Like us!
Follow us!
Connect us!
Watch us!

फेसबूकको शेयर अहिलेसम्मकै उच्च विन्दुमा

अर्थ संसार

आइतबार, २७ पुस २०७६, १० : ०८ मा प्रकाशित

फेसबूकको शेयर अहिलेसम्मकै उच्च विन्दुमा

अर्थ संसार, सान फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबूकको शेयर मूल्य अहिलेसम्मकै उच्च विन्दुमा उक्लिएको छ । शुक्रवार इन्ट्राडेको कारोबारमा शेयर मूल्य प्रतिकित्ता शून्य दशमलव ७२ प्रतिशतले बढेर २१९ डलर ८८ सेन्टमा पुगेको थियो । यो अहिलेसम्मकै उच्च हो । यद्यपि, बजार बन्द हुँदा भने शेयरमा वृद्धि अघिल्लो दिनको तुलनामा शून्य दशमलव ११ प्रतिशत मात्रै थियो ।

बिहीवार पनि बजार बन्द हुँदा शेयर मूल्य कीर्तिमानी उचाईमा पुगेको थियो । यस्तो रेकर्ड यस अघि सन् २०१८ को जुलाई २५ मा मात्रै देखिएको थियो । तर त्यसको एक दिन पछि सन् २०१८ को जुलाई २६ मा भने कम्पनीले अनपेक्षित रुपमा मुनाफा मार्जिन खुम्चिरहेको चेतावनी दिएपछि भने फेसबुकको शेयर मूल्य १९ प्रतिशतले घटेको थियो । त्यति बेला कम्पनीले प्रयोगकर्ताको तथ्यांकको सुरक्षा नगरेको र झुट्टा समाचार प्रवाहमा तीव्र वृद्धि भएको भन्दै कम्पनीको निकै आलोचना भएको थियो ।

केही बजारमा प्रयोगकर्ताको संख्यामा वृद्धि सुस्ताएको खबरले पनि फेसबूकको भविष्यबारे अन्यौल छाउँदा शेयर प्रभावित भएको थियो । तर पछिल्लो पटक शेयरमा देखिएको प्रदर्शनले भने कम्पनी सो ऐतिहासिक कमीबाट विस्तारै उब्रिदैं आएको आशा बढाएको छ ।

शुक्रवारको कारोबारमा फेसबूकसहित अमेजन, अल्फाबेट र नेटफ्ल्क्सिको शेयर मूल्य पनि बढेका थिए । फेसबूकले आफ्नो प्रतिष्ठा पहिलाकै स्तरमा ल्याउन संघर्ष गरिरहेको भएपनि कम्पनीहरुले यसको विज्ञापन मञ्च प्रयोग गर्न भने छाडेका छैनन् । यस वर्ष कम्पनीको आम्दानी २६ प्रतिशतले बढ्ने अपेक्षा रिफिनिटिभले गरेको छ ।

पछिल्लो समय ‘काम  गर्नका लागि उत्कृष्ट स्थल’मा पनि फेसबूकको वरियता खस्किएको छ । ग्लासडोरको सो सूचीमा एक वर्ष अघि सातौं स्थानमा रहेको फेसबुकको सन् २०२० को सूचिमा भने झरेर २३ औं स्थानमा समेटिएको थियो । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको