Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय सुरक्षाकर्मीबाट मारिएका गौतमलाई सहिद घोषणा

शुक्रबार, २७ फागुन २०७३, १६ : २२ मा प्रकाशित

भारतीय सुरक्षाकर्मीबाट मारिएका गौतमलाई सहिद घोषणा

अर्थ संसार 
काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको जानकारी  दिए।  

व्यवस्थापिका–संसद्को आजको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै रु दस लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको निःशुल्क पठनपाठन गराइदिने निर्णय भएको पनि जानकारी  दिएका छन् ।

कञ्चनपुर जिल्लाको दक्षिणी सिमाना नजिक आनन्द बजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतका सीमा अधिकारीबीच यही फागुन १० गतेको सहमति विपरीत भारतीय पक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निर्दाेष गोविन्द गौतमको उपचारका क्रममा दुःखद् निधन भएको मन्त्री निधिले अवगत गराए  ।

उनले उक्त अकल्पनीय घटनाबारे गृह र परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी धारणा स्पष्ट पारिसकेको जानकारी दिँदै भारतीय पक्षबाट गोली प्रहार हुनु निन्दनीय भएको बताए । 

सोही विषयमा आफूले प्रधानमन्त्रीको निर्देशनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरी घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको उहाँले जानकारी दिए ।

यस्तै, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पनि स्वराजलाई फोन गरी आइन्दा यस्तो घटना नदोहोर्याउन आग्रह गर्नुभएको र यहाँस्थित भारतीय दूतावासका कार्यबाहक राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाइ ध्यानाकर्षण गराएको पनि बताए । 
मोदीबाट दुःख व्यक्त 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएको सम्बन्धमा दुःख व्यक्त गरिएको जानकारी दिए ।  

भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले टेलिफोन गरी यस्तो सन्देश दिनुभएको पनि निधिले अवगत गराउनुभयो । प्रधानमन्त्री मोदीका तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ ।  रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको