Like us!
Follow us!
Connect us!
Watch us!

आधारभूत तहको भाषा शिक्षणमा रूपान्तरण आवश्यक

आइतबार, ०४ असोज २०७७, ११ : ०० मा प्रकाशित

आधारभूत तहको भाषा शिक्षणमा रूपान्तरण आवश्यक

(भाषालाई विचार विनिमयको साधन वा अभिव्यक्तिको माध्यमका रूपमा मात्र लिइने सोचाइ आजभोलि विद्यमान छ ।  यस मान्यताले आधारभूत तहको भाषा शिक्षणप्रक्रिया प्रभावित भएको पाइन्छ  । धेरैले भाषालाई केवल एक विषयका रूपमा पढाइनु पर्दछ भन्ने मान्यता राख्दछन् । त्यसैले अहिले आधारभूत तहमा भाषा शिक्षण गर्ने शिक्षक र विद्यालयको सम्पूर्ण  ध्यान भाषा सिकाउने भन्दा पाठ्यपुस्तकका पाठका पछाडि राखिएका अभ्यासहरू समाधान गर्ने तर्फ केन्द्रित भएको देखिन्छ । यसो हुनामा भाषा शिक्षणलाई केवल शब्दोच्चारण एवम् वर्णविन्यासशुद्धतामा मात्र केन्द्रित गर्ने प्रवृत्तिले घर गर्नु हो । यसले भाषा शिक्षणको बृहद् क्षेत्रलाइ केवल उच्चारण र वर्णविन्यासगत शुद्धाशुद्धिमा सीमित गरेको छ । यो विडम्बनाको कुरा हो । यहाँ आधारभूत तहको भाषा शिक्षणमा कस्तो रूपान्तरण आवश्यक छ भन्ने विषयमा सामान्य चर्चा गरिएको छ ।)

भाषाको प्रकृति रव्यापकतालाई  बुझ्ने हो भने भाषा हाम्रो जीवनमा विचारको अभिव्यक्तिमा  मात्र सीमित छैन । यसको क्षेत्र व्यापक रहेको छ । भाषा प्रत्येक व्यक्तिका लागि आफ्नो जीवन र जगत्को बुझाइको आधार हो । यसका माध्यमबाट हामी अर्कालाई आफूतिर केन्द्रित गर्ने, मनोरञ्जन गर्ने, बोध गर्ने, विचार गर्ने, आफ्ना कुरा प्रस्तुत गर्ने, कल्पना गर्ने, तुलना गर्ने, समस्या समाधान गर्ने, तर्क गर्ने, चिन्तन गर्ने, अर्काको कुरा बुझ्ने जस्ता धेरै काम गर्दछौँ । अर्को शब्दमा भाषा हाम्रो समग्र जीवनको आधार हो । भाषाले हामीलाई समाजसँग जोड्दछ, समाजमा आफ्नो स्थान सुनिश्चित गर्नका लागि मदत गर्दछ । भाषालाई यस बृहत् स्तरसम्म विकसित गर्ने जिम्मेवारी आधारभूत तहको भाषा शिक्षणमा निहित हुन्छ । आजको आधारभूत तहको भाषा शिक्षण नियन्त्रणमुखी, शिक्षकमुखी, संरचनामुखी भाषा बनेको देखिन्छ । यस्तो शिक्षणले भाषाको शिक्षणलाई उच्चारण, लय, वर्णविन्यास र विषयवस्तु सिकाइमा केन्द्रित बनाएको देखिन्छ । यसले पाठ्यपुस्तकमा रहेका अभ्यास सिकाउने सीमित प्रवृत्ति विकास गर्दै छ । यस कारण आधारभूत तहको भाषा शिक्षण यान्त्रिक र कृत्रिम बन्दै गएको छ । यस्तो अवस्थालाई रूपान्तरण गर्न आवश्यक छ, त्यसका लागि आधारभूत तहको नेपाली भाषा शिक्षणका लागि निम्नानुसार परिवेशको सिर्जना गर्नु उपयोगी देखिन्छ :

सकेसम्म शिक्षण मातृभाषामा, विकल्पमा दोस्रो भाषाको शिक्षण मातृभाषामा 

विद्यार्थीहरू  विद्यालयमा आउँदा उनीहरूमा आफ्नो भाषामा (मौखिक ) उनीहरूको पूर्ण अधिकार हुन्छ, उनीहरूले आफ्नो मातृभाषामा वाक्यहरूको रचना तथा व्याकरणलाई पूर्ण रूपमा बुझ्दछन् । हो, किताब वा विद्यालयको भाषा निश्चय नै उनीहरूका लागि अपरिचित हुन सक्छ, उनीहरूलाई ती कुरा सिक्नमा प्रारम्भिक तहमा कठिनाइ महसुस हुनु स्वाभाविक नै हो । हामीले त्यतातर्फ उचित ध्यान नदिई बरू अन्तराष्ट्रिय भाषाको अन्धमोहका कारण विद्यार्थीका लागि अपरिचित अंग्रेजी भाषा थुपारिरहेका छाँै । यसले विद्यार्थीको भाषा सिकाइको वातावरणलाई यान्त्रिक र कृत्रिम बनाउँछ । विद्यार्थीलाई सहजै यसबाट पार गराउनका लागि मातृभाषाको प्रयोग गर्नाले विद्यार्थी मैत्री शिक्षण सम्भव हुन्छ । भाषा सिकाइमा विद्यार्थीलाई सहज सरल प्रतीत हुने गरी विद्यार्थीले आफ्नो  भाषामा विचार अभिव्यक्त गर्न सक्ने खालको आवश्यक देखिन्छ । यस्तो अवस्था सम्भव नभएमा दोस्रो भाषा शिक्षणका लागि पनि मातृभाषाको माध्यमको प्रयोग गर्नुपर्छ । 

विद्यार्थीमैत्री कक्षा शिक्षण, अन्तक्र्रियाको सहज वातावरण

कुनै पनि भाषा सिक्नका लागि त्यो भाषासँग परिचित हुनु आवश्यक छ । कक्षाको संवादले विद्यार्थीमा मौखिक अभिव्यक्तिलाई सुदृढ बनाउने काम गर्छ, भाषाका विविध पक्षसँग उनीहरूलाई परिचित गराउँछ र सिकेको कुरालाई आफ्नो अनुभवसँग जोड्नका लागि मदत गर्दछ । यसका लागि भाषाको कक्षामा संवादका निम्ति कुनै अवरोध सिर्जना गरिनु हुँदैन । शिक्षक विद्यार्थीहरू वा विद्यार्थी विद्यार्थी बीच संवाद भइरहनु पर्छ । यस्तो संवाद केवल शिक्षकद्वारा प्रश्न सोध्ने र विद्यार्थीले एक शब्द वा वाक्यमा उत्तर दिने सीमामा मात्र सीमित हुनु हुँदैन । यस्तो संवादको आशय विद्यार्थीहरूको गुनासो सुनेर त्यसलाई समाधान गर्नु मात्र पनि होइन । यस्तो संवादका लागि पाठ्यपुस्तकभन्दा अझ बाहिर गएर समसामयिक र विद्यार्थीको रूचिको विषय समेट्नु पर्छ । नजिकै घटेका कुनै घटनालाई बहसको विषय बनाउन सकिन्छ । यस्तो बहस कुनै पाठसँग जोडिएकै हुनुपर्छ भन्ने छैन तर जोडिएमा अझ राम्रो हुन्छ । आधारभूत तहको नेपाली शिक्षण अन्तक्र्रियात्मक परिवेशमा हुनाका लागि प्रश्नोत्तरले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । सामान्यतः कक्षामा विद्यार्थीले तर्क गर्नु या प्रश्न गर्नुलाई उचित सम्झिँदैन । यसो गर्दा हामीले आफ्नो कुरालाई तर्कका साथ राख्न पाउनु या असहमतिलाई प्रश्नद्वारा स्पष्ट गर्न पाउनु भाषाको एउटा महत्वपूर्ण सीप हो भन्ने कुरालाई भुलिरहेका हुन्छौँ । यो सीप जीवनमा पनि महत्त्वपूर्ण हुन्छ । यसले मात्र अवसर र अभ्यासलाई निखार्न सक्छ अतः कक्षामा विद्यार्थीहरूलाई  तर्क गर्न, प्रश्न गर्नका लागि भरपूर अवसर उपलब्ध हुनुपर्छ । यसका लागि शिक्षकले विद्यार्थीसँग मित्रवत् व्यवहार गर्न आवश्यक छ र विद्यार्थीहरूलाई बोल्ने अवसर प्राप्त हुनु आवश्यक छ । उनीहरूका कुरा सुनिन्छन्, सम्मान दिइन्छन् र उनीहरूका प्रश्नको पनि समाधान गरिन्छन् भन्ने विश्वासको वातावरणमा प्रश्नोत्तर प्रभावकारी बन्छ । 

कुनै कक्षाको पाठ्यपुस्तकमासङ्कलित पाठ पढाउनुभन्दा पहिलेविद्यार्थीलाई त्यससम्बन्धी चर्चा गर्न सकिन्छ । यसमा सामान्य जानकारी दिने प्रश्नहरूसहित सोध्ने गर्नुपर्दछ । यस्ता प्रश्नले विद्यार्थीमा सोच्ने, कल्पना गर्ने क्षमता विकास गर्न सहयोग गर्दछन् । त्यस्तै तार्किक प्रश्नहरू प्नि सोध्नु पर्छ । यस्ता प्रश्नहरूले विद्यार्थीभित्र कुनै पनि विषयमा उत्पन्न हुने सङ्कटका सम्भावित कारणहरू र निदानहरूको अनुमान गर्ने जीवनोपयोगी सीप विकास गर्नमा मदत पुग्दछ । 

कथा, चित्र वा चलचित्रको उपयोग, कक्षाकोठामा रोचक परिवेश

कथासुन्न, चित्र कोर्न र चलचित्र हेर्नामा केटाकेटीहरूको विशेष रूचि हुन्छ । कथा र चलचित्रहरूले विद्यार्थीको कल्पना क्षमतालाई विस्तार गरिदिन्छ, त्यसले अनुमान लगाउने सीपको विकास गर्दछ । घटनालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्नमा मदत गर्दछ र कथाको संरचनालाई सम्झनमा मदत गर्दछ । यसका लागि कक्षामा कथा सुन्ने सुनाउने र चलचित्र देखाउने गतिविधिहरूलाई प्रमुख स्थान दिनुपर्छ । शिक्षकसँग विविध कथावा चलचित्र सङ्ग्रह हुनुपर्दछ जसलाई उनीहरूले समय समयमा कक्षामा सुनाउन सकून् । कथा सुनाउँदा सुनाउँदै वा चलचित्र देखाउँदा देखाउँदै कुनै स्थानमा रोकिदिनु र अगाडि के होला ? वा यस कथा वा चलचित्रलाई पूरा गर जस्ता प्रश्न विद्यार्थीका सामुन्ने राखिदिनुपर्छ । यस किसिमको कार्यकलापले विद्यार्थीलाई काल्पनिक संसारको अनुभूभि गर्न र त्यसलाई शब्दमा व्यक्त गर्नका लागि प्रेरित गर्नेछ । चित्र कथा बनाउन, चित्र कथालाई शब्दमा व्यक्त गर्न, दुई चित्रमा रहेका समानता र भिन्नता खोजी गर्नु आदि यस किसिमका गतिविधिहरू हुन सक्छन् जसले भाषालाई निखार्नमा मदत गरिरहेका हुन्छन् । 

चित्र बनाउने काम केवल चित्रकला सिकाउने शिक्षकको कार्य हो । यसबाहेक विज्ञान र स्वास्थ्य विषयमा चित्र बनाउन सकिन्छ भन्ने आम धारणा छ । चित्रकला चित्रकलाका शिक्षक र विज्ञानका शिक्षक जतिकै भाषा शिक्षकका लागि पनि उपयोगी छ ।  चित्रको आफ्नो भाषा हुन्छ जसको उपयोग विद्यार्थीहरूको कल्पना शक्तिलाई निखार्न, मौलिक अभिव्यक्तिलाई सशक्त बनाउनका निम्ति गर्न सकिन्छ । विद्यार्थीको रूचिअनुसार उनीहरूलाई चित्र बनाउन लगाउन सकिन्छ र उनीहरूलाई ती चित्रहरूको वर्णन गर्न, त्यस चित्रसँग सम्बन्धित अनुच्छेद, कथा, निबन्ध लेख्नका लागि अग्रसर गराउन सकिन्छ । कुनै कविता, कथा वा चलचित्रलाई चित्रका रूपमा प्रस्तुत गर्न लगाउन सकिन्छ । चित्रहरूलाई देखाएर विद्यार्थी विद्यार्थीका बीच कुराकानी गर्ने वा कथा, घटना प्रस्तुत गर्नका लागि उपयोग गर्न सकिन्छ । पत्रपत्रिका वा पुस्तकमा छापिएका कार्टुन वा कुनै चलचित्र देखाएर त्यसको भाव पहिचान गर्ने र त्यसप्रति आफ्नो प्रतिक्रिया लेख्न लगाउने कार्यले पनि विद्यार्थीको भाषालाई निखार्नका लागि सहयोगी भूमिका निर्वाह गर्दछ । 

साहित्यिक कृतिको आस्वादनको रूचि निर्माण गर्ने वातावरण

विद्यार्थीहरूलाई साहित्यको रसास्वादन गर्ने हेतुले त्यसतर्फ उन्मुख गराई साहित्यका विविध विधाहरूसँग परिचित गराउनु पनि भाषा शिक्षणको उद्देश्य नै हो । यसका लागि भाषा शिक्षकसँग पाठ्यपुस्तकबाहेक कविता,कथा, नाटक आदि जस्ता रचनाको भण्डार हुनु आवश्यक छ । जसलाई समय समयमा कक्षामा सुनाएर पढाएर विद्यार्थीमा साह्त्यिप्रतिको रूचि जागृत गराउनु पर्छ  । विद्यार्थीलाई पनि यस प्रकारका अन्य रचनाहरूलाई लिएर आउन र कक्षामा सुनाउने वातावरण निर्माण गर्नुपर्छ । यसकारण कक्षामा सानो पुस्तकालयको व्यवस्था आवश्यक छ, जहाँ विद्यार्थीले  पढ्ने मात्र होइन बरू त्यसका बारेमा आफ्ना विचार साथीहरूमाझ आदानप्रदान गर्न सकून् । कक्षामा विभिन्न पत्रपत्रिकाहरूबाट विद्यार्थीका लागि कथा, कविता, चित्र कथा आदिलाई काटेर टास्न पनि सकिन्छ र त्यसलाई पढ्न लगाएर त्यस विषयमा अन्तक्र्रिया  गराउन सकिन्छ ।

वर्णविन्यासमा भन्दा सार्थक पठन र क्रमबद्ध लेखाइजोड

भाषा शिक्षणमा निरर्थक पढाइमा होइन सार्थक पढाइमा जोड दिनुपर्छ । कुनै पनि साहित्यिक रचनालाई पढाउने बेलामा स्वयम् अर्थ बताउनु भन्दा त्यसको सन्दर्भलाई विद्यार्थीको पूर्व ज्ञानसँग जोडेर, अनुमान गर्न लगाएर विद्यार्थीहरूबाट नै अर्थ निर्माण गराउने प्रयास गर्नुपर्दछ । यस्तो गर्नाले विद्यार्थीमा विषयवस्तुलाई केवल कण्ठस्थ पार्ने नभई सम्झेर पढ्ने वातावरण प्राप्त हुन्छ । उनीहरूले रचनामा निहित भावलाई ग्रहण गर्न पाउँछन् र यस अर्थलाई स्वयम् पहिचान गर्दा उनीहरूलाई आनन्दको अनुभूति हुन्छ । जब उनीहरूलाई विविध प्रकृतिका साहित्यसँग परिचित गराइन्छ (पुस्तक या अन्य रचनाहरूको टुक्राद्वारा) त्यतिखेर उनीहरू आफ्नै प्रयासबाट त्यसमा निहित अन्तर पहिचान गरेर त्यसको आनन्द लिन सक्छन् । यही भाषा शिक्षकको प्रयास हुनुपर्दछ ।

कुनै नाटक वा कथालाई भावपूर्ण प्रस्तुतिद्वारा विद्यार्थीहरूमा विविध भावगत प्रस्तुति सिकाउन सकिन्छ । सुसङ्गत लेखाइको आशय केवल लिपि वा व्याकरणको शुद्धतासँग मात्र होइन बरूविद्यार्थीले आफ्नो कुरालाई कति प्रभावकारी रूपमा लेखेर बताउन सकिरहेका छन् भन्ने कुरा निर्धारण गर्र्नमा महत्त्वपूर्ण छ । प्राथमिक कक्षाहरूबाट नै विद्यार्थीहरूमा आफ्ना कुरा लेख्ने अवसर उपलब्ध गराउन आवश्यक छ । विद्यार्थीले केही लेख्नासाथ उनीहरूले गरेका वर्णविन्यासगत गल्तीहरू रातो मसीले कोरिदिँदा विद्यार्थीहरू हतोत्साहित हुन सक्छन् र आफ्नो मनका कुरा लेख्नमा सङ्कोच मान्न थाल्छन् । यसबाट विद्यार्थीलाई बचाउनका लागि भाषा शिक्षकले विद्यार्थीको अभिव्यक्तिमा भएका वर्णविन्यासगत अशुद्धिहरूलाई केवल चिह्न लगाएर अंकित गर्नुभन्दा त्यसको कारण बुझाएर ( विद्यार्थीले त्यस प्रकारको गल्ती किन गरिरहेका छन् ) र त्यसको निदान गर्ने प्रयास गर्न आवश्यक छ । विद्यार्थीलाई जति बढी लेख्ने पढ्ने अवसर प्राप्त हुन्छ, शब्दहरूको तस्वीर उनीहरूको मस्तिष्कमा अंकित हुन जान्छ र उनीहरूले आफ्नै प्रयासद्वारा वर्णविन्यासगत अशुद्धिहरूलाई हटाउन सक्छन् । शिक्षकले उनीहरूमा पढ्न लेख्नका लागि रूचि मात्र जागृत गरिदिए पुग्छ । 
वास्तवमा भाषा मानव जीवन र जगत्को आधार हो । यसको सिकाइ यान्त्रिक र कृत्रिम नभई अन्तक्र्रियात्मक र रचनात्मक बन्नुपर्छ । यसका लागि भाषा शिक्षकहरू संवेदनशील र रचनात्मक हुनुपर्दछ । भाषा शिक्षकले केवल उच्चारण, वर्णविन्यास र पाठ्यपुस्तकका अभ्यासमा मात्र केन्द्रित भएर भाषा सिकाउने सोचले  न भाषा शिक्षणको उद्देश्य प्राप्त गर्न सक्छन् न त भविष्यका कर्णधारलाई सुसङ्गत भाषाको उपहार प्रदान गर्न सक्छन् । त्यसैले आधारभूत तहको भाषा शिक्षणमा रूपान्तरणको खाँचो छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको