Like us!
Follow us!
Connect us!
Watch us!

दलित महिला उम्मेदवार पाउनै मुस्किल

शुक्रबार, ०१ बैशाख २०७४, १२ : ३२ मा प्रकाशित

दलित महिला उम्मेदवार पाउनै मुस्किल

अर्थ संसार 

इलाम– स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनुपर्ने प्रावधान भए पनि राजनीतिक दललाई दलित उम्मेदवार भेट्टाउनै मुस्किल परेको छ ।१० वटा स्थानीय तहमा रहेको इलाममा ८१ वडा छन् । 

प्रत्येक राजनीतिक दलले एक÷एक दलित महिला उम्मेदवार बनाउनुपर्ने प्रावधान छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार इलाममा १७ दल दर्ता भएकामा आठ दलले मात्रै चुनावी चिन्ह् पाउने भएका छन् । चुनावमा भाग लिने सबै दललाई अनिवार्य दलित महिला उम्मेदवार पाउन समस्या परेको हो । 

नेपाली काँग्रेसले दलित महिलालाई उम्मेदवार उठाउन समस्या नभएको जनाएको छ । उम्मेदवार नै नपुग्ने भन्ने समस्या छैन् तर अन्य उम्मेदवार जस्तो सुरूमा चर्चा त हुँदैन्, काँग्रेस जिल्ला सचिव खगेन्द्र देवानले भन्नुभयो । 

नेकपा एमालेको भातृ सङ्गठन मुक्ति समाजले प्रत्येक वडाको सम्भावित उम्मेदवारको सूची तयार पार्दैछ । प्रत्येक वडाबाट दुईदेखि सात जनासम्म सम्भावित दलित उम्मेदवारको सूची तयार पारेको अध्यक्ष नवराज शङ्करले बताउनुभयो । इलाममा एमालेका नौ हजारजनाले पार्टीको सदस्यता लिएकामा एक हजार तीन सय ७७ जना दलित समुदायका रहेको सो दलले जनाएको छ । 

नेकपा (माओवादी केन्द्र) ले दलित महिला उम्मेदवार नभएको वडामा अल्पसङ्ख्यकबाट उम्मेदवारी दिने बताएको छ । ‘सकभर दलित महिलाकै उम्मेदवारी दिन्छौँं,’ केन्द्रका इञ्चार्ज धीरेन्द्र शर्माले भन्नुभयो ‘दलित महिला नभएको ठाउँमा अल्पसङ्ख्यक महिलालाई उम्मेदवार बनाउछौं । 

राप्रपाले पनि जिल्लाभर दलित महिलालाई उम्मेदवारी दिन पर्याप्त कार्यकर्ता भएको दाबी गरेको छ । राप्रपा अध्यक्ष हरि श्रेष्ठले कुनै ठाउँमा दलित महिला कोटामा उम्मेदवारी दिन समस्या भए पनि अधिकाशं ठाउँमा उम्मेदवारी दिने बताउनुभयो । काँग्रेस, एमाले र माओवादी बाहेकका साना दललाई भने दलित महिलालाई उम्मेदवार बनाउन समस्या भएको हो । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम काफ्लेले स्थानीय तह सम्बन्धी निर्वाचन ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार अनिवार्य रूपमा दलित महिला नै उठाउनुपर्ने बताउनुभयो । ‘दलित महिलाको उम्मेदवारी नै नपरेको ठाउँ खाली रहन्छ, उहाँले भन्नुभयो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको