अर्थ मन्त्रालयका सह–सचिव धनिराम शर्माले नेपालको तीव्र विकास वैदेशिक सहायताको भरमा मात्र सम्भव हुने स्पष्ट पारेका छन्। पछिल्लो समय वैदेशिक सहायता नलिनु पर्ने जस्ता धारणा देखिए पनि तीव्र विकास गर्न आन्तरिक स्रोत मात्र पर्याप्त नहुने उनले बताए।
'हामीले आफ्नै नीतिअनुसार वैदेशिक सहायता लिँदै आएका छौं,' शर्मा भन्छन्, 'आज तीव्र विकास गरेका अधिकांश मुलुकहरूले पनि वैदेशिक सहायता लिएको इतिहास छ।'
उनले वैदेशिक सहायता प्रविधिको हस्तान्तरणमा पनि सहयोगी रहेको उल्लेख गर्दै, सहायता सम्झौताअनुसार मात्र प्राप्त हुने भएकाले कुनै मुलुकले आफूखुसी सहयोग दिन नसक्ने बताए।
शर्माका अनुसार, हालै ल्याइएको ‘वैदेशिक सहायता परिचालन नीति २०८२’ को मुख्य उद्देश्य उत्पादन र उत्पादकत्व वृद्धि गर्नु हो। उक्त नीतिबाट स्वदेशी तथा विदेशी पुँजी र प्रविधि परिचालनको अनुकूल वातावरण निर्माण गर्ने, आयोजना तथा कार्यक्रम कार्यान्वयनमा तीव्रता ल्याउने र वैदेशिक सहायता उपयोग क्षमतामा गुणात्मक सुधार गर्ने लक्ष्य लिइएको छ।
उनले थपे, 'सरकारमार्फत आउने वैदेशिक सहायतालाई प्राथमिकता दिइनेछ भने एनजिओ र आइएनजिओमार्फत आउने सहायतालाई पनि व्यवस्थापन गरी अघि बढ्ने रणनीति लिइएको छ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस