुभयो, “आन्तरिक किचलो आन्तरिक रुपमै मिलाउ बाहिर नल्याउ ।” उहाँले स्थानीय तहमा कर्मचारीको अभाव छिट्टै हटेर जाने जिकिर गर्नुभयो ।
 सरकार व्यावहारिक परिवर्तनका काम गर्दै आएको भन्दै मन्त्री पण्डितले परिणाम आउन केही समय लाग्ने बताउनुभयो । उहाँले सरकार विरोधी तत्वहरु आफैँ निरुत्साहित भएर जानेसमेत दाबी गर्नुभयो । उहाँले आज बिहानै बागलुङ नगरपालिका–४ कुडुलेस्थित निर्माणाधीन भूमिगत शालीग्राम सङ्ग्रहालयको अनुगमन र कालिका मन्दिरको दर्शन गर्नुभएको थियो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस