अर्थ संसार, काठमाडौं– गैँडाकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा ४८९ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ। नगरपालिकाले अपाङ्गता परिचयपत्र कार्यविधि २०७५ को परिच्छेद २ को दफा ४ बमोजिम परिचयपत्र वितरण गरेको हो।
नगरप्रमुख छत्रराज पौडेलले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र अन्तरराष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवं प्रभावकारी बनाउने गरी नरपालिकाले कार्यविधि बनाएको जानकारी दिनुभयो। बिहीबार मात्रै नगरपालिकाले नगरभित्रका ९३ अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ।
अपाङ्गताको अवस्थाअनुसार नगरपालिकाले रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका परिचयपत्र वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताउनुभयो। नगरपालिकाबाट हालसम्म वडा नं १४ मा सबैभन्दा बढी र वडा नं ९ बाट सबैभन्दा कम अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिएका छन्।
नगरउपप्रमुख विष्णुकुमारी सापकोटाको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेर उनीहरुको अवस्थाअनुसार परिचयपत्र वितरण गर्दै आइएको छ। नगरपालिकाले निर्माण गरेको कार्यविधिअनुसार हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिलाई ‘क’ वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिन्छ ।
यस्तै, निरन्तर अरुको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिलाई ‘ख’ वर्गको परिचयपत्र उपलब्ध गराइन्छ । त्यसैगरी, चश्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्ति, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू समूह ‘ग’ का अपाङ्गता वर्गमा पर्दछन् ।
त्यस्तै, शारीरिक अङ्गमा सामान्य विचलन भएता पनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्न सक्ने, न्यून दृष्टियुक्त व्यक्ति, हत्केलामुनिका कम्तीमा बूढीऔँला र चोरऔँला भएका, खुट्टाको औँलाका भाग नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्ति, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई ‘घ’ वर्गमा राखेर नगरपालिकाले कार्यविधि निर्माण गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस