Like us!
Follow us!
Connect us!
Watch us!

सांस्कृतिक संस्थानले तोड्यो सीएमसँगको ३० वर्षे सम्झौता

अर्थ संसार

विहीबार, २२ असोज २०७७, १७ : ४४ मा प्रकाशित

सांस्कृतिक संस्थानले तोड्यो सीएमसँगको ३० वर्षे सम्झौता

अर्थ संसार, काठमाडौं - सांस्कृतिक संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितीमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच विहिवार सम्झौता आदानप्रदान गरिएको हो । 

काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि सीएम ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्युन दरभाउमा सम्झौता भएको भन्दै सुरुदेखी नै उक्त सम्झौतामाथि प्रश्न उठ्दै आएको थियो । 

मन्त्री भट्टराईले नयाँ सम्झौत्ताले सांस्कृतिक संस्थान आत्मानिर्भरतर्फ अघि बढेको बताउँदै अध्यक्ष तथा महाप्रबन्धकलाई धन्यवाद दिए । सी. एम. ट्रेडिङसँगको सम्झौता अनुसार आ.व. २०७७।०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक २० रुपैयाँमात्र थियो । 

सोही स्थान नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको छ । सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए । 

‘संस्थानको समृद्धिका लागि सीएम ट्रेडिङसँगको सम्झौता भंग हुनु जरुरी थियो’, अध्यक्ष अधिकारीले भने, ‘संस्थानमा अरु पनि केही जटिल समस्या छन् । हरेक समस्या समाधानका लागि मेहनत गरीरहेका छौं ।’ 

सीएम ट्रेडिङसँग भएको सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँ सम्झौता गरेको महाप्रबन्धक अशोकप्यासी राईले बताए । ‘संगीन अवस्थामा गुज्रिरहेको संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समिक्षा गर्न जरुरी छ’, उनले भने । 

गत पुसदेखि कार्यभार समालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सी. एम. ट्रेडिङसँग भएको असन्तुलित सम्झौतालाई पूनरावलोकन गरिने पनि उल्लेख गरेका थिए । ‘यसअघि संस्थानले आफ्नै पार्किङ क्षेत्र समेत प्रयोग गर्न पाएको थिएन । अव त्यो समस्या समाधान भएको छ’, महाप्रबन्धक राईले भने, ‘लोकसंस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकासका लागि सांस्कृतिक संस्थानको समृद्धि आवश्यक छ ।’

सीएम ट्रेड्रिङसँगको सम्झौता अनुसार आ.व. २०७७।७८ मा संस्थानले लगभग एक करोड तिस लाख रुपैयाँ प्राप्त गर्थ्यो भने दुरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । 

नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ । १० वर्षे नयाँ सम्झौता अनुसार आ.व. २०८७।८८ मा संस्थानले प्राधिकरणबाट बार्षिक तीन करोड आठ लाख रुपैयाँ प्राप्त गर्नेछ । पुरोना सम्झौता अनुसार संस्थानले एक करोड ७१ लाख रुपैयाँमात्र पाउने थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको