Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा पुन

मंगलबार, २० फागुन २०७६, ११ : १५ मा प्रकाशित

नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा पुन

अर्थ संसार, काठमाण्डौं - मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि रहेका छन् । नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनसँग ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा पुनले सोमबार हस्ताक्षर गरेका थिए ।
 
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाइ दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए । उनले नेपाल बैंक युवा उद्यमीसँग हातेमालो गर्दै देशको समृद्धिका लागि योगदान दिन तयार रहेको बताए ।
 
त्यसैगरी, सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताए । उनले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 
त्यस्तै, जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ । वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्लाको नाङ्गीगाउँमा जन्मेका हुन् । उनले एशियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान पाएका छन् ।
      
त्यस्तै, विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्नरूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंकले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम छ । - रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको