Like us!
Follow us!
Connect us!
Watch us!

युवाहरु माछा पालनतिर आकर्षित

विहीबार, ०३ चैत्र २०७३, ०९ : २४ मा प्रकाशित

युवाहरु माछा पालनतिर आकर्षित

अर्थ संसार 
पथरी (मोरङ)–वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् । 

विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि जग्गा (धान लगाउँदै गरेको खेत) भाडामा लिएर माछापालन व्यवसाय सुरु गरिएको हो । ती चारमध्ये एकजना चेतन दाहालले भने, “२०७१ सालमा खर्च कटाएर २५ लाख आम्दानी भयो । गत वर्ष रु ६० लाख ।” २०७३ सालमा रु ७५ लाख आम्दानीको लक्ष्य रहेको उनको भनाइ छ । 

सो १५ बिघा जमिनमा धान लगाएको प्रत्येक साल रु १२ लाख आम्दानी हँुदै आएको थियो । खाद्यबालीको तुलनामा तेब्बरभन्दा बढी आम्दानी हुन थालेपछि त्यहाँका किसान माछापालनतर्फ आकर्षित भएका हुन् । उनीहरुको न्यू सगरमाथा नेचुरल फार्मले रु ४० लाखकोलगानीमा १५ बिघा जग्गामा माछापालन सुरु गरेको छ ।

त्यसमध्ये साढे १० बिघा क्षेत्रफलमा जलाशययुक्त १३ वटा पोखरी रहेका छन् । उनीहरुले सञ्चालन गरेको माछा फार्ममा हाल स्थानीय चारजनाले रोजगारी पाएका छन् । बजारमा माछाको माग उच्च भएर धान्न गाह्रो भएको दाहालको भनाइ छ । 

मोरङको पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालीका र दुर्गापुरी र बाहिरबाट आउने व्यापारीलाई माछा दिन नसकेको उहाँको भनाइ छ । हाल पोखरीमा रहु, नैनी, ग्रासकार्प, कमनकार्प, विगहेड, सिल्भर, भाकर र हिलापिया गरी आठ जातका माछा रहेका छन् ।

फार्मका निर्देशक मनोजकुमार गौतमले भने “कृषिमा यान्त्रीकरण सरकारको नारा मात्र बनेको छ । भारतमा माछालाई शत्रुबाट जोगाउन ‘फाँसीजाल’ को प्रयोग हुन्छ, नेपालमा त्यो सामान्य कृषियन्त्र हाम्रो पहुँचमा छैन ।” 

यहाँ रहु र नैनी जातका माछाको माग उच्च रहेको छ । माछाबाट राम्रो आम्दानी लिएको र बजारमा उच्च माग भएको देखेपछि अहिले हसन्दह–२ मौलीबारीका किसान दुई बाली धान हुने खेत मास्दै पोखरी खन्न थालेका छन् । नेत्र बस्नेत, धनबहादुर भट्टराई, सुवास निरौला, जगत भट्टराई र दीपक खड्काले पोखरी खनिसकेका छन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको