Like us!
Follow us!
Connect us!
Watch us!

सम्पूर्ण होटल यथावत् सञ्चालनमा रहने

निशा हुमाँगाई

मंगलबार, ११ चैत्र २०७६, १६ : ११ मा प्रकाशित

सम्पूर्ण होटल यथावत् सञ्चालनमा रहने

अर्थ संसार, काठमाडौं - कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका सबैखाले होटल पनि बन्द छन् ।

होटल एसोशिएशन अफ नेपाल (हान)ले होटल बन्द नगर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा पुनः सञ्चालन गर्ने निर्णय भएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिएका छन् । ‘‘होटललाई बन्द गर्न मिल्दैन’’, उपाध्यक्ष शाहले भने, ‘‘निश्चित कर्मचारी राखेर अन्यलाई सञ्चित बिदामा पठाउने सहमति भएको छ ।’’

आइतबार हानका अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा सङ्घको केन्द्रीय कार्यालयमा केन्द्रीय तीनवटै ट्रेड युनियनबीच भएको सहमतिमा होटलमा रहने कर्मचारीलाई स्वास्थ्यसम्बन्धी आवश्यक मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा प्रबन्ध गरी काममा लगाउने भएको छ । सहमतिअनुसार हाललाई कर्मचारीहरुले प्राप्त गर्ने सञ्चित बिदा तथा सञ्चित बिदा नभएमा अग्रिम बिदामार्फत समायोजन गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

कोरोनाले परेको प्रभावबाट होटल तथा पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव तथा क्षतिको विषयमा हान र ट्रेड युनियनहरुको प्रतिनिधिसहितको संयुक्त प्रतिनिधिहरुले सरकार तथा सम्बन्धित निकायमा होटल तथा होटलमा कार्यरत श्रमिकहरुको लागि आवश्यक पर्ने राहत र सुविधाको विषयमा संयुक्तरुपमा अनुरोध गर्ने सहमति भएको उपाध्यक्ष शाहको भनाइ छ ।

तारे होटलका अत्यावश्यक सेवा यथावत

कोभिड-१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि देशभर लकडाउन गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका होटल क्षेत्र पनि बन्द छन् । राजधानी काठमाडौँ उपत्यकाका पर्यटकीय होटलदेखि तारे होटलले अत्यावश्यक सेवा दिइरहेका छन् ।

सरकारको निर्णय अनुरुप आजबाट लकडाउन भएपनि काठमाडौँका कतिपय तारे होटलले न्यूनतम सेवा उपलब्ध गराइरहेको हानले जनाएको छ । होटलमा रहेका पाहुनालाई न्यूनतम कर्मचारी व्यवस्थापन गरी सेवा दिइरहेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिएका छन् । “भएका पाहुनालाई व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो, त्यो पुरा गरेका छौँ, अत्यावश्यक सेवाका पाहुना पर्यटकलाई विशेष अनुमति लिएर होटलसम्म आवतजावत गर्ने व्यवस्था पनि मिलाएका छौँ”, उनले भने ।

अहिले विशेषगरी अन्तरराष्ट्रिय एयरलायन्सका कर्मचारीलगायत तारे होटलमा बसेका छन् । उनीहरु समान्य अवस्थामा पनि होटलमा बस्नुपर्ने हुन्छ । त्यसबाहेकका केही पर्यटक मात्रै होटलमा छन् । हानका सदस्य होटलमा कमभन्दा कम जनशक्ति व्यवस्थापन गरी सेवा दिने व्यवस्था मिलाइएको छ । लकडाउनको अवज्ञा नहुने गरी होटलको अत्यावश्यक सेवा सञ्चालनमा रहेको हानले जनाएको छ ।

देश पूरै लकडाउन भएपछि स्वभाविक रुपमा होटल बन्द हुन्छन् । मानवीय भावले भएका पाहुनाको सेवा गर्नु कर्तव्य भएकाले आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको उपाध्यक्ष शाहको भनाइ छ । यसअघि मुलुक लकडाउन नभएको अवस्थामा हानले अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित कर्मचारी राखेर सेवा सञ्चालन गर्ने निर्णय लिएको थियो ।

होटलमा रहने कर्मचारीलाई स्वास्थ्यसम्बन्धी आवश्यक मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा प्रबन्ध गरी काममा लगाइएको हानले जनाएको छ । हानको केन्द्रमा ३५० र देशभरका १५ वटा क्षेत्रीय च्याप्टरमा आवद्ध गरी करिब तीन हजार पर्यटकस्तरीयदेखि पाँचतारे होटल छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको