अर्थ संसार, काठमाडौ- ओमनका सुल्तानको निधनप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो समवेदना व्यक्त गर्नु भएको संयुक्त राष्ट्रसंघका प्रवक्ताले शनिबार जानकारी दिनु भएको छ। ‘ओमनका सुल्तान काबोस बिनको मृत्यु भएकोमा गहिरो शोक व्यक्त गर्दछौं,” गुटर्रेसका प्रवक्ता स्टेफेन दुजारिकले एक विज्ञप्तिमार्फत बताउनु भएको छ।
सुल्तानको नेतृत्व बारे प्रकाश पार्दै उहाँले सुल्तानले ५० वर्ष ओमनको नेतृत्व गर्दा ओमनलाई समृद्ध र स्थिर मुलुकमा रूपान्तरण गराउनु भएको उल्लेख गर्नुभएको छ। ओमनका सुल्तान काबोस बिनको ७९ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो।
आधुनिक अरबी देशका शासकमध्ये उहाँ धेरै समय शासन गर्ने शासकमा पर्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उहाँले सन् १९७० देखि अहिलेसम्म झण्डै ५० वर्ष ओमनमा शासन गर्नुभएको हो। उहाँले आफ्नै पितालाई अपदस्त गरेर शासन लिनुभएको थियो।
उहाँ केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइरहनु भएको थियो। क्यान्सरकै कारण अहिले उहाँको निधन भएको बताइएको छ। उहाँ अविवाहित भएकाले कुनै छोराछोरी नभएको र उहाँका नातेदारलाई उत्तराधिकारी तोकिएको छ। पारिवारिक बैठकबाट उहाँकै नाता पार्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रुपमा छनौट गरिएको छ।
“हैथाम बिन तारिकलाई देशको नयाँ सुल्तानका रुपमा सपथग्रहण गराइएको छ,” सरकारी अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। ओमनको संविधानमा एक जना शासकको निधनभएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था रहेको जनाइएको छ।
अधिकांश विश्लेषकले काबोसका अर्का नातेर असद बिन तारिकलाई नयाँ सुल्तानका रुपमा हेरेका थिए। सन् २०१९ मा उहाँलाई उपप्रधानमन्त्री तथा अन्तरराष्ट्रिय सम्वन्ध र सहकार्य मामिला मन्त्रीमा नियुक्त गरिएकाले त्यतिबेलादेखि नै उहाँलाई भावी सुल्तानका रुपमा हेरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस