अर्थ संसार, काठमाडौं- गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो । पारिवारिक निजी वन सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै आर्थिक समृद्धि ल्याउन प्राकृतिक सोतसाधनलाई उपयोग गरिने तयारी छ भन्नुभयो ।
सङ्घ केन्द्रीय अध्यक्ष जोगराज गिरीले वनमा काठ सडेर जाने र विदेशबाट ठूलो धनराशिको काठ पैठारी हुने गरेको अवस्था रहेको चर्चा गर्दै आयात घटाउन उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार निजी वनअन्तर्गत मुलुकका १३ लाख घरधुरीले पाँच लाख ३२ हजार ९९२ रुखको व्यवस्था गर्दै आएका छन् । वनबाट १६ करोड क्यूफिट काठ उत्पादन गर्दै १५ लाख युवालाई रोजगार प्रदान सकिने सम्भावना रहेको जनाइएको छ ।
सङ्घ तदर्थ समितिका संयोजक खुमप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल केन्द्रीय सदस्य प्रेम लामिछाने, महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, मानवअधिकारकर्मी राजेश पराजुली, गैसस प्रदेश अध्यक्ष गोपाल खड्कालगायतले सर्वसुलभ वन पैदावार निकासी व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो । अधिवेशनमा गण्डकी प्रदेशका विभिन्न १० जिल्लाका १०० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता थियो । 
नयाँ कार्यसमितिको अध्यक्षमा ठकुरी 
सोही अधिवेशनले जीवनविक्रम ठकुरीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । चारवर्षे कार्यकाल रहेको सो  समितिको उपाध्यक्षमा लुना थापा मगर, सचिव सन्तु सुवेदी, सहसचिव दमनबहादुर गुरुङ, कोषाध्यक्षमा दुर्गाप्रसाद पराजुली रहनुभएको छ ।
समितिको सदस्यमा काविता अर्याल, हरिप्रसाद शर्मा, रत्ना भण्डारी, देवी विष्ट, वमबहादुर थापा, लीला दवाडी, ईश्वरीप्रसाद भुसाल, ईश्वर वानियाँ, गोपालकृष्ण भण्डारी, भरत कट्टेल, रश्मी बानियाँ, शम्भु थापा, दीपा अधिकारी, रमेश बानियाँ, गीता अधिकारी, सुभित्रा बास्याल, विष्णु गुरुङ चयन हुनुभएको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस