अर्थ संसार, काठमाडौं - नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार सङ्कलनका लागि आज बिहान चितवनको भरतपुरस्थित चौवीसकोठीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको महासङ्घले जनाएको छ ।
पत्रकारद्वयले परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले दुर्व्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टाइनमा लगेर खिचिएको फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारीसाधन र सञ्चार साधनसमेत नियन्त्रणमा लिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
यसैगरी, महासङ्घका महासचिव रमेश विष्टले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमको ख्याल नगरी अग्रपंक्ति रहेर नागरिकलाई सुसूचीत गराउने पेशागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुको सट्टा प्रहरीबाट गरिएको व्यवहार खेदजनक भएको उल्लेख गरेका छन् ।
त्यस्तै, महासङ्घले घटनामा संलग्न प्रहरीमाथि कारवाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी, पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्यसमितिका सदस्य तथा दैलेखस्थित नागरिक दैनिकका सम्वाददाता गोविन्द केसीलाई समाचार लेखेकै कारण दिएको धम्कीको घटनाप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ । नारायण नगरपालिकाको राहत सामग्री खरिदमा अनियमिततासम्बन्धी समाचार केही दिनअघि नागरिक दैनिकमा प्रकाशित भएपछि पत्रकार केसीलाई धम्की दिइएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस