अर्थ संसार, काठमाडौं- सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड पुगेको छ । शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा अहिले करिब ४५ अर्ब ८७ करोड नगद मौज्दात छ । कोषको यो तथ्याङ्क गत असार मसान्तसम्मको हो ।
कोषबाट सञ्चालित विभिन्न कल्याणकारी कार्यमा अहिले रु पाँच अर्ब ७४ करोड लगानी छ । शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम नै कल्याणकारी कोषको मुख्य आयस्रोत हो ।
अहिले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ वटा शान्ति मिसनमा पाँच हजार ९१ नेपाली शान्ति शैनिक परिचालित छन् । धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले चौथो वरियतामा छ । राष्ट्रसङ्घबाट अनुरोध भई आएमा १० हजारको सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जनाइसकेको छ ।
एकै आवमा सात अर्ब २९ करोड वृद्धि
उक्त कोषको यथार्थ सम्पत्तिमा गत आवमा करिब रु सात अर्ब २९ करोड वृद्धि भएको छ । विसं २०७६ असार मसान्तमा उक्त कोषको यथार्थ मौज्दात ४४ अर्ब २१ करोड ९० लाख ४० हजार थियो ।
संयुक्त राष्ट्रसङ्घबाट आउन बाँकी मध्ये करिब रु तीन अर्ब ५० करोड रकम गत आर्थिक २०७६÷७७ मा नै प्राप्त भएको थियो । राष्ट्रसङ्घको आह्वानमा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खडा गरिएका ४३ वटा शान्ति मिसनमा रही हालसम्म एक लाख २९ हजार ११७ नेपाली सैनिकले शान्तिका लागि योगदान पु¥याइसकेका छन् ।
नेपाली सेनाले शान्ति मिसनमा लगानी गरेको तथा खटिएबापत पाउनुपर्ने करिब तीन अर्ब राष्ट्रसङ्घबाट अझै प्राप्त गर्न बाँकी नै थाहा भएको छ । बैँक तथा वित्तीय संस्थामा रहेको कोषको मूलधनको निक्षेपबाट प्राप्त ब्याज, सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क, पारिवारिक आवास भाडा रकम, सुनाचुरी इममल्सन प्लाण्ट, रिपूमर्दिनी अक्सिजन प्लान्टबाट उपलब्ध रकम कोषका मुख्य तथा विविध आय स्रोत हुन ।
कोषको नगद मौज्दात मुलुकका विभिन्न एक दर्जन भन्दाबढी विभिन्न बैंकमा रहेको छ । विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराएबापत प्राप्त हुने रकम पनि कल्याणकारी कोषमा आउँछ । उक्त कोषको रकम सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र निजका आश्रित परिवारको जीवनस्तर उकास्ने कल्याणकारी कार्य, सेनाका आवश्यकताका सामग्रीको आपूर्ति र उत्पादन र शान्ति सेनामा सम्मिलित हुन जाँदा आवश्यक पर्ने समान र खर्चका लागि प्रयोग हुँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस