सिड्नी-डढेलोको खतरा अझै पनि कम नभएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकालको घोषणा गरिएको छ ।
प्रसिद्ध शहर सिड्नी रहेको अष्ट्रेलियाको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता अहिलेको भन्दा थप तापक्रम बढ्ने र वेगका साथ हावा चल्ने पूर्वानुमान त्यहाँको मौसम विज्ञान विभागले गरेको छ । तापक्रम र हुरी चल्ने पूर्वानुमानपछि डढेलोको खतरा अझै बढ्ने खतरालाई मध्य नजर गर्दै शहरी क्षेत्रका हजारौँ मानिस भागेर समुद्री किनारामा पुगेका छन् ।
अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म कम्तीमा १८ जनाको मृत्युभएको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा एक हजार ३०० भन्दा बढी घर पूर्णरूपमा जलेका बताइएको छ । डढेलोको खतरा बढेसँगै यो हप्ता मात्रै कम्तीमा १७ जना मानिसहरू हराइरहेका वा परिवार र साथीको सम्पर्कमा आउन नसकेको बताइएको छ ।
अहिलेसम्म डढेलोका कारण कम्तीमा ५५ लाख हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कुल क्षेत्रफलभन्दा बढी भएको बताइएको छ ।
यस वर्ष अस्ट्रेलियामा गर्मी अत्यधिक महशुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनमा देशका सबैजसो राज्यमा तापक्रम करिब ४० डिग्रीको वरपर पुगेको छ ।
गत हप्ता मात्र डढेलोले सयौँ घरमा क्षति पु¥्याएपछि न्यू साउथ वेल्स सरकारले एक हप्ताका लागि सङ्कटकाल घोषणा गरेको छ ।सङ्कटकाल शुक्रवारदेखि सात दिन रहने बताइएको छ ।
बढ्दो तापक्रम वृद्धिसँगै मुलुकका अधिकांश क्षेत्रमा वेगसाथ हावाहुरी आउनसक्ने अनुमानसँगै राजधानी क्यानवेरामा पनि ‘डढेलोको खतराबाट एक हप्ता सावधानी अपनाउन विपत् सेवा निकायले आग्रह गरेको छ । यद्यपि राजधानी शहर रहेको प्रान्तमा अहिलेसम्म ठूलो डढेलो लागेको भने छैन । सम्भावित भवितव्यलाई लिएर क्यानवेरामा उक्त सावधानीको सूचना जारी गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस