अर्थ संसार, काभ्रेपलाञ्चोक-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरुको भएको बताउनुभएको छ । उहाँले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’ हरुको नभएको जिकिर गर्नुभयो । 
एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उहाँले वर्तमान सरकार देशभक्त, न्यायप्रेमी जनताको सरकार भएको बताउनुभयो ।
 मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामी कसैको एक इञ्च पनि जमीन मिच्न जाँदैनौँ, हाम्रो धर्तीको जमीन पनि कसैलाई दिँदैनौँ, बुझाउँदैनौँ, यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो ।” सरकारले कसैलाई अन्यायपूर्ण व्यवहार नगर्ने बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपालीलाई कसैले अपमान र धक्का पुग्ने काम गर्छ भने सहने छैनौँ ।” उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा अघि बढ्न राष्ट्रिय सहमति प्राप्त भइसकेकाले कूटनीतिक र राजनीतिक प्रयासलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो ।  
मन्त्री बाँस्कोटाले सुस्ताको विषय पनि बाँकी रहेकाले सरकारले क्रमैसँग कूटनीतिक र राजनीतिक प्रयास जारी राख्ने दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “सुस्ताको विषय पनि बाँकी नै छ, यी समस्या समाधान गर्न समय लाग्छ ।” कालापानी, लिपुलेक र लिम्पियाधुराका देखिएका समस्याको समाधान कूटनीतिक र राजनैतिक तवरबाट हुने उहाँले प्रष्ट पार्नुभयो । उहाँले जनताको चिन्ता र चासोप्रति सरकारको एक्यबद्धता रहेको बताउनुभयो । 
 “हाम्रो देश कसैको उपनिवेश भएन, नेपाल कसैसँग हारेन र कसैको दास बनेन”, उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले आजै एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थलीमा नवनिर्मित अरुणोदय माध्यमिक विद्यालयको भवन उद्घाटन गर्नुभयो । 
सो अवसरमा उहाँले वर्तमान सरकारको प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार शिक्षा र स्वास्थ्यमा नीतिगत परिवर्तनको प्रयासमा छ, यसपछि सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुँदै जानेछ ।” उत्पादन प्रणालीलाई शिक्षासँग जोड्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । 
कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरलगायतले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा स्थानीयको तहको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभएको थियो । 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस