अर्थ संसार, काठमाडौं - ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताएका छन् ।
सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पारेका हुन् । ‘लकडाउन’ को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वभाविक भएको उनले बताए । आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुने उनले जानकारी दिएका छन् ।
यसैगरी, सामाजिक संजालहरूमा आइरहेको यस समाचारकाे सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति‘ ले समेत गंभीर ध्यानाकर्षण गरेको छ । समितिका संयोजक ईश्वर पोखरलले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएका समाचारमा कुनै पनि सत्यता नभएको उल्लेख गरीएकाे छ ।
“यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा सार्वजनिक सञ्चारमाध्यम खास गरी सामाजिक सञ्जालमा आइरहेका सन्दर्भमा समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खुला गर्ने विषयमा किसिमको कुनै निर्णय नभएको र सङ्क्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी लकडाउनलाई जारी राखिएको बताइएको छ ।
त्यसैगरी, “प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीररूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौँ”, विज्ञप्तिमा भनिएको छ, “यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकले पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस