दिनिता लामिछाने
काठमाडौं– हाइड्रो नेपालले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मुलुकलाई लोडसेडिङमुक्त गर्न आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा २०७३ को हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।
त्यसैगरी हाइड्रो नेपालले २०७३ को हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई जलविद्युत् क्षेत्रमा लामो समयदेखि उहाँको निरन्तर क्रियाशीलता तथा योगदानको कदर गर्दै प्रदान गर्ने निर्णय गरेको छ ।
डा. हरिमान श्रेष्ठ जलविद्युत् क्षेत्रमा एकजना पायोनियर व्यक्तित्व हुन् । उनले सन् १९६६ मा तत्कालीन सोभियत संघबाट आफ्नो जलस्रोतसम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाएका थिए । जुन कुरा अहिलेसम्म पनि मुलुकको जलविद्युत् क्षेत्रमा ‘गुरु मन्त्र’ को रुपमा रहेको छ ।
हाइड्रो नेपालले एक्सिलेन्स अवार्ड प्रदान गरेर कुलमान घिसिङलाई मुलुकबाट लोडसेडिङ पूर्णतयामुक्त गर्नुका साथै ऊर्जा क्षेत्रमा मुलुकलाई आत्मनिर्भर तथा ऊर्जा निर्यात कार्यमा सफल बनाउन काम गर्न अझ बढी हौसला तथा प्रेरणा मिल्ने जनाएको छ ।
हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड तथा हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्डको छनोटका लागिकाठमाडौं विश्वविद्यालयका भिजिटिङ फ्याकल्टी सूर्यमान शाक्यको अध्यक्षतामा समिति गठन गरिएको थियो ।
हाइड्रो नेपालले पहिलो हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड नेपालको जलस्रोत क्षेत्रमा सन् २००८ को लागि आफ्नो लेखमार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा अमूल्य योगदान गर्ने पत्रकार विकास थापालाई प्रदान गरेको थियो ।
दोस्रो हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड ऊर्जा क्षेत्रमा सन् २००९ को लागि डा. डम्बरबहादुर नेपालीलाई सार्वजनिक÷निजी साझेदारीअन्तर्गत मुलुकमै नयाँ तथा सफल मोडेलमा २२ दशमलब १ मेगावाटको चिलिमे जलविद्युत् आयोजना सफलतापूर्वक सम्पन्न गर्न मुख्य योगदान गरेकोमा प्रदान गरेको थियो ।
तेस्रो हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड ऊर्जा क्षेत्रमा सन् २०१० को लागि ज्ञानेन्द्रलाल प्रधानलाई ऊर्जा क्षेत्रको विकासको लागि उनले निजी क्षेत्रबाट पु¥याएको भएको योगदान तथा व्यावसायिक दक्षता, अविचलित रुपमा निरन्तर प्रयासको लागि प्रदान गरिएको थियो ।
चौथो हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड सन् २०११ मा ऊर्जा क्षेत्रको लागि तत्कालीन ऊर्जामन्त्री गोकर्णराज विष्टलाई ऊर्जा क्षेत्रको विकासको लागि छोटो समयमै उनको ठोस नीतिगत निर्णय तथा नेपालको जलस्रोतको विकासका लागि गरेको प्रयासको लागि प्रदान गरिएको थियो ।
पाँचौ हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड सन् २०१३ को लागि निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल ‘इपान’ लाई मुलुकको ऊर्जा विकासको लागि सकारात्मक विकासमा योगदान पुर्याएवापत प्रदान गरिएको थियो ।
हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड तथा हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्डमा प्रशंसापत्र, ट्रफीको छिट्टै एक विशेष कार्यक्रम गरी प्रदान गरिने जनाईएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस