Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाको त्रास : भाइरसबाट चीनमा ३०४ को मृत्यु

मिलन खड्का

आइतबार, १९ माघ २०७६, १४ : ०५ मा प्रकाशित

कोरोनाको त्रास :  भाइरसबाट चीनमा  ३०४ को मृत्यु

अर्थ संसार, बेइजिङ-  चीनको उहानबाट फैलिएको कोरोना भाइरस चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।  

चीनमा मात्र १४ हजारमा संक्रमित भएको छ भने विश्वका २४ मुलुकमा देखा परेको छ । तेस्तै कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । 

कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाई गरिसके पनि  विश्वका २४ मुलुकमा भाइरस देखा परेको छ ।

चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको छ, तर भाइरस फैलिन छाडेको छैन । चीन सरकारले उहान समेत धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नुका साथै सवारी साधनहरु बन्द गरेको छ । 

विश्व स्वास्थ्य संगठनले बिहीबार मात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।

मंगोलिया, रसियाले सीमानाका बन्द गरेका छन्, र पपुवा न्यूगिनीले एसियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । 

हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ, तर पूर्ण रुपमा रोकिएको छैन । 

फिलिपिन्समा मृत्यु भएका व्यक्ति पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टी भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीन बाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,” फिलिपिन्सका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रविन्द्र अबेयासिंघेले बताउनुभयो ।

बेलायत, रसिया र स्वीडेनले पनि यस साता कोरोना भाइरसका कारण आफ्ना नागरिक संक्रमित भएको जनाएका थिए ।

चीनमा आइतबारसम्ममा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । अघिल्लो दिनको तुलनामा थप ४५ जनाको मृत्यु भएको हो । चीनमा दुई हजार ५९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कूल संक्रमित व्यक्तिको संख्या १४ हजार ५०० पुगेको छ । 

सन् २००२–३ मा चीनमा फैलिएको सार्सभन्दा कोरोना भाइरसका बिरामी धेरै बढी देखिएका छन् । सार्सका कारण विश्वभर ७७४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मुख्यतः चीन र हङकङका नागरिक थिए ।

व्यक्तिबाट व्यक्तिमा हावाबाट सर्ने भएका कारण यो भाइरस चाँडै फैलिने गर्दछ । त्यहीकारण करिब एक करोड १० लाख जनसंख्या भएको उहानमा जनवरी २३ देखि मानिसको आवातजावतमा कडाई गरिएको छ । उहान शहर हुवेई प्रान्तको राजधानी शहर पनि हो । हुवेई प्रान्तका करिब ५ करोड मानिस अहिले कोरोना भाइरसको त्रासमा बाँचिरहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको