नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कोट अर्बम र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार मन्त्रालयमा भएको उक्त भेटमा द्विपक्षीय सहयोग, कानूनी सुधार तथा लगानी प्रवर्द्धनका विविध विषयमा विस्तृत छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ।
भेटका क्रममा कार्यवाहक राजदूत अर्बमले नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने प्रयासको प्रसंशा गरे। साथै, यस्ता नीतिगत सुधारहरूले अमेरिकी र अन्य विदेशी कम्पनीहरूलाई नेपालमा लगानी गर्न थप आकर्षित र उत्साहित बनाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
मन्त्री गौतमले अमेरिकी सरकारसँग पारस्परिक कानूनी सहायता सम्बन्धी विषयमा आवश्यक पूर्वतयारी मन्त्रालयबाट पूरा भइसकेको जानकारी दिँदै उक्त प्रक्रियालाई छिटो टुंगोमा पुर्याउनुपर्ने आवश्यकता औंल्याइन् । उनले दुई देशबीच न्यायिक तथा कानूनी सहकार्य विस्तार गर्न नेपाल तयार रहेको सन्देश पनि दिएकी छन् । भेटमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लगानी प्रवर्द्धन तथा पूर्वाधार विकाससँग सम्बन्धित कानूनी सुधारका विषयमा समेत छलफल भएको थियो । दुवै पक्षले समयानुकूल कानुन निर्माणमार्फत यी क्षेत्रलाई अझ प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका छन् ।
त्यसैगरी, न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले देशका तीनै तहका कानुनलाई एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने गरी गरिरहेको डिजिटाइजेसन कार्यबारे मन्त्री गौतमले जानकारी दिइन् । उनले कानूनी सेवा डिजिटल रूपान्तरणमार्फत नागरिकलाई सहज र छरितो सेवा दिने लक्ष्य रहेको उल्लेख गरिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस