अर्थ संसार, काठमाडौ – नेपाली पत्रकारिताको खासै विकास नभएको र राष्ट्रिय समाचार समिति केवल वामे सर्दै गरेको अवस्थामा राससमा अङ्ग्रेजी समाचारदाताका रुपमा प्रवेश गर्नुभएका राधेश्याम विष्टले आफ्नो पत्रकारिता र अङ्ग्रेजी भाषाको ज्ञानले राससलाई समृद्घ मात्र बनाउनुभएन यसलाई अध्यक्ष तथा महाप्रबन्धक जस्तो नेतृत्वदायी पदमा बसेर २०३० देखि २०४२ सम्म १२ वर्षसम्म हाँक्नुभयो । हरेक पदमा प्रतिस्पर्धा गरेरै पुग्नुभएका विष्टले आफ्नो क्षमताको प्रदर्शन गर्दै नेपालको इतिहासमै सरकारको प्रथम प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्नुभयो । राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्नाका साथै राससलाई संस्थागतरुपमा मजबुत बनाउँदै नेपाली पत्रकारिता क्षेत्रमा योगदान गर्नुभएका सक्षम पत्रकार तथा प्रशासक विष्ट उमेरले ७५ पार गरिसक्नुभए पनि अझै पनि सक्रिय बौद्धिक व्यक्तित्वका रुपमा काम गरिरहनुभएको छ । उहाँसँग राससका प्रमुख समाचारदाता तीर्थ भट्टराईले उहाँकै निवास सानेपा, ललितपुरमा सोमबार लिएको अन्तर्वार्ता :
१. यहाँको जन्म कहिले र कहाँ भएको हो ? पारिवारिक पृष्ठभूमिबारे बताइदिनुहुन्छ कि ?
म विसं २००१ मा ललितपुरको सानेपामा जन्मेको हुँ । मेरा पिता हरिबहादुर र आमा जयकुमारी हुनुहुन्छ । हाम्रा पुर्खा धेरै अगाडि कालीकोटबाट आएकाले हामीलाई कालीकोटे विष्ट पनि भन्छन् ।
२. शिक्षा कहाँबाट प्राप्त गर्नुभयो ?
मैले ललितपुरको पाटन हाइस्कूलबाट विसं २०१५ मा एसएलसी पास गरेपछि त्रिचन्द्र क्याम्पसमा पढेँ । त्यसपछि त्रिविको त्रिपुरेश्वरस्थित क्याम्पसबाट अर्थशास्त्रमा एमए (स्नातकोत्तर) गरेँ । मैले कानूनमा स्नातक (बिएल) पनि गरेको छु । राससमा काम गर्न थालेपछि फ्रान्समा पनि पत्रकारिता विषयमा एक वर्ष अध्ययन गरेँ । अमेरिकाको इष्टवेष्ट सेन्टर, हवाईमा ३५ दिनको तालीम पनि लिएँ ।
३. रासससँग कहिले र कसरी संलग्न हुनुभयो रु पत्रकारिता पढ्नुभएको थियो कि ?
म एमए पढ्दै गर्दा नै २०१९ मा राससमा विज्ञापन खुलेको थाहा पाएर निवेदन दिएँ । अङ्ग्रेजी समाचार लेख्न जान्नेको आवश्यकता भनेर गोरखापत्रमा विज्ञापन प्रकाशन भएको थियो । त्यहाँ लिखित परीक्षा र अन्तर्वार्ता भएपछि हामी चार जना पास भयौँ । मसमेत अरु गोकुल पोखरेल, गोविन्द प्रधान र पदमराज सुवेदी पास भएका थियौँ । पोखरेल राससका कार्यवाहक महाप्रबन्धकसम्म हुनुभयो भने प्रधान अध्यक्ष तथा महाप्रबन्धक हुनुभयो । भोजपुरका सुवेदी भने रासस छोडेपछि सरकारको सचिव पनि हुनुभयो ।
४. यहाँ राससमा सर्वप्रथम आउनुहुँदा राससको अवस्था कस्तो थियो ? कसरी चलेको थियो ? यसको कतिको महत्व थियो ?
रासस सगरमाथा संवाद समिति र नेपाल संवाद समितिको एकीकरण भएर २०१८ फागुन ७ गते स्थापना भएर चलेको थियो । सञ्चालक समिति अध्यक्षमा सरकारकै मानिस रामराज पौड्याल अध्यक्ष हुनुहुन्थ्यो । निजी क्षेत्रका गोविन्द वियोगी र मणीन्द्रराज श्रेष्ठ सदस्य हुनुहुन्थ्यो । स्रोत र साधन खासै केही थिएन । एक मात्र समाचार समिति भएकाले यसको धेरै महत्व थियो भने यसका समाचार रेडियो, गोरखापत्र तथा अन्य दैनिक अखबारमा प्रयोग हुन्थ्यो ।
५. अध्यक्ष तथा महाप्रबन्धक कहिले हुनुभयो रु सो समयमा विदेशी समाचार संस्थासँग कस्तो सम्बन्ध थियो ?
म सम्पादक हुँदा र प्रधानसम्पादक हुँदा पनि प्रतिस्पर्धाबाटै छानिएँ । म २०३० मा महाप्रबन्धक बनेँ भने त्यसपछि अध्यक्ष पनि बनेँ । त्यसबखत राससको सम्बन्ध विशेष गरी एएफपीसँग बढी थियो । टेलिप्रिन्टरबाट समाचार आउँथ्यो र त्यो बुलेटिनमा छपाएर ग्राहकलाई बाँडिन्थ्यो ।
६. आफ्नो कार्यकालमा राससमा के कति कार्य गर्न सफल हुनुभयो ? गर्न नसकिएका केही कुरा भए बताइदिनुहुन्छ कि ?
म अध्यक्ष तथा महाप्रबन्धक पदमा जानुभन्दा पहिले रासस भाडाको घरमा बस्थ्यो । पहिले कार्यालय राससकै प्रबन्धक आदित्यध्वज जोशीको घरमा बस्थ्यो भने पछि धरहरा नजीक तत्कालीन रोयल नेपाल एकेडेमीसँगैको घरमा बसेको थियो । गाडी पनि थिएन । पहिले भएका अध्यक्षले आफू आफ्नो साविक पदमा फर्कँदा गाडी पनि लिएर फर्कनुभएको थियो । राससको अवस्था बेहाल नै थियो । कार्यालयको आफ्नो भवन थिएन । त्यसैले मैले भवन बनाएँ, भौतिक पूर्वाधार बनाएँ । राससका लागि पोखरा, विराटनगर आदि धेरै स्थानमा जग्गा जोडियो । मैले राष्ट्रिय योजना आयोगका सदस्य हर्क गुरुङमार्फत राससका आवश्यकतालाई विकास योजनामा पारेँ । बजेट थोरै थियो । अर्थमन्त्री भेषबहादुर थापामार्फत दोब्बर गराएँ । गाडी दुई वटा व्यवस्था गरियो एउटा स्टाफ र अर्को अध्यक्षका लागि । एउटा माइक्रो भ्यान र सुजुकी जीप किनियो । मेरो त पहिलेदेखि नै आफ्नै गाडी थियो । सो समयमा राससमा महिला पत्रकार थिएनन् । सोही समयमा प्रोत्साहन गरियो र एक महिला पत्रकार मञ्जुला गिरीलाई समाचारदातामा नियुक्त गरियो । राससमा तालीम एकाइ खोलियो । हामी आफैँले तालीम पनि दिन्थ्यौँ ।
७. राससको स्थापना र उन्नतिमा कसकसको विशेष योगदान सम्झनुहुन्छ ?
राससको स्थापना र उन्नतिमा संस्थापक अध्यक्ष तथा सदस्यहरु रामराज पौड्याल, गोविन्द वियोगी, मणीन्द्रराज श्रेष्ठ आदिको योगदान छ भने राजदरबारका प्रेस सेक्रेटरी रेणुलाल सिंहको पनि योगदान रहेको छ । साथै राससका केन्द्र तथा जिल्लाका रिपोर्टरको पनि उत्तिकै योगदान रहेको छ ।
८. राससमा पुराना दिनका कुनै उल्लेखनीय घटना वा स्मृति छन् कि ?
राससमा हुँदा विश्वका धेरै ठूला नेतालाई भेटियो, जस्तै भारतका प्रधानमन्त्री इन्दिरा गान्धी, अमेरिकाका विदेशमन्त्री हेनरी किसिन्जर । इन्दिरा गान्धी काठमाडौँ आएको बेलाको एक पत्रकार सम्मेलनमा प्रश्न सोध्दा मबाट पत्रकार सम्मेलन नै डोमिनेट भएको उहाँलाई लागेपछि अरुलाई पनि प्रश्न सोध्न गान्धीले आग्रह गर्नुभएको थियो । उहाँलाई मैले अन्तिम प्रश्न भनेर भारत एशियन कलेक्टिभ फोरममा सहभागी हुने नहुनेबारे प्रश्न गरेको थिएँ । श्रीलङ्काका राष्ट्रपति जयवर्धनेलाई श्रीलङ्कामै नेपालको शान्ति क्षेत्रबारे प्रश्न गरेपछि उहाँले समर्थन गर्नुभयो र पछि नेपाल आएपछि औपचारिकरुपमा पनि समर्थन गर्नुभयो । बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई पनि यसबारे मैले प्रश्न सोधेपछि उहाँले समर्थन गर्नुभयो र पछि नेपालको परराष्ट्र मन्त्रालयले आफ्नो माध्यमबाट स्पष्ट गरेर समर्थन प्राप्त गरेको थियो । म सोभियत सङ्घ पनि गएँ । चीनमा पनि त्यहाँका विदेशमन्त्रीसँग कुरा गरेँ । यसैगरी उत्तर कोरियामा त्यहाँका राष्ट्रपति किम इल सुङको पनि अन्तर्वार्ता लिएँ ।
मैले २०३७ सालको जनमतसङ्ग्रहमा पूर्वप्रधानमन्त्री बिपी कोइरालासँग पनि अन्तर्वार्ता लिएँ । उहाँलाई हार भए के गर्र्नु हुन्छ भनी प्रश्न गर्दा उहाँले जीत त असम्भव नै छ भन्नुभएको थियो । मैले पूर्वप्रधानमन्त्री तुलसी गिरीको पनि अन्तर्वार्ता लिएँ । उहाँले बहुदलले जित्दैन भन्नुभएको थियो । बिपीको अन्तर्वार्ता लियो भनेर मलाई अध्यक्षबाट हटाउने पनि कुरा भएको थियो तर मिडिया स्वतन्त्र भएकाले जनमतसङ्ग्रहको परिणाम पनि स्वच्छ भएको भनी अमेरिकी विदेश विभागले परिणाम स्वीकार गरेको थियो ।
९. राससको राजदरबारसित कस्तो सम्बन्ध थियो, राजा वीरेन्द्रले राससलाई कसरी हेर्नुहुन्थ्यो र ? केही निर्देशन दिनुहुन्थ्यो कि ?
राजदरबारसित सम्बन्ध राम्रो हुन्थ्यो तर राजा वीरेन्द्रले प्रत्यक्ष निर्देशन भने दिनुभएन । उहाँलाई प्रथम पटक सवारीका क्रममा धनकुटामा भेटेको थिएँ । पछि सुर्खेतमा पनि भेटेँ । सो बखत दुई कुरा भनेँ, एउटा हो, विकास सर्वसाधारणलाई भएन, उनीहरुका लागि पनि हुनुपर्यो र समावेशी हुनुपर्यो भनेँ र अर्को सेनालाई पनि विकासमुखी बनाउनुपर्छ भन्दा उहाँले ठीक छ म त्यो गराउँछु भन्नुभयो । उहाँ छलफल गर्न तयार हुनुहुन्थ्यो । प्रधानमन्त्री तुल्सी गिरीसँग पनि पञ्चायतलाई विकास गर्दै लानुपर्छ भनेर छलफल हुन्थ्यो तर उहाँ भने यस्तो कुरा मान्नुहुन्नथ्यो ।
१०. तपाईँको कार्यकालमा सञ्चार मन्त्रालयबाट कस्तो सहयोग हुन्थ्यो, हस्तक्षेप कत्तिको हुन्थ्यो ?
सञ्चार मन्त्रालयले त यो भएन ऊ भएन भन्थ्यो, सुधार गर्नुपर्ने कुरा हुन्थे । कहिलेकाहीँ त कुनै रिपोर्टरलाई निष्काशन गर्न पनि भन्थ्यो तर त्यस आधारमा कसैलाई निष्काशन गरिन । बरु काम नगर्नेलाई भने गरियो । अन्य आवश्यक कुरामा सोझै अर्थ मन्त्रालयसँग ‘डिल’ हुन्थ्यो । उच्च तहका सबैसँग सम्बन्ध र सम्पर्क हुन्थ्यो । प्रभावशाली सञ्चारमन्त्रीहरुमा डा प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत आदि हुनुहुन्थ्यो । लोहनीलाई जाकर्तामा भएको विश्व सूचना सम्मेलन र बस्नेतलाई मलेशियामा भएको सम्मेलनका लागि भाषण पनि लेखिदिएको थिएँ ।
११. राससलाई सर्वग्राह्य र प्रभावकारी समाचार संस्था बनाउन के गर्नुपर्छ ? यो कुन मोडलमा चल्नुपर्छ ?
आफ्नै मोडलमा चल्नुपर्छ । कसरी विश्वसनीय बनाउने, फ्याक्ट चेकिङ मेकानिज्म, क्रस चेकिङ हुनुपर्यो, प्रोपोगाण्डा र समाचार छुट्याउन सक्नुपर्यो । आधुनिक प्रविधिको प्रयोग गर्नुपर्यो र स्तरीय पत्रकारिता गर्नुपर्यो । समाचारमा विविधता र समावेशिता हुनुपर्यो । समाचारका स्रोतमा विविधता हुनुपर्यो । रिपोर्टरको हातमा नाइट कमिशनको रिपोर्टको ह्याण्डबुक हुनुपर्यो । अग्रगामी प्रवृत्तिलाई अवलम्बन गर्नुपर्यो । जनसाधारणलाई पनि शिक्षित गर्नुपर्यो प्रोपोगाण्डा के हो र समाचार वा तथ्य के हो भनेर । रिपोर्टरलाई तालीम र अभिमुखीकरण हुनुपर्यो। अहिले सञ्चारमाध्यमको विश्वसनीयता घटिरहेको बेला राससले विश्वसनीयता बढाउनुपर्यो ।
१२. यहाँ राससबाट निवृत्त भएपछि तत्कालीन श्री ५ को सरकारको प्रथम प्रवक्ता बन्नुभएको थियो । त्यो कसरी सम्भव भयो ?
एक दिन नेपाल टेलिभिजनका दुर्गानाथ शर्माले मेरो अन्तर्वार्ता लिनुभयो तर सो अन्तर्वार्ता टेलिभिजनमा प्रसारण भने भएन । पछि बुझ्दा त त्यो त मेरो परीक्षाजस्तो पो रहेछ । अरु पनि नौ दश जनाको अन्तर्वार्ता लिइएको रहेछ र त्यो तत्कालीन प्रधानमन्त्री मरीचमानसिंह श्रेष्ठमार्फत राजामा पुगेको रहेछ । त्यसमार्फत मलाई सरकारको प्रवक्तामा छानिएको रहेछ । यसरी मैले हरेक पदमा प्रतिस्पर्धाबाटै छानिँदै जिम्मेवारी पाएको हुँ ।
१३. नेपालको पत्रकारिता क्षेत्रको विकासमा ककसको योगदान महत्वपूर्ण रहेको यहाँलाई लाग्छ ?
पत्रकारिता क्षेत्रमा पुराना पत्रकारहरु मणीन्द्रराज श्रेष्ठ, गोपालदास श्रेष्ठ, गोविन्द वियोगी, मणिराज उपाध्याय, मदनमणि दीक्षित, भारतदत्त कोइराला, मनरञ्जन जोशी आदिको विभिन्नरुपमा योगदान रहेको छ ।
१४. अहिलेको नेपाली मिडियाको भूमिकाबारे यहाँको मूल्याङ्कन कस्तो छ ? पहिलेको तुलनामा केही फरक आएको छ कि ?
अहिले मिडियाका बहुस्रोत छन् । मिडियाबाट नै विभिन्न काण्डहरु उजागर हुने भएकाले मिडियाको ठूलो भूमिका छ । मिडियालाई नियन्त्रण गर्ने प्रवृत्ति पनि बढ्दो छ ।
१५. विगतमा विश्व सूचना प्रणाली कस्तो थियो ? यो कसरी परिवर्तन हुँदै आयो ? हाम्रो जस्तो देशमा समाचारलाई विश्वसनीय बनाउन के गर्नुपर्छ ?
सन् १९७०–८० को दशकतिर सूचना प्रवाह एकतर्फी मात्र थियो । विकसित देशबाट अविकसित देशतिर सूचना आउँथ्यो । युनेस्कोले नयाँ अभियान चलायो । त्यसपछि म्याक्ब्राइड कमिशन गठन भएपछि ‘मेनी भ्वाइसेज वान वल्र्ड’ को रिपोर्ट आयो । मैले पनि नयाँ विश्व सूचना प्रणालीका लागि प्रयास गरेँ । मेरो मान्यता मिडिया स्वतन्त्र हुनुपर्छ, अनुदान दिँदैमा मिडियामा हस्तक्षेप हुनुहुँदैन भन्ने थियो । मैले यही कुरा एपीका भाइस प्रेसिडेन्टसँग पनि राखेको थिएँ ।
युनेस्कोको रिपोर्टलाई अमेरिकाले विरोध गरेको थियो र यही निहुँमा युनेस्को नै छाड्यो तर पछि पुनः संलग्न भयो । अहिले पनि सूचना अव्यवस्था छँदैछ । कुसूचना, अफवाह आदिबाट संसार पीडित छ । अमेरिकामा पनि नाइट मिडिया फोरम गठन भएको छ । यस्तो बेला पत्रकारका लागि युनेस्कोको जस्तो ह्याण्डबुक चाहिन्छ । प्रविधि, मिडिया र राजनीतिले गर्दा कुसूचना व्याप्त छ । गलत समाचार प्रसारण हुने सम्भावना छ । युनेस्कोको जस्तो ह्याण्डबुक हामीलाई पनि आवश्यक छ । डिजिटल र सोसल मिडियासँग कसरी लड्ने थाहा हुनु आवश्यक छ । सबैमा मिडिया लिटरेसी हुनुपर्यो । तथ्य जाँच विधि हुनुपर्यो । सूचना यस्तो हुनुपर्यो जसलाई जाँच गर्न सकियोस् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस