अर्थ संसार, काठमाडौं – देशले एक्काइसाैँ शताब्दीमा पाइला टेकेपनि पाल्पामा दलितमाथिको विभेदमा खासै परिवर्तन नआएको सरोकारवालाले बताएका छन् । बेस नेपालका सञ्जु परियारले गाउँमा पुग्दा अझै पनि कतिपयको घरमा खाना खाए भाँडा बाहिरै घाममा सुकाएर मात्रै भित्र प्रयोगमा ल्याउने चलन कायमै रहेको बताइन् ।
नेपालको संविधानमा नै दलित र गैरदलितबीचको विभेद गर्न नपाइने उल्लेख भए पनि गाउँमा दलितबीच पनि पानी बाराबारको स्थिति भएको दलित समन्वय समिति रामपुरका सल्लाहकार दिलबहादुर कौसीको भनाइ छ ।
“कुनै एउटा दलितले भोजमा खाना पकाए, अर्को दलितलाई त्यही खाना नचल्ने प्रवृत्ति गाउँमा छ, कसरी समान छ भनाैँ”, कौसीले भने । पहिले पहिले दलित समुदायका नागरिकसँग छोइए मात्रै पनि सुनपानी छर्केर घरभित्र पस्ने र उनीहरुले खाना खाएका भाँडामा आगो पानी राख्ने र माझेर नसुकाउँदासम्म घरभित्र नलैजाने प्रवृत्ति केही कम भए पनि गाउँघरमा हुने विभेद भने अझै पनि रहेको समन्वय समिति रामपुरका सचिव सञ्जु परियारको बुझाइ छ ।
“अहिले पनि राजनीतिक र सामाजिक संरचनामा विभेद कायमै छ”, उनले भने । गाउँघरका मठमन्दिरमा पूजा गर्न, समाजका धेरै दलितका भोजमा गैरदलितका नागरिकले सहजै खाना खाने गरेको रामपुर नगरपालिका न्यायिक समितिका सदस्य पार्वती परियारले बताए । उनले गाउँघरमा आफूले दलितको निम्ति गरिने विभेद कम भएको महसुस गरेको सुनाए। रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले आफूले कार्यालयमा समेत दलित महिलाबाटै बनाएको चिया पिउने गरेको बताएका छन् ।
समाजमा दलित र गैर दलितका बीचमा विभेद गरेको आफूलाई पटक्कै मन नपर्ने भन्दै नगरप्रमुख थापाले कुनै घरमा दलित र गैर दलितका छुट्टाछुट्टै भान्सा भए पनि आफूले दलितको भान्सामा खाना खाने गरेको बताए । समाजमा महिला र पुरुष मात्रै दुई जात हुने भन्दै उनले कुनै मानिस दलित नभएको समेत स्पष्ट पारेका छन् ।
उनले कुनै समयमा कसैले दिएको खानैपर्छ भन्ने होइन, तर सफा छ, दलित र गैर दलीत जसले पकाएको खान पनि मलाई अप्ठ्यारो लाग्दैन नगरप्रमुख थापाले भने । पाल्पाको रामपुर नगरपालिकासँगै जिल्लाको यम्घा, भुवनपोखरी, ख्याहा, छहरा क्षेत्रमा दलित समुदायको बाक्लो बस्ती रहेको र ती क्षेत्रमा अझै पनि धारा पधेंरामा छुवाछूतप्रथा कायमै रहको दलित अभियन्ता कृष्ण दर्नालले बताए । पाल्पामा करिब ३५ हजार जनसङ्ख्या दलितको छ । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस