अर्थ संसार, काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले विभिन्न देशका नेताहरुसँग कुराकानी गर्नुभएको छ। उहाँले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग युएईको राजधानी अबुदाबीमा भेटेर आइतबार कुराकानी गर्नुभएको हो। भ्रमणका लागि आउनु भएका विडोडोलाई स्वागत गर्दै उहाँले विभिन्न विषयमा कुराकानी गर्नुभएको अधिकारीहरुले जनाएका छन्।
“आज मैले इन्डोनेसियाका राष्ट्रपति तथा मेरा साथी जोको विडोडोलाई स्वागत गर्दै दुई पक्षीय कुराकानी गरेका छौँ,” युवराज शेख मोहम्मदले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ। उहाँले साझा चासो र दुई पक्षीय हितका बारेमा पनि कुराकानी गरेको सामाजिक सञ्जालमार्फत् नै जानकारी दिनुभएको छ।
विषेशगरेर अर्थतन्त्र, लगानी, व्यापार र विकासका क्षेत्रका साथै दुई देशको मित्रतालाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको उहाँले बताउनु भएको छ । त्यसैगरी उहाँले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग पनि आइतबार नै कुराकानी गर्नुभएको छ । फ्रान्सका राष्ट्रपतिसँग भने उहाँले टेलिफोनमा कुराकानी गर्नुभएको हो।
“मैले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग फोनमा कुराकानी गरेको छु, मलाई उहाँले फोन गर्नुभएको थियो,” उहाँको आधिकारिक ट्वीटर हेन्डलमा लेखिएको छ । उहाँले फ्रान्सका राष्ट्रपतिसँग पनि सहकार्यमा जोड दिदै आपसी सहयोग र सम्वन्ध विस्तारकै बारेमा कुराकानी भएको बताउनुभयो।
साथै महत्वपूर्ण क्षेत्रीय विषय, अन्तर्राष्ट्रिय विकासलगायतका विषयमा पनि आफूहरुले छलफल गरेको युएईका युवराजले उल्लेख गर्नुभएको छ। “हामीले हाम्रा साझा चासो र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा र स्थायित्वका बारेमा कुराकानी गरेका छौँ,” युएईको सुरक्षा निकायको सर्वोच्च उपकमाण्डर समेत रहनु भएका शेख मोहम्मदले ट्वीटरमा लेख्नु भएको छ।
उहाँले यसअघि गत शनिबार नै रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनसँग पनि विविध विषयमा छलफल गर्नुभएको थियो। उहाँहरुका बीचमा पनि विकसित पछिल्लो घटनाक्रम, दुई पक्षीय सम्वन्ध र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा तथा चासोका विषयमा कुराकानी भएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस