Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ गण्डकीमा

अर्थ संसार

आइतबार, ०२ चैत्र २०७६, ०७ : ५६ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ गण्डकीमा


अर्थ संसार, काठमाडौं -राष्ट्रिय वाणिज्य बैंकले स्नातक तहमा अध्ययरत तथा अध्ययन पूरा गरी बैंकिङ क्षेत्रमा रोजगारीको खोजीमा रहेका युवाका लागि तालिम दिने उद्देश्यले सञ्चालन गर्दै आएको ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ गण्डकीमा पनि सुरु गरेको छ ।
बैंक तथा वित्तीय क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने युवालाई लक्षित गरी सञ्चालित कार्यक्रममा वित्तीय क्षेत्रसँग सम्बन्धित तालिमसँगै उत्कृष्टलाई रोजगारीसमेत व्यवस्था गरिने बैंकले जनाएको छ ।

बंैकले चौथो चरणअन्तर्गत शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी गण्डकीमा कार्यक्रम सुरु भएको जानकारी दिएको हो ।

फाइनान्सियल ट्रेनिङ सेन्टरका रूपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको एकेडेमीबाट युवा वर्गले लाभ लिन सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्सालले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन आइतबारदेखि १० चैतसम्म बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्ने बताइएको छ । गण्डकी प्रदेशअन्तर्गत स्नातक र स्नाकोत्तर उत्तीर्ण कुनै काममा आबद्ध नभएका युवा मात्र तालिममा सहभागी हुन पाउने लम्सालले जानकारी दिए ।

आवेदकमध्ये निश्चित मापदण्डका आधारमा ५० जना तालिममा सहभागी हुन पाउनेछन् । छानिएकालाई १४ चैतदेखि १६ गतेसम्म बैंकिङ क्षेत्रका विविध विषयमा तालिम दिइने बताइएको छ ।

यसअघि बैंकले प्रदेश नम्बर १, बाग्मती र प्रदेश न. २ मा ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । तालिममा सहभागीमध्ये ५० जनालाई निश्चित भत्तासहितको इन्टनर्सिपको अवसरसमेत प्रदान गर्ने बताइएको छ ।

कार्यक्रममा लम्सालले ५५ वर्षको इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गको वृत्ति विकासमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

सम्भवतः नेपालमै पहिलोपटक बैंकले निःशुल्क रूपमा आयोजना गरेको युवालक्षित यस किसिमको रोजगारीउन्मुख तालिमले वित्तीय क्षेत्रमा आउन चाहने युवालाई सहयोग पुग्ने बैकका गण्डकी प्रदेशका प्रमुख ऋषिराम ढकालको भनाइ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको