अर्थ संसार, काठमाडौं - धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज आयोजना गरेको श्रव्य दृश्य (भर्चुअल) अन्तरबोर्डका अध्यक्ष भिष्मराज ढुंंगानाले लकडाउन खुलेको केही समयभित्रै शेयर बजार सञ्चालनमा आउने जानकारी दिएका छन् ।
उनले लकडाउन अन्त्य भएको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागू गरिने प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि नेप्से र बोर्ड नै लागिपरेको बताएका छन् ।
नेपालमा लागू गरिएको अनलाइन कारोवार प्रणाली पूर्ण नभइ आधामात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम शुरु गरिएको उनको भनाइ छ ।
वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा थोरै समयको कारोबार गर्ने पक्षमा लागेको र त्यसको अवधारणका बारेमा छलफल जारी रहेको उनको भनाइ छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि यही वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा स्टक रहेको बताएका छन् । लकडाउनको अवधिमा पनि बजार कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिँदै उनले बजार खोल्नुपर्ने पक्षमा आफूहरु क्रियाशील रहेको उल्लेख गरेका छन् ।
उनले बजारमा उल्लेख्य कारोबार भएको दिन ४५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनमार्फत भएको जानकारी गराउँदै उनले विद्यमान प्रणालीमा थप सुधार गरेर जाने धारणा राखेका छन् ।
नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलले कारोबारको समय र सर्किट ब्रेकरको सीमा घटाएर कारोबार अघि बढाउन सुझाव दिएका छन् । लामो समय बजार बन्द हुँदा नेपालको र अन्तर्राष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने भएकाले आवश्यक ध्यान दिन उनले आग्रह गरेका छन् ।
स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले बजार बन्द हुँदा सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाँडो बजार खुलाउनुपर्नेमा जोड दिएका छन् । नेपालको शेयर बजारका जानकार डा.गोपाल भट्टले आवश्यक योजनासहित बजार खोल्नुपर्नेमा जोड दिए । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस