अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २ जनामा काेराेना संक्रमण रहेकाे पुष्टि गरेकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटका २४ र ३५ वर्षीय दुईजना पुरुषमा कोरोना पोजेटिभ भेटिएको जानकारी दिएका हुन् । उनीहरु दुवैजना भारतबाट नेपाल आएका हुन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।
त्यसैगरी, हालसम्म ५४ हजार ८ सय २६ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, १० हजार ८ सय ७ जनाको पिसिआर विधिबाट र ४४ हजार १९ जनाको र्यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्र एक हजार १९३ जनाको परीक्षण गरिएकाे हाे ।
यस्तै, उनले हालसम्म २२ हजार ९९ जनालाई क्वारेन्टाइनमा राखिएको बताए ।साथै, काठमाडौं उपत्यकामा ४ जना र बाहिर १०३ जना गरी कुल १०७ जना आइसोलेसनमा रहेका छन् ।
त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका ५४ जना संक्रमितमध्ये १६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी ३६ जना संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । जसमध्ये कोशी अस्पतालमा ३१ जना, नारायणी अस्पतालमा ५ जना, भरतपुर अस्पताल र धनगढीमा एक एक जना उपचाररत रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा ३०९ जना रेड जोनमा रहेका जानकारी दिएकाे छ । जसमध्ये २४ घण्टामा ५ जना रेड जोनमा परेका छन् । रेड जोनमा पर्नेहरुको ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस