Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार पनि वर्षा र हिमपात,विशेष सतर्कता अपनाउन आग्रह

अर्थ संसार

शुक्रबार, २७ मंसिर २०७६, २० : १६ मा प्रकाशित

शनिबार पनि  वर्षा र हिमपात,विशेष सतर्कता अपनाउन आग्रह

अर्थ संसार, काठमाडौं-पश्चिमी न्यून चापीय वायुको प्रभावले शुक्रबारब देशैभर वर्षा भएको छ । पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै धनगढीमा ६४, नेपालगञ्जमा ५५, डडेलधुरामा ४३, वीरेन्द्रनगरमा ४१ र दिपायलमा ३२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २२, जुम्लामा १८, भैरहवामा नौ, ओखलढुङ्गा र दाङमा समान पाँच तथा काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ ।

शुक्रबार काठमाडौँ उपत्यकासहित मुलुकभर वर्षा भएको छ । उपत्यकामा वर्षा र उच्च पहाडमा हिमपातसमेत भएकाले आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाका नगरकोट, फुलचोकी, चम्पादेवी, चन्द्रागिरिलगायत क्षेत्रमा हिमपात भएको छ ।

पश्चिमी क्षेत्रका जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

 यसैबीच मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै हाल देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भइरहेको जनाएको छ । साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । काठमाडौँमा अहिले हल्का वर्षा भइरहेको छ । अपराह्नदेखि पानी पर्न शुरु भएको थियो ।

राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा साथै पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाइएको छ । मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने छ । आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानका साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम आठ र अधिकतम तापक्रम ११ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको