Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे

बुधबार, १४ जेठ २०७७, ११ : ४४ मा प्रकाशित

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे

अर्थ संसार काठमाडाैं - जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले यस महामारीकाे अवस्थामा सामाजिक सञ्जालमा विभिन्न ज्ञानका कुराहरू बाँडिरहेका छन् । लकडाउन खोलेर जनजीवन कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा बाेलेका छन् । 

कुरो धेरै बर्ष अघिको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो । अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने । यो विधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ हो । यो प्रभावकारी छ तर लामो समयको लागि सम्भव छैन । जसरी परिवार नियिजनका प्राकृतिक बिधि तथा अस्थायी साधन अनेक छन् त्यसै गरि कोरोना संक्रमण नियोजन गर्न थुप्रै उपाय छन् । कोरोना बिरुद्धको खोपलाई संक्रमण नियोजनको स्थायी उपाय अर्थात भ्यासेक्टोमी, ल्यापेरेस्कोपी ( ट्युबल लिगेसन ) को रुपमा बिम्ब दिन सकिन्छ ।

विश्वव्यापी महामारीको रुपमा बिगत ५ महिनादेखि संसारलाई ठप्प पारेको कोरोना संक्रमणबाट नेपाल अछुतो रहने सबाल थिएन । विश्वग्रामको यो युगमा अन्य देशको अवस्था देखेर हामी यति भयातुर भयौं कि दोस्रो केस देखिने बित्तिकै हामीले लकडाउन गर्यौं । निश्चय नै त्यो लकडाउनको कारण कोरोना भाइरस हवाइजहाज चढेर नेपाल आउन पाएन, आएको भएपनि घरभित्र थुनिंदा निसास्सिएर मर्यो, त्यो निर्जीव भाइरस । लकडाउनको कारण प्रचार भयो, प्रसार हुन पाएन ।

भारतसंग खुला सिमानाको कारण सुरुमा भारतीय नागरिकमा देखिएको कोरोना संक्रमण पछि गएर सिमानामा प्रेसर बढेपछि ह्वारह्वार्ती भित्रिन थाल्यो । यो क्रम बढिरहेको छ, अझै बढ्नेछ ।

संसारका जल, थल तथा नभमा रहेका पृथ्वी ध्वस्त गर्ने क्षमता रहेका हतियार एवम कमाण्डोहरू अहिले आँखाले देख्न नसक्ने नाथे भाइरससँग माघको जाडोमा जस्तै थुरथुर कामिरहेका छन् । लाखौँ व्यक्तिको निधन भएको छ भने विश्व अर्थतन्त्र धरासायी भएको छ, बीसौं करोड नागरिकको रोजगारी गुमेको छ ।

नेपालमा लकडाउन भएको २ महिना नाघिसकेको छ । लकडाउनको उपलक्ष्यमा सुरुसुरुमा देखिएका भोज र मोज अहिले चिन्ता र सोंचमा परिवर्तन भएकाछन् | सम्भ्रान्त वर्गको व्यवसाय चौपट भएर हात उठाउने स्थितिमा पुगेका छन्, मध्यम बर्गका व्यक्तिहरु न मागेर खान सकेका छन्, न कमाएको बाँकी रहेको छ भने निम्न आय भएका व्यक्तिहरु रोगले भन्दा भोकले मर्ने चिन्तामा आधा पेट खाएर प्राण धानेका छन् ।

विकसित तथा सामाजिक सुरक्षाको राम्रो प्रबन्ध भएका देशहरुले सबै बर्गलाई आआफ्नो क्षति न्यून गर्न ठोस राहतको व्यवस्था गरेका छन् । तर हामीकहाँ राहतको नाममा कतै दाल / चामल वितरण गरिएको छ भने कतै एउटा चाउचाउ र २ वटा मास्क । मुखमा मास्क लगाएपछि खान नपर्ने भए लकडाउनलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन । तर मास्कले भोक रोक्न सक्दो रहेनछ ।

कोरोना संक्रमणको आयु लामो समय भएको विभिन्न अध्ययनले बताएका छन् ।संसारमा फैलिएका भाइरल रोगहरु जस्तै एचाइभी / एड्स, स्वाइन फ्लु, बर्ड फ्लु आदिको ठोस औषधि वा खोप अहिलेसम्म आएको छैन । एचाइभी / एड्सको उमेर ४० बर्ष पुगेको हामीलाई अवगत नै छ, अन्य भाइरल रोग पनि कम उमेरका छैनन् । अहिले कोरोना भाइरसमा चलाइएक औषधि ‘ घ्युको अड्को तेलको धुप ‘ मात्र हुन् । विज्ञान रन्थनिएर कहिले मलेरियाको औषधिको शरणमा पुगेको छ त कहिले इबोलाको औषधिको शरणमा । कहिले जापानी इन्फ्लुएन्जाको शरणमा पुगेको छ त कहिले सार्स/ मर्स रोगका दवाइको शरणमा । त्यति मात्र हैन गाँजा, तितेपाती, गुर्जो, बेसार, मुलेठीदेखि जुम्राको औषधि आइभरमेक्टिनसम्म विज्ञान दौडिरहेको छ । खोप निर्माणको लागि संसारका १०० भन्दा धेरै प्रयोगशालामा तालु खुइलेहरु ‘ ट्रयाल एण्ड इरर ‘ मा पसिना निकालिरहेका छन् । कोरोना संक्रमण विरुद्धको खोप कहिले आउँछ ? हामीले कहिले पाउँछौ ? यी प्रश्नको उत्तर पाउन १-२ बर्ष वा अझै बढी लाग्न सक्छ ।

रोग वा खोप ७० % भन्दा धेरै जनसंख्यामा फैलिएर बाँकी ३० % जनसंख्यालाई हर्ड इम्युनिटी हुने परिकल्पनामा पुग्न हामीले लामो र खतरनाक बाटो हिंड्नुपर्ने हुनसक्छ | तसर्थ अबको हाम्रो बाटो भनेको यो भाइरसलाई छल्दै हाम्रो जनजीवन सहज बनाउने हो ।

कसैले कोरोना संक्रमणलाई फ्लु अर्थात रुघाखोकीसंग तुलना गरेका छन् भने हाम्रो समाजमा कोरोना संक्रमण भयो भने मरिहालिन्छ भन्ने भ्रम रहेको छ । यी दुवै अतिबादी सोंचाई हुन् । सामान्य रुघाखोकी लागेको १ जना व्यक्तिले औसत १.३ जनालाई फ्लु सार्न सक्छ भने कोरोना संक्रमित १ जनाले औसत ३ जनालाई रोग सर्न सक्छ । १ जनाले १.३ जनालाई, १.३ जनाले अर्को १.३ जनालाई गर्दै १० पटक यो चक्र पुग्दा १४ जनामा फ्लु सर्छ भने कोरोना संक्रमण १ जनाले ३ जना, ३ जनाले ९ जना, ९ जनाले २७ जना हुँदै १० पटक यो चक्र घुम्दा ५९ हजार ४९ जनालाई कोरोना संक्रमण सर्न सक्छ । तसर्थ हामी सबै गम्भीर भएर यो भाइरसको गुणन तोड्न सजग हुनु जरुरी छ ।

नेपालको परिप्रेक्ष्यमा संक्रमितको संख्या बढिरहेको, छिमेकी भारतमा जुन – जुलाईमा दशौँ लाख संक्रमित हुनसक्ने अनुमान गरिएको, सिमानामा वैज्ञानिक ढंगले परीक्षण तथा क्वारेन्टाइनको व्यवस्था नगरिएको तथा लाखौँ नेपालीहरु असुरक्षित तरिकाले आफ्नो थातथलोमा जाने क्रम बढिरहेको हुनाले आगामी ३ महिनामा नेपालमा संक्रमितको संख्या ३० हजारसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।
यी अवस्थाको बाबजुद हामीले लकडाउन गरेर घरमा बस्ने क्षमता हामीसंग छैन । अबको विकल्प भनेको सुरक्षा र रोकथामका उपाय अपनाएर आफ्नो काम गर्ने नै हो । ६ फिटको व्यक्तिगत दुरी, मास्क / चस्मा / पंजा / आउटर ड्रेसको प्रयोग, साबुनपानीले हात धोइरहने तथा भीडभाडमा नजाने नै हो । जनजीवन सुरक्षित र सहज बनाउन तलका उपाय अबलम्बन गर्नु जरुरी छ ।

- बिना काम घर बाहिर नजाने ।

- घरबाहिर जाँदा सहि तरिकाले मास्कको प्रयोग गर्ने, चस्मा लगाउने, सकभर पंजा पनि लगाउने । विन्ड चिटर, पातलो ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने ।

- बाटोमा, कार्यस्थलमा वा पसलमा ६ फिटको दुरी कायम गर्ने । यो प्रमुख उपाय हो ।

- नाक, मुख, आँखा तथा अनुहारमा नछुने । छुन परेमा साबुनपानीले मिचिमिची हात धुने | झोलामा ह्याण्ड स्यानिटाइजर राख्ने । बाटोमा वा साबुनपानी नभएको ठाउँमा ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने ।

- सकभर रेलिंग, टेबल वा अन्य ठाउँ नछुने ।

- भीडभाडमा नजाने ।

- तरकारी बजार तथा डिपार्टमेन्टल स्टोरमा भीडभाड हुने भएकोले स्थानीय किराना पसल / तरकारी पसलबाट किन्ने बानी गर्ने ।

- कार्यस्थल जाँदा खाजा तथा पानी आफैले लिएर जाने ।

- रुघाखोकी तथा ज्वरो आएका व्यक्ति घरमै बस्ने । घरका सदस्यसंग पनि दुरी कायम गरेर बस्ने | गाह्रो भएमा मात्र स्वास्थ्य संस्थामा जाने ।

- सिनेमा हल, स्विमिंग पुल, जिम, नाइट क्लब, रंगशाला लगायतका भीडभाड हुने ठाउँ केहि महिना बन्द गर्ने ।

- रेस्टुरेन्टलाई पटकपटक संक्रमणरहित बनाएर, सामाजिक दुरी कायम गरेर तथा स्टाफलाई होटेलमा लगाउने PPE को व्यवस्था गरेर संचालन गर्ने ।

- निर्माण कार्यमा धेरै कामदारको रोजगारी गाँसिएकोले भौतिक दुरी कायम गरेर सुचारु गर्ने ।

- खाली भएका पार्टी प्यालेस, सार्वजनिक भवन तथा खेलकुद स्थानलाई भाडामा लिएर त्यहाँ मजदुर बस्ने व्यवस्था मिलाउने । उनीहरुलाई बसमार्फत कलकारखानामा पुर्याएर उद्योग संचालन गर्ने । सम्भव भए उद्योगमा आवासीय व्यवस्था मिलाउने । भौतिक दुरी कायम गर्ने । मास्क अनिवार्य गर्ने |

- बैंक, मालपोत, कर कार्यालय, विद्युत कार्यालय, दुर संचार लगायत धेरै आवतजावत हुने कार्यालय बिहान र अपरान्ह गरेर २ सिफ्टमा चलाउने | फोन वा अनलाइनबाट पालो नम्बर र समय लिएर त्यहि समयमा जाने व्यवस्था मिलाउने |

- यातायातका साधनलाई जोर / बिजोर प्रणाली लागु गर्ने ।

- सार्वजनिक यातायातलाई हरेक पटक धोएर संक्रमणरहित बनाउने, बस स्टाफ तथा यात्रुले मास्क,चस्मा तथा पंजा लगाउने, बसमा कम्तीमा १ मिटरको दुरी कायम हुनेगरि प्यासेन्जर राख्ने ।

- संक्रमित क्षेत्र शिल गर्ने | ग्रीन जोनबाट लामो दुरीका बस सुरु गर्ने । यसो गर्दा माथि भनेका तरिका अपनाउने । बाटोमा खानको लागि खाना आफैले लिएर जाने वा खानाको प्याकेट किनेर भौतिक दुरी कायम गरेर खाने ।

- आन्तरिक हवाइजहाज ग्रिन जोनबाट चलाउने । प्लेनलाई प्रत्येक पटक संक्रमण रहित बनाउने । यात्रुलाई मास्क, पंजा, भाइजर तथा स्यनिटाइजरको व्यवस्था गर्ने । लगेजलाई बाहिरबाट संक्रमणरहित बनाउने ।

- स्कुल भर्ना पैदल दुरीमा गर्ने व्यवस्था मिलाउने । यो सम्भव नभए स्कुल बसलाई संक्रमणरहित बनाउने, भौतिक दुरी कायम गराउने, मास्क / चस्मा / पंजा / स्यानिटाइजर अनिवार्य गर्ने । एउटा सेसनमा ३० जना बिद्यार्थी हुन्छन् भने १५ जनालाई १ दिन र १५ जनालाई अर्को दिन छुट्टी दिएर भौतिक दुरी कायम गर्ने । कुनै विध्यार्थिलाई रुघाखोकी लागेमा, ज्वरो आएमा घरमै बस्न लगाउने । विद्यालयमा सौचालय थप्ने । सफा गरिरहने । साबुनपानी तथा स्प्रिट कपासको व्यवस्था गर्ने । सामुहिक प्रार्थना नगर्ने । ५० % विद्यार्थी आउँदा स्कुलको कोरिडोर, सौचालय तथा प्रांगणमा भिडभाड हुँदैन | स्कुलमा धेरै स्पेस भए अस्थायी संरचना बनाएर कक्षा कोठा थप्ने । कलेज पनि यसै गरि संचालन गर्ने ।

- क्वारेन्टाइनमा एकैपटक एउटा समुह राख्ने । त्यसमा नयाँ १ जना पनि नथप्ने ।बीचमा नयाँ व्यक्ति थपेमा नयाँको संक्रमण अरुलाई सर्न सक्छ । क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मिको व्यवस्था गर्ने ।

- सामान्य समस्यामा अस्पताल नजाने । अस्पतालबाट संक्रमण सर्ने सम्भावना धेरै हुन्छ । ठूला केहि अस्पताललाई रुघाखोकी, ज्वरो तथा कोरोना अस्पतालको रुपमा विकास गर्ने । त्यहाँ कोरोना संक्रमणको परिक्षण, उपचार, भर्ना, आइसीयु तथा भेन्टिलेटर लगायत सबै सुबिधाको व्यवस्था गर्ने । अरु अस्पताललाई संक्रमित नबनाउन उच्च सतर्कता कायम गर्ने ।

- कोरोना संक्रमण पोजिटिभ देखिदैमा अस्पताल भर्ना नगर्ने | होम आइसोलेसन तथा होटेल आइसोलेसनको व्यवस्था गर्ने । घरमा वातावरण नभएमा सामुदायिक भवनमा आइसोलेसन केन्द्र बनाउने । संक्रमित मध्ये ९० % लाई सामान्य लक्षण देखिन्छ, नदेखिन पनि सक्छ । संक्रमितलाई ज्वरो, खोकी, पखाला आदि भएमा आफैले कुन कुन औषधि कति मात्रा र समयमा खाने भनेर सुचित गर्ने । संक्रमित मध्ये ९० % अस्पताल नजाने परिस्थिति निर्माण गर्न सकेमा अस्पतालमा भीडभाड हुँदैन । १० % गम्भीर बिरामीलाई कोरोना अस्पतालमा उपचार गर्ने ।
अस्पताल तथा स्वास्थ्यकर्मी संक्रमित हुने सम्भावना कम हुन्छ । अन्य रोगका बिरामीले सजिलोसंग उपचार पाउँछन् । अस्पतालमा भीड नहोस भन्नको लागि टेलिफोन वा इन्टरनेटबाट नाम लेखाउने, पालो र समय लिने अनि त्यहि समयमा अस्पताल जाने व्यवस्था गर्ने ।

- यस्तो महामारीको बेलामा अस्पताल तथा स्वास्थ्यकर्मीलाई बचाएर राख्नु सरकार एबम नागरिकको दायित्व हो । तसर्थ अस्पतालमा भीड कम गर्ने, चिकित्सक / नर्स / अन्य स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई ७ दिन काम गर्ने, १४ दिन आफ्नो घरमा वा नजिकको होटेलमा बस्ने प्रबन्ध मिलाउने । यसो गर्दा धेरै स्वास्थ्यकर्मीलाई एकैपटक संक्रमण भएर अस्पताल बन्द गर्ने अवस्था आउँदैन ।

- एम्बुलेन्सलाई हरेक बिरामी बोक्नुपूर्व संक्रमणरहित बनाउने ।

- क्लिनिकको साटो टेलिमेडिसिनलाई प्रबर्धन गर्ने ।

- नीजि अस्पताललाई सरकारी अस्पताल सरह सेवाप्रभाव गर्ने अनिवार्य व्यवस्था मिलाउने ।

- नीजि क्लिनिक, पोलिक्लिनिक तथा स्वास्थ्य संस्थामा भेन्टिलेसन, भौतिक दुरी, PPE, सरसफाई आदिको मापदण्ड बनाएर रिफर्म गर्ने ।

- फ्यान तथा एसिको कम प्रयोग गर्ने । अस्पताल, कार्यालय, रेस्टुरेन्ट तथा होटेलमा फ्यान तथा एसिको हावा मानिसको बिपरित दिशामा फ्याँक्ने व्यवस्था मिलाउने ।

- समुहमा बस्ने, संगै खाना खाने, सहकार्य गर्ने समुह जस्तै सेना, प्रहरी, स्वास्थ्यकर्मीलाई संक्रमण नहोस भनेर रणनीति बनाउने ।

- अन्य व्यापारिक पसल सुचारु गर्ने । ठूला स्टोरमा भौतिक दुरी र भित्र रहने अधिकतम छोंटो समय लागु गर्ने ।

- मन्दिर, गुम्बा, मस्जिद, चर्च तथा अन्य धार्मिक तथा सांस्कृतिक स्थानमा कडा रुपमा भौतिक दुरी लागु गराउने ।

- भोजभतेर बन्द गर्ने ।

- हिमाली जिल्लाको लकडाउन पूर्ण हटाउने ।

- अध्ययनको लागि सुरक्षित देशमा जान पाउने अवसरबाट विद्यार्थीलाई बन्चित नगर्न राज्यले सहजीकरण गर्ने ।

- रेडियो, टेलिभिजन, पत्रिका आदि संचार माध्यमबाट सुरक्षा तथा रोकथामका प्रभावकारी कार्यक्रम, बिज्ञापन प्रचार / प्रसार गर्ने ।

- भोकमरी र भिखमरीबाट बच्नको लागि किसानलाई तुरुन्तै बिउ, मल, प्रबिधि, राहत, कृषिबिमा, बजारीकरण आदिको व्यवस्था गर्ने । खेतीपाती गर्दा सामाजिक दुरी अपनाउन त्यति गाह्रो छैन ।

- हजारौं भ्यान, ट्रक आदिलाई कृषि एम्बुलेन्सको अनुमति दिएर गाउँगाउँमा उत्पादित अन्न, दल्हन, तरकारी, फलफुल, दुग्ध पदार्थ, अण्डा तथा पशुपंक्षीलाई बजारीकरण गर्ने ।

- विदेशमा रहेका नेपालीलाई परामर्श प्रदान गर्न जन स्वास्थ्य सहचारीको व्यवस्था गर्ने । रोजगारी गुमेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने । संक्रमणरहित भएपछि आफ्नो थातथलोमा बिउ, मल तथा सहुलियत ऋण दिएर पुनर्स्थापित गर्ने ।

- यो २ बर्षको लागि अन्तराष्ट्रिय पर्यटन प्रवर्धन नगर्ने । आन्तरिक पर्यटनको लागि सुरक्षित रुपमा प्रवर्धन गर्ने ।

- राष्ट्रिय गौरवका आयोजना, हाइड्रोपावर निर्माण आदिलाई भौतिक दुरी सहित संचालन गर्ने ।

- स्वच्छ वातावरणको लागि वायु प्रदुषण, धुलो आदि नियन्त्रण गर्ने । व्यापक वृक्षारोपण गर्ने ।

- र्यापिड किट तथा रेमडेजेभिर लगायतका औषधि नेपालमा निर्माण / उत्पादन गर्न प्रोत्साहित गर्ने ।

- भारतबाट सामान सिमानासम्म ल्याउने तथा सिमानाबाट नेपालकै ट्रकमा भित्र्याउने, एकजना चालक र एक जना हेल्पर बाहेक अरु आउन नपाउने नियम कडाइका साथ लागु गर्ने ।

- संक्रमित भारतीयहरु नेपाल आउन पूर्णतया बन्देज लगाउनको लागि सिमा गस्ती थप प्रभावकारी बनाउने ।

- संक्रमितलाई घृणा गर्ने परिपाटी अन्त्य गर्न प्रभावकारी कार्यक्रम बनाएर प्रकाशन / प्रसारण गर्ने ।

यी उपायलाई व्यापक प्रचार गर्ने, अनुगमन गर्ने, दण्ड तथा प्रोत्साहनको व्यवस्था गर्ने र चरणबद्ध लागु गर्ने हो भने कोरोना संक्रमणलाई छल्दै हाम्रो जनजीवन सुचारु गर्न सकिन्छ ।

कोरोना भाइरसको घातक प्रभाव कम छ । एकजना व्यक्तिले धेरै व्यक्तिलाई सार्न सक्दैन | संक्रमितसंग छुंदैमा, छोंटो कुराकानी गर्दैमा, संक्रमित बसेको ठाउँमा बस्दैमा कोरोना संक्रमण सर्छ भन्ने छैन । सर्नको लागि भाइरसको संख्या र एक्सपोजर समय धेरै भएमा मात्र सर्न सक्छ । त्यस्तै सिंगापुरको नेसनल सेन्टर अफ इन्फेक्सियस डिजिज एण्ड एकेडेमी अफ मेडिसिनको संयुक्त अध्ययनले बताएको छ कि संक्रमण भएको ११ दिनसम्म रोग सार्न सक्ने क्षमता हुन्छ । १२ दिनपछि परिक्षणमा पोजिटिभ देखिए पनि रोग सार्न नसक्ने सो अनुसन्धानले बताएको छ । अनुहारतिर फर्केर खोकेमा, हाच्छ्युं गरेमा वा चिच्याएमा सर्ने सम्भावना धेरै हुन्छ । अन्यथा सर्ने सम्भावना कम हुन्छ । त्यस्तै वासिंगटन पोस्टले जनाए अनुसार खाध्य पदार्थ तथा सतहबाट रोग सर्ने सम्भावना निकै कम हुन्छ । वासिंगटन पोस्टले लेखेको छ, कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकोले भौतिक दुरी कायम गर्दा धेरै सुरक्षित भइन्छ । विभिन्न निकायका अलग अलग उद्देश्य हुनसक्छ । तसर्थ भयानक र नकारात्मक सूचना आउंदैमा भयातुर हुनु जरुरी छैन । त्यस्तै संक्रमित र मृतकको संख्या बढ्दै जाँदा हामी डराउनु हुँदैन । विश्वभर यो संख्या बढिरहेको परिप्रेक्ष्यमा हामी पनि मानसिक रुपमा तयार हुनुपर्दछ । हामीले उच्च स्तरको सुरक्षा अभ्यास गर्यौं भने कोरोना भाइरससंगै आफ्नो जीवनचर्या संचालन गर्न सक्छौं । रोगप्रतिरोधात्मक क्षमता बढाउनको लागि हाम्रो आहार, बिहार, आचार र व्यवहार स्वस्थ हुनु जरुरी छ | सरकारले PCR परीक्षणको दायरा बढाएर संक्रमितलाई चामलमा बियाँ खोजेझैँ खोज्ने, आइसोलेसनमा राख्ने र गुणस्तरीय उपचार गर्ने काम निरन्तर अघिं बढाउनुपर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको