अर्थ संसार, काठमाडौं–  उपत्यकाको सडक सुधारका लागि सरकारले कार्यदल बनाएर अध्ययन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको नेतृत्वको टोलीले समग्र सडकको अवस्थाका बारेमा अध्ययन गरी त्यसको सुधारका लागि कार्ययोजना बनाउनेछ । 
 
कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, सडक विभागका निर्देशक शिवहरि सापकोटा, महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक, काठमाडौँ महानगरपालिकाका सहरी विकास महाशाखा प्रमुख उत्तर रेग्मीलगायतका सदस्य रहनुभएको छ ।
 
 कार्यदलले केही समयभित्रैमा काठमाडौँका सबै सडकको अवस्था बुझेर अब सरकारले गर्नुपर्ने कामको योजना बनाउने सडक विभागका निर्देशक शिवहरि सापकोटाले बताउनुभयो । विभिन्न सडकमा पैदलयात्रु मार्ग (फुटपाथ)को अवस्था, आकाशेपुल, सडक बत्ती, सडक पार गर्ने ठाउँ(जेब्राक्रसिङ) लगायतका पूर्वाधारका बारेमा अनुगमन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक र त्यहाँ रहेका पूर्वाधारको अवस्थाका बारेमा समग्र जानकारी लिएर त्यसकै आधारमा अघि बढिनेछ ।”
 
सडक निर्माण र सुधारका क्षेत्रमा कार्यरत वा सडकसँग प्रत्यक्ष वा परोक्ष सम्बन्धित निकायका प्रतिनिधि रहेको कार्यदलले सडक सुधारका लागि कार्ययोजना बनाउने बताइएको छ । सडक स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणका लागि रहेका कानूनीलगायतका अवरोधसमेत हटाउने योजना छ । कार्यदलमा रहेका निकायहरुले आगामी दिनमा कसले के गर्ने भन्नेसमेत तय हुने निर्देशक सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी केही दिनदेखि नै स्थलगत अध्ययन गर्नेछौँ ।”
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस