Like us!
Follow us!
Connect us!
Watch us!

यात्रु बोक्ने निजी सवारी साधन कारवाहीमा

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, १६ : ५७ मा प्रकाशित

यात्रु बोक्ने निजी सवारी साधन कारवाहीमा

अर्थ संसार, काठमाडौं – काठमाडौंको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ । सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउने कानूनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने १४ निजी सवारी साधनलाई कारवाही गरेको छ । निजी नम्बर प्लेटका सवारी साधनले नयाँ बसपार्कबाट यात्रुलाई उपत्यकाका विभिन्न ठाउँमा पुर्याएर भाडा लिँदै आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सूचनाका आधारमा १४ सवारी साधनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “अहिले सम्झाई बुझाई गरेर छाडेका छौँ, आगामी दिनमा पनि निजी नम्बर प्लेटका सवारी साधनले यात्रुसँग भाडा लिएको थाहा पाएमा कानूनबमोजिम कारवाही गर्नेछौँ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले गैरकानूनी रुपमा निजी सवारी साधनले यात्रु बोक्न नपाइने बताउनुभयो । “अवैधानिक, गैरकानूनी रुपमा चलेका यस्ता सवारी साधनलाई तत्काल रोक्न हामी सरकारलाई माग गर्दछौँ”, उहाँले भन्नुभयो ।

निजी सवारी साधनले यात्रु बोके यात्रु बोक्नका लागि दर्ता भएका सार्वजनिक सवारी साधनले के गर्ने ? उहाँले प्रश्न गर्नुभयो । यसअघि पनि गैरकानूनी रुपमा टुटल तथा पठाओले यात्रु बोक्दै आएका थिए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार प्रयोजन विपरीत सवारी साधन चलाए रु दुई सयदेखि एक हजार जरिवाना हुने व्यवस्था छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको