अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप दुई जनाको मृत्यु भएको जानकारी दिएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुष र गोरखा अस्पतालको आइसोलेसनमा भर्ना हुन आएका पालुङ्गटार नगरपालिका- ७ निवासी ४४ वर्षीय पुरूषकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे उनले बताएका छन् ।
डा. जागेश्वर गौतमका अनुसार महाराजगञ्जमा उपचाररत संक्रमित क्षयरोगका बिरामी थिए । उपचारका क्रममा असार १७ गते मृत्यु भएपछि असार १८ गते पिसिआर परीक्षण गर्दा उनको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हाे ।
त्यसैगरी, कतारबाट आएका पालुङ्गटार नगरपालिका वडा नम्बर ७ का पुरुषको शनिबार बिहान ५:०५ बजे मृत्यु भएकाे हाे । कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि शुक्रबार अस्पताल भर्ना गरिएको थियो । उनी असार १७ गते कतारबाट नेपाल फर्केका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस